हिंसाविरुद्ध हातेमालो
यो वर्षको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको छ । ‘सभ्य समाजको पहिचानः लैङ्गिक हिंसा विरुद्धको अभियान’ भन्ने नारासहित अभियान थालिएको हो । अभियानको उद्देश्य लैङ्गिक हिंसा र असमानता अन्त्य गर्नु तथा समतामूलक समाज निर्माण गर्नु हो । त्यसको लागि जनचेतना जगाउनु र अभिप्रेरित गर्नु हो । त्यसैले हिंसा न्यूनीकरणका लागि विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने गरिएको छ । तर हरेक वर्ष महिलामाथि हुने हिंसाका घटना भने घट्नुको साटो बढिरहेका छन् । पछिल्ला वर्षहरूमा महिलामाथि हुने हिंसा झन्–झन् बढ्दै गएको पाइएको छ । महिला हिंसा न्यूनीकरणका लागि थुप्रै अभियानहरू सञ्चालन गरिए पनि हिंसाजन्य श्रृंखला रोकिएका छैनन् । केही वर्षयता परेका उजुरीको संख्याले महिला हिंसा घट्नुको साटो बढ्दोक्रममा रहेको देखिएको छ ।
कर्णाली प्रदेशमा पछिल्लो साढे दुई वर्षको तथ्याङ्कले महिला हिंसाको अवस्था विकराल रहेको देखाएको हो । प्रदेश प्रहरी कार्यालयको विवरणअनुसार कर्णालीमा प्रत्येक दिनजसो महिलाहरू कुनै न कुनै हिंसाको सिकार भइरहेका छन् । महिलाहरू घरेलु, यौनजन्य र लैङ्गिक हिंसामा धेरै पर्ने गरेका हुन् । समाजमा हुने अनेकखालका हिंसाबाट सबै उमेर समूहका महिलाहरू प्रताडित छन् । प्रहरीमा परेका उजुरीले बालिकादेखि वृद्ध उमेरसम्मका महिलाहरू हिंसामा परेको देखिएको छ । कर्णालीमा झन्डै दुई वर्षको अवधिमा मात्रै तीन सय ८७ जना महिला बलात्कृत भएका छन् । बलात्कृत हुनेमा बालिकाहरूको संख्या उल्लेखनीय छ । आर्थिक वर्ष २०७७/०७८ मा एक सय ५४ महिला बलाकृत भएको उजुरी प्रहरीमा परेका थिए । पछिल्लो आर्थिक वर्ष २०७८÷०७९ मा एक सय ५५ जना महिला तथा बालिका बलात्कृत भएको उजुरी परेको थियो । चालु आर्थिक वर्ष २०७९/०८० को चार महिनामा ७८ जना महिलाहरू बलात्कृत भएको उजुरी प्रहरीमा परेको छ । कर्णालीमा महिलामाथि हुने हिंसामा सबैभन्दा धेरै उजुरी बलात्कारका घटनाका भएको प्रहरीले जनाएको छ । यहाँ बहुविवाहका घटना पनि अधिक हुने गरेका छन् । आर्थिक वर्ष २०७७÷०७८ मा मात्रै ९६ वटा बहुविवाहका उजुरी दर्ता भएका छन् । गएको आर्थिक वर्षमा विभिन्न जिल्लामा गरी ८१ र चालु आर्थिक वर्षको कार्तिक मसान्तसम्म २८ वटा बहुविवाहका उजुरी परेका छन् ।
कर्णालीका केही क्षेत्रमा अहिले पनि सामाजिक अन्धविश्वास र कुप्रथा ब्याप्त छ । महिलाहरू छाउपडी र बोक्सीजस्ता अन्धविश्वासका कारण पीडित बनिरहेका छन् । मानव बेचबिखनको जालोमा पनि महिलाहरू नै बढी परेको देखिएको छ । यसरी महिलामाथि मानसिक, शारीरिक, यौनजन्य र लैङ्गिक विभेद तथा असमानताजस्ता हिंसा श्रृंखलाबद्ध रूपमा भइरहेको छन् । यसको अन्त्य गर्न सबैले हातेमालो गर्न जरुरी छ ।
प्रकाशित मितिः ११ मंसिर २०७९, आईतवार ०५:०३
सम्पादकीय ।