साना किसानको १२औँ साधारणसभा
सुर्खेत: महिला साना किसान कृषि सहकारी संस्था बराहताल– ५ सुर्खेतको १२औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष खगिसरा अधिकारीको अध्यक्षता तथा कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाक्षेत्रीको प्रमुख आतिथ्यतामा साधारणसभा गरिएको हो ।
सभामा अध्यक्ष अधिकारीले संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । आर्थिक वर्ष २०७८÷०७९ मा संस्थाले कूल १५ करोड ९६ लाख ९५ हजार ५१ रूपैयाँ बराबर कारोबार गरेको छ । आगामी आर्थिक वर्षका लागि २२ करोड ८३ लाख ७४ हजार कारोबार प्रस्ताव गरिएको छ ।
सोही अवसरमा सर्वाधिक सेयर खरिदकर्ता देवी राना, उत्कृष्ट व्यक्तिगत बचतकर्ता लक्ष्मी शर्मा, ग्रास सुरक्षण कोषतर्फ लक्ष्मी खड्का, असल ऋणि सम्झना कँडेल र भिमला विक तथा बाल बचतकर्ता पार्मुङ सिजापतिलाई पुरस्कृत गरिएको छ ।
साधारणसभा उद्घाटन गर्दै प्रमुख अतिथि बुढाक्षेत्रीले ग्रामीण क्षेत्रका नागरिकलाई वित्तीय पहुँचमा पु¥याइ उनीहरूको जीवनस्तरमा सुधार ल्याउन सहकारीले उल्लेखनीय कार्य गरेको भन्दै प्रशंसा गरे । उनले स्थानीय सरकार र सहकारी संस्थाको सहकार्यमा समुदाय लक्षित कार्यक्रमहरू कार्यान्वयन गर्नुपर्नेमा समेत जोड दिए । कार्यक्रममा बराहताल गाउँपालिकाका अध्यक्ष भीम भण्डारी र उपाध्यक्ष लक्ष्मी पुनले पनि शुभकामना मन्तव्य राखेका थिए ।
सहकारी संस्थाले बचत संकलन र ऋण प्रवाहका साथसाथै सामाजिक उत्तरदायित्व पनि निर्वाह गरिरहेको संस्थाका प्रबन्धक दिलिप सारुले जनाए । साना किसानहरूलाई कृषि व्यवसायमा सहयोग र प्रोत्साहन गर्नुका साथै सहज ऋणमार्फत तरकारी खेति, खाद्यन्न बाली, उन्नत बीऊ अनुदानलगायतका कार्यक्रम पनि सञ्चालन गरिरहेको उनले जानकारी दिए । यसका साथै आफ्नो कार्यक्षेत्रभित्र कृषकहरूबाट दूध संकलन र ढुवानी सेवासमेत सहकारीले दिएको छ ।
प्रकाशित मितिः ११ मंसिर २०७९, आईतवार ०५:०१
साझा बिसौनी ।