प्रिय भाइ, तिमीले सपना देख्नुपर्छ

बढ्दो विज्ञान र प्रविधिको प्रयोगका बारेमा हामी जानकार नै छौँ । केही समय अगाडिको कुरा हो । एकजना बाह्र कक्षामा पढ्ने भाइसँग भेट भयो । चिनजान नभएको हुँदा केही समय चिनजान र रूचिको कुरा सोधेर नै मैले उनको समय खर्च गरिदिएँ । त्यहीँ पाँच मिनेट जति पनि कुरा भएको थिएन । उनले पाकेटबाट मोबाईल फोन झिके र मोबाईलमा व्यस्त भइदिएँ । उनी मोबाईलमा व्यस्त हुँदा पनि मैले कर गरेर एकैछिन कुरा गर्न मिल्छ भनेर विनम्र अनुरोध गरेँ । उनले ‘दाई यार डिस्टर्ब नगर्नु न’ भनेर बाल दिएनन् । मैले धेरै नै कर गरेपछि उनी कुरा गर्न तयार भएँ ।

मैले उनको रुचि–अरुचि, राम्रो–नराम्रो, मन पर्ने–नपर्ने सबै सोधेँ । त्यसपछि उनी अलि खुले । कुरा गर्न उत्सुक भए । ‘दाइ, थाहा छ ? मेरो गर्लफ्रेन्ड पनि छे नी’ भन्न पनि भ्याए । यसपछि भने मेरो उत्सुकता अलि बढ्यो । मैले अलि चाख दिँदै सोधेँ, ‘सँगै पढ्छाँ ?’

भाइलजायो र अम्म भन्यो । म मुस्कुराइदिएँ ।

‘मेरो मात्र होइन, दाइ । सबैको लभ परेको छ । केहीजना पढन्दास्, छन् । उनीहरूको मात्र परेको छैन । उनीहरू अहिले लभ पार्ने होइन भन्छन् ।’

अगाडि कुरा गर्न वास्ता नै नगरेको मान्छे अहिले एकोहोरो बोलिरहेको छ । म उसका कुरा सुनिरहेको छु । ‘दाइ यो लभ पा¥यो भने पढाइ बिग्रने रहेछ । ऊसँग च्याटिङ्ग गर्न, कुरा गर्न, घुम्न मात्र मन लाग्छ । पढाइमा कत्ति पनि मन लाग्दो रहेनछ । किताब हेरे पनि उसको मात्र याद आउँछ । कहिलेकाहीँ त विवाह गरेर घरमा लैजाऊ जस्तो हुन्छ । तर, यो उमेरमा न त पैसा छ न त जागिर छ । केही पनि छैन । लिएर के गर्नु जस्तो लाग्छ । दाइ यार माया लास्टै लाग्छ । ऊ जति राम्री त यो दुनियामा अर्काे कुनै केटी छैन, दाइ । मेरो विवाह हुन्छ त योसँग हुन्छ । होइन भने म बिवाह नै गर्दैन, दाइ । कसम म कसरी भनौँ, दाइ । योविना त मेरो जीवन पूर्ण जीवन नै हुन्न । मेरो कुरा बुझ्दै हुनुहुन्छ, दाइ ?’

अँ, हँ, ए अँ… म झस्केँ । यो उमेर कस्तो उमेर हो । जहाँ सम्पूर्ण कुरा एउटै हो जस्तो लाग्छ । प्रेमको सबैभन्दा मीठो आनन्द यही उमेरमा लिन पाइन्छ । थरिथरिका फूलहरू यहीँ उमेरको मौसममा फूल्दछन् । ओहो न, के मैले यसको उमेरमा यस्तै महसुस गर्न पाएँ ? एकपटक सोचमग्न भएँ । जीवन हुनुको आनन्द यहीँ उमेरमा त छ । जहाँ शून्यता छ । न कुनै डर, न कुनै चिन्ता । सिर्फ प्रेम, प्रेम र प्रेम छ । जहाँ एउटा जीवनको अनमोल प्रकाश लुकेको छ । जहाँ हिरा र मोती जस्तो मुस्कान छचल्किन्छ । यो पो जीन्दगी ।

उमेर बढ्दै जादा कति रिस, राग, चिन्ता, डर, प्रतिस्पर्धा, जिन्मेवारी, सम्बन्ध अरु अरु जोडिँदै गएर हरेक दिन भारी बोके जसरी बाँच्नुपर्दछ । शान्त र आनन्दित जीवन बाँच्ने भनेका त जीवन जिउने कला जानेका मान्छे मात्र हुन् । केही मान्छेलाई जीवन जिउन साच्चिकै आउँछ । अधिकांश मानिसहरू आफ्नो दैनिक जीवन अव्यवस्थित र अशान्त तरिकाले जीउँछन् । जसकारण विभिन्न समस्या र रोगको शिकार हुन पुग्दछन् । जुन कुरा भाइहरूले जान्न जरुरी छ ।
मैले उसलाई झट्ट प्रश्न सोधेँ, ‘दैनिक कति घण्टा जति च्याटिङ्ग गर्छाै ?’ उसले भनिहाल्यो, ‘ट्वाईलेट गएको समयमा पनि च्याटिङ्ग गर्छु । अब कति समय भन्नु दाइ । हातबाट मोबाईल एकपटक पनि छुट्दैन । यति समय भन्ने नै छैन ।’ म उसको कुरा एकदमै ध्यान दिएर सुनिरहेको छु ।

अझ प्रश्न गरेँ, ‘के अन्य साथीले पनि यसरी च्याटिङ्ग गर्छन् त ?’

‘गर्छन्, दाइ । अस्ति किशोरको बाबाले उसले धेरै मोबाईल चलायो भनेर मोबाईल थुत्नु भएँछ । उसले मोबाईल नदिने भए कलेज जान्न भनेछ । पछि जसरी पनि दिनुप¥यो । रोसनीले त झन घर नै छोड्दिन्छु भन्दिरा रे । यो सुनेर मलाई लास्टै हासो लागेको थियो, दाइ । म त यहाँ एक्लै भाडामा बस्छु । म त राजा हो, दाइ । कसैले केही भन्न र गर्न सक्दैन ।’

साहित्य, दर्शन, राजनीति, देश, युवा, अध्यात्म, विश्वगुरुहरू, पुस्तक जस्ता विविध विषयमा गफिन रुचाउने म । आज सुनिरहन मन लागेको छ । एकपटक आफ्नै विगततिर फर्कन मन लागेको छ । सायद अलि उमेर पुगेपछि प्रायःजसो मान्छे आफ्नो बचपनतिर फर्कने कुरा गर्छन् । यो त्यही समय हो । तर, यो बेतुकको कुरा हो । अब भविष्यको तयारीका बारेमा कुरा गर्नुपर्छ ।

‘भन तिम्रो सपना के छ ?’ ऊ एकपटक रोकियो । बोलेन । शब्दै निस्केन ।

‘म बाह्रमा पढ्ने मान्छेसँग के सपनाको कुरा गर्नुहुन्छ, दाइ । त्यस्तो केही छैन । पछि जे बनियो बनियो । देखा जायगा ।’

‘पछि जे बनेनि पनि त केही बन्छु सोच्नुप¥यो नी होइन ?’

उसले प्रेमिल तरिकाले ‘हो’ भन्यो । ऊ एकपटक यो सपना देख्ने भन्ने कुराले रोकिएको छ । सोचमग्न भएको छ ।

यसरी कुरैकुरामा हामी आधा घण्टाभन्दा बढी कुरा गर्न पुगेछौँ । मैले केही थपेँ, ‘भाइ, जब तिमीसँग यो दुनियाँमा कोही पनि हुनेछैन । तब तिमीसँग तिम्रो सपना छ भने तिम्रो बाँच्ने सहारा हुनेछ । जब तिमी सपना देख्न र केही बन्छु भन्न थाल्छौँ । तिमी त्यो प्रगतिको राजमार्ग तर्फ अग्रसर हुन्छौँ । तिम्रो मन, मस्तिष्क फरक तरिकाले काम गर्न थाल्छन् । तिमीमा छुट्टै आत्मविश्वास देखिन्छ । तिमी आफू–आफूलाई हेरेर नै रोमाञ्चित हुन थाल्छौँ । आफूलाई नै सबैभन्दा धेरै प्रेम गर्न थाल्छौँ । त्यसपछि सम्पूर्ण भ्रमका छायाहरू हराउँदै जान्छन् । जुन दिन तिमी सपना देख्छौँ । उक्त दिनबाट तिम्रो साचो जीवनको आरम्भ हुन्छ । प्रिय भाइ, तिमीले सपना देख्नुपर्छ । भारतका पूर्व राष्ट्रपति तथा वैज्ञानिक एपिजे अब्दुल कलामले भनेका छन्– ‘सपना त्यो होइन, जुन तिमी राति निदाउँदा देख्छौँ । सपना त त्यो हो, जसले तिमीलाई निदाउँन दिँदैन ।’

प्रकाशित मितिः   १० मंसिर २०७९, शनिबार ०५:०३