यादगार नाट्य यात्रा

 

तिम्रो माया मर्दैन सुखी
तिला नदी कर्णाली नसुकी ।
नदी भन्दा लामो छ माया
तारा भन्दा धेरै छ सम्झना…।

सुर्खेती रंगकर्मका शिखर पुरुष प्रेमदेव गिरीसँग रंगकर्मको गतिविधि गर्ने संस्था आरङ्ग नेपाल सुर्खेतले जुम्ला–मुगुसम्म नाट्य यात्राको लागि गत कार्तिक १४ गते बिहान ८ बजे साइत ग¥यो । यात्राका सहयात्रीहरूमा वरिष्ठ रंगकर्मी यामनारायण आचार्य, सुर्खेतका चर्चित बासुरी बादक तथा वरिष्ठ रंगकर्मी ज्ञानबहादुर नेपाली, जुनसुकै भूमिका कुशल ढङ्गबाट निभाउने वरिष्ठ रंगकर्मी हरि ढकाल, नेपाली फिल्मका उदियमान निर्देशक निर्मल प्याकुरेल, उर्जावान अभिनय प्रतिभा सीता आचार्य र भूमिका परियारसमेत हामी आठ जनाको समूहलाई बोकेर त्यही रूटमा चलाउने अनुभवी चालक रेसम सुनुवारले स्कार्पियो गाडी चढाए उत्तर कटकुवा हुँदै सिद्धपाइलाको उकालो ।

त्यसो त यो यात्रा दसैँ अगावै सम्पन्न हुनुपर्ने थियोे, तर अनावश्यक रूपमा लम्बिएको वर्षाले पटक्कै उछारबाटो दिएन । दसैँको छेको पारेर झरेको अविरल वर्षाले थप वितण्डा नै मच्चाइ दिएपछि बाढी पहिरोबाट देश तहसनहस मात्र भएन, जनधनको पनि ठूलो हानी नोक्सानी भयो । जुम्ला राजमार्ग अवरुद्ध हुँदा अनिश्चित बन्दै गएको यात्रा अन्योलताका बाबजुद पनि तय गरियो । नेपाल नेत्रज्योति संघको प्रायोजन, पिपुल्स एक्सेस नेपालको व्यवस्थापन र आरङ्ग नेपालको प्रस्तुतिमा गणेश गौतमको निर्देशन रहेको नाटक ‘चेतनाको दियो’ जुम्ला र मुगुका केही स्थानहरूमा प्रदर्शन गर्नुपर्ने थियो । सुर्खेतमा निर्देशक गणेश गौतमले र दैलेखमा वरिष्ठ रंगकर्मी प्रकाश पौडेलले पालैपालो पात्रतामा भूमिका निभाउनु परेको थियो । गौतम र पौडेलको कार्य व्यस्तताको कारण अब भूमिका निभाउनुपर्ने जिम्मा र धर्म यामनारायण आचार्यमाथि आइपरेको थियो ।

गुराँसेमा चिया खाजा खाएर झ¥यौँ हामी तालपोखरी हुँदै सातसल्ली ओरालो । ओहो, तल्लो डुङ्गेश्वर अगाडि मल्कामा करिब ८० मिटर सडक पहिरोले सोहोरेर लगेको रहेछ पिच सडकको टुक्रा टुक्रा भाग तल देखिन्थ्यो । पहिरो झरेको बुको माटोमा त्यसरी डाइभर्सन बनाएर गाडी चढाउनु पर्ने कहालीलाग्दो अवस्था । त्यहाँदेखि ठाउँठाउँ सडकमा प्रकृतिको ताण्डव हेर्दै दुई बजेपछि राकममा खाना खान पुग्यौं ।

‘मेरो उमेरलाई समेत ख्याल नराखी तिमीहरूले मलाई सधैँ रंगमञ्चमा उफार्छौ…।’ प्रेम सरले भन्नुभयो ।

‘हजुरको त्यही प्रेरणाबाट त आइरहन्छ मनमा ऊर्जा’ मेरो जवाफ सुनेर उहाँ मौनतामा टोलाइ रहनुभयो ।

खाना खाएर हिँडेपछि झन्–झन् आँखामा टाँसिदै उघ्रिन थाल्यो चित्ताकर्षक प्रकृति । कर्णाली नदी वारि र पारी प्रकृतिको सौन्दर्य हेर्दै रमाउँदै निरन्तर अगाडि बढ्यौँ ।

सुर्खेतमा सालीना बुलबुले ताल
मन तरुनो सालीना ज्यान बूढो यो साल…।

रेडियो नेपालका प्रसिद्ध लोकगायक कुमार बस्नेतले गाएर एक जमानामा निकै चर्चामा चुलिएको आफ्नै संकलनको यो गीत मादल ठटाउँदै प्रेम सर स्वयम्ले गाइदिएपछि गाडीभित्रको वातावरण एकाएक उल्लासमय भयो ।

नेपालका प्रसिद्ध मादलवादकको गणनामा आउने अर्को एउटा नाम हो प्रेमदेव गिरी । गिरीज्यूको मादलको ताल स्वरसम्राट नारायण गोपालका केही गीतहरूमा बजेर तिनै गीतसँग कालजयी भएका छन् । पुराना चर्चित गीतमाथी जथाभावी रिमिक्स र पाइरेसी गरि वास्तविक सर्जकको सिर्जनामाथि अन्याय भएको टिप्पणी गर्दै सेरिघाट खोला तरेर मान्मा पिली राँचुली हुँदै र बाटाको दुरावस्था हेदै हिँडिरह्यौँ ।

झमक्क साँझमा बास बस्न पुग्यौँ हामी जुम्ला नाङ्म बजार । बिहान उठेर बजारको भौगोलिक अवस्था हेर्दा अचम्मित भयौँ । जुन होटलमा बसेका थियौँ त्यो होटेलको आधाजस्तो भाग तिला नदी किनारको बालुमा टेकेर उभिएको । विशाल ढुङ्गाहरूमा छाँटिदै उफ्रिदै सुसाउँदै कर्णाली भेट्न हतार हतारमा बगिरहेको थियोे तिला । सडक पारी ठूलो भिरपाखो, तल भिर खोतलेर घरहरू घुसारिएका, भरे या भोलि खस्छन झैँ देखिने भिरमै उम्रेका कुनै भीमकाय र कुनै साना ठूला अनगिन्ती ढुङ्गाहरू । दायाँबायाँतिर पहिरो खसेर पुरिएका घरका भग्नावशेषहरू । बाढीको पहिरोको प्रकोपमा तिला र हिमा नदी दोभानको केही माथि नदि किनारमा बनेको बाटामुनीको ठूलो एउटा घर हिमा नदीले जगैदेखी सिङ्गै तानी लगेको विवरण स्थानीयबाट सुन्यौँ जहाँ घरको खाली डोब थियो ।

यात्रा अगाडि बढ्दै जाँदा आँखामा आयो प्रकृतिको काखमा रहेको सुन्दर सिंजा उपत्यका । नेपाली जन मनलाई प्रत्येक्ष परोक्ष भाषा र संवादका माध्यमले जोड्ने खस भाषाको उद्गम स्थल प्यारो सिंजा । आंँखा भरी भरी हेर्नु थियो मलाई सताब्दी पुरुष स्वर्गीय सत्यमोहन जोशीले करिब ६ महिना आफ्नो घरबाट बेखबर भएर खोतलेको संस्कृतिको फाँट । यही भूगोलमा बसेर, सुख दुःख खेपेर, गाउँ घरसँग मनपेट साटेर सत्यमोहन जोशी, चुडामणि बन्धु, प्रदीप रिमाल, स्थिरजंगबहादुर सिंह र विहारीकृष्ण श्रेष्ठ जस्ता पाँच भाइ प्रकाण्ड विद्वानहरूको लामो समयको खोज अनुसन्धान र अथक परिश्रमबाट लिपीबद्ध भएका थिए चर्चित पठनीय पुस्तक ‘कर्णालीको लोक संस्कृति ।’

बाटाको कनकासुन्दरी सिंजा बजारलाई पनि वर्षाको वितण्डाले अछुतो राखेको थिएन । त्यही बजारमा रहेको गाउँपालिका भवन नजिकै खाना खाने जोहो गर्दागर्दै सामुन्नेमा अकल्पित एउटा सुखद क्षण आयो । जुम्ला सिंजाको नाट्य संस्था खस संस्कृति मञ्च खसंमका रंगकर्मी दीपेन्द्र उपाध्याय, सूर्यमणी हमाल लगायतका मित्रहरूसँग अकस्मात भेट भयो । उहाँहरूमध्ये कोही गाउँपालिकाका पदाधिकारी र कोही कर्मचारी हुनुहुँदो रहेछ । यात्राको जानकारी नगराएको भनी सिंजाका ती साथीहरूले गुनासो गर्नु अन्यथा थिएन । पहिरो खसेर भत्किएको बाटोको अवस्था सोध्दै र बुझ्दै सुर्खेतबाट हामीले यात्राको थोरै जानकारी गराए पनि भेट हुने मिति तय गरेका थिएनौँ किनकि हाम्रो पहिलो लक्ष्य मुगु गमगढी नै थियोे । बाटामा यसरी जम्का भेट होला भनी हामीले कल्पनासम्म गरेका थिएनौँ । गमगडीबाट फर्की आउँदा सिंजाका रंगकर्मीहरूसँग भेट्ने, कसंमले नयाँ ढंगबाट निर्माण गरेको रंगमञ्च अवलोकन गर्ने र अन्तमा हाम्रो कार्यक्रम प्रस्तुत गर्ने निधो पहिल्यै भइसकेको थियो । दुःखद कुरा कसमको रंगमञ्च हेर्ने हाम्रो सपना अधुरै रह्यो किनकि बाढी उर्लिएपछि ठाडो बग्ने खोलाले अत्याचार गरेछ रंगमञ्चको नाम निशान मेटेर लगेछ ।

हामी साँझ मुगु गमगढी पुगेपछि सम्पर्क व्यक्ति वीरबहादुर रावलसँग भेट भयो । मुगुको अर्को हाम्रो गन्तव्य सोरु गाउँपालिकामा बाढी–पहिरोकै कारण पुग्न अत्यन्त कठिन भन्ने बुझिन आएपछि मनमा तनाव चढ्यो । निरन्तर फोन सम्पर्क र साझा सहमतिबाट विकल्पमा ताल्चा वा सल्लेरी भन्ने पनि आयो । अबेरसम्म अनावश्यक होटलको होहल्ला र आफ्नो तनावका कारण ११ बजेसम्म निन्द्रा नजिक आउँदै नआएपछि मैले घरीघरी सम्झिरहेँ प्रकाश पौडेल र गणेश गौतमलाई । भोलिपल्ट बिहान छोरी सीता आचार्यको पहलमा केही प्रशासनिक प्रक्रिया पूरा गरेपछि निर्धारित समयमा कार्यक्रम गरियो । पहिलो कार्यक्रम सफलतापूर्वक सप्पन्न भएपछि अग्रज र अनुज सबै कलाकारको अनुहार प्रशन्न देखियो । स्थानीय रंगकर्मी मिलन नेपाली समेतबाट टीका र खादको धौ बिर्सनु माया लिएर हामी बिदा भयौँ ।

गमगढीबाट फर्किएर ताल्चा नजिक आउँदै गर्दा नाट्य गुरु प्रेमदेव गिरीले एकाएक आफू रारा जान इच्छुक नभएको कुरा व्यक्त गर्नुभयो । एक्कासि किन त्यसो भन्नुभयो हामी आश्चर्यमा प¥यौँ । त्यही यात्राकै क्रममा निर्मलबाट सुनेको थिएँ ‘खुसी’ शीर्षकको एउटा सिर्जना । खुसीको सानो कथासार मीठो भएका कारण मेरो मनले नाट्य रूपान्तरण गरी सकेको थियो । रारा तालको अगाडि आगनमा प्रेम सरसहित हामी नाटक खेल्ने योजना बनेको थियोे । दृश्य कैद गर्नका लागि निर्मलसँग असल खालको क्यामेरा छँदै थियोे । केही सम्झाउने प्रयत्न गरियो तर काम सफल हुन सकेन । सपना ढलेपछि हामी हैरान भयौँ ।

‘म पहिला रारा गैसकेको छु, ड्राइभर रेसमसँग ताल्चामै बस्छु । कसैले कुनै अप्ठ्यारो नमान, जाउ भोलि राम्ररी घुमेर आउनु ।’

‘होइन हामी सबै जानुपर्छ ।’

‘नाइँ नाइँ । म हिँड्न घोडा चढ्न केही गर्न सक्दैन । गाडी नजाने भएपछि म जान्न । यतै होटेलको व्यवस्था गर मजाले बस्छु चिन्ता नगर ।’

बाध्यतावस आफ्ना झोला थैला गाडीमै राखेर सरसल्लाह बमोजिम प्रेम सर र गाडी चालक रेसमलाई एक होटलमा व्यवस्थापन गरी रारा प्रस्थानका लागि हामी घोडा चढ्यौँ ।

हिँड्दा–हिँड्दै ठूलो साँझ परिसकेपछि ओरालो झर्दै गर्दा जंगलको चहरबाट देखियो जूनको उज्यालोमा टल्केको राराको सानो भाग । अत्यन्त उत्साहित भयौँ ‘रारा तिमीसँग भोलि पक्कै भेट हुने छ ।’ केहीछिन तालको छेउछेवै हिँडेर पुग्यौँ फोन सम्पर्क गरिएको होमस्टेमा । आगन काल्नामुनी काटेर तयार पारेको ठूलो ड्रममा दाउरा मुढा जोतेर आगो बालिएको थियोे । आगो तापिसकेपछि हामीले आफ्नो सामान कोठामा थन्काएर खाना खायौँ । राराको गुरुत्वमा खिँचिदै आएका काठमाडांै र हेटौंडातिरका तीन–चार जना महिला दिदी–बहिनीहरू हाम्रो टोलिसँग गफिदै आगो तापीरहेका थिए । खाना खाएर आगो सेक्न जाँदानजाँदै भाइ ज्ञानबहादुरले देउडा गायक भनेर मेरो चिनारी दिएपछि मैले हाँसो थाम्नै सकिन । घोडा उफ्रेका कारण चढ्न डराइ त्यत्रो बाटो पैदलै हिँडेका ज्ञानबहादुरको जोशलाई थकानले कतै छोएकै थिएन । उनी कसैलाई सोल्टी र कसैलाई सम्धिनी भन्दै दोहोरी गाएर रमाइलो गरिरहेका थिए । आगनमा सबैलाई उनले गोलबन्द पारेर देउडा पनि खेलाइ छोडे ।

केहीछिनपछि रमाइलो सकियो, रात पनि छिप्पिदै आयो । निदाउनु पर्नेछ तर निद आउँदैन । भतिज हरि ढकालले सिरानी खप्याउन मागे । बाटोमा घोडाले खसालेको कारण हातगोडा र छातीतिर दुख्दै छ भनेपछि औषधि खाइहाल्न सुझाएँ । चिन्ता लाग्न थाल्यो बाँकी काम गर्न सकिएन भने बर्बाद हुन्छ । हरीको भुमिकाबिना नाटक पटक्कै अगाडि सर्न सक्दैनथ्यो । कहाँ हुँदो हो यो चिन्ता, कसैलाई आउने कसैलाई पटक्कै नआउने । यसै घडीमा कवि मविवि शाहको एउटा चर्चित कविता याद आयो ।

अहो ! देख्न म सक्तिन भन्छिन आमा
सन्तान थरी थरीका… ।

भोलिपल्ट विहान घाम परेपछि पुग्यौँ हामी राराको आँगनमा घोडाका बथान जंगलतिर चरिरहेका थिए, तमाम आन्तरिक पर्यटकहरू रमाइरहेका थिए । हरिको अनुहार हेर्दा तनको कष्ट पीडा शेष देखिएन । राराको सौन्दर्यले हाम्रो मन खिचेर तालमा छरिदिएको थियोे । झर्लक्क सम्झेँ जीवन सँगिनी राधिका आचार्यलाई । उनी भैदिएको भए सोध्ने थिइन्, ‘यस्तो ठाउँमा यति राम्रो ताल कसले बनायो होला ?’

‘प्रकृतिले’ मेरो जवाफ हुने थियो ।

‘प्रकृति भनेकै पनि त भगवान हुन् नी, होइन र ?’

जवाफविना चुपचाप म यसरी नै हेरिरहेको हुने थिएँ रारा जलराशीको विशाल फाँट, पारीका हरिया पहाड र तिनै पहाडका शिरमा सेतो टोपी लगाएका हिमाल ।

रंगकर्मी भाइ प्रकाश पौडेललाई पनि सम्झें । प्रकाश भैदिएका भए ‘यहाँ आइसकेपछि डुङ्गा नचढेर हुन्छ ? काम गर्नैको लागि आएका हौँ, गरौँला तर डुङ्गा चढ्ने मौका गुमाउनु हुँदैन ।’ उनको जोड बलले हामी उत्साहित हुनेथियौं । फेरि सम्झेँ गणेश गौतमलाई । गौतमको कथन हुनेथियो, ‘अब एउटा गजबको कविता लेख्नुपर्छ । लेख्नेले यसलाई जोडेर कथा लेखे पनि राम्रो हुन्छ…।’ हामीले कवि मनका म वि वि शाह र राष्ट्रप्रेमी राजा महेन्द्र शाहको चर्चा र प्रशंसा पनि गरिरहेका हुने थियौँ । जसले रारालाई स्वर्गकी अप्सरा भन्ने उपमा दिइ कविता लेखे ।

हेरेर हराएर भुलेर मन तृप्त नहुने प्रकृतिको एक अनुपम कृडास्थल रारालाई छोडनै पर्ने थियो, किनकि ताल्चा फर्कीएर कार्यक्रम प्रस्तुत नगरि नहुने बाध्यता थियो ।

‘चरी लैजा समाचार हामी भयौँ बेघरबार…।’ कार्यक्रमको अन्तमा स्थानीयको मागलाई नकार्न नसकी भाइ ज्ञानबहादुरको सुरिलो बाँसुरी धुनमा प्रेम सरले मादल ठटाउँदै गाउनुभयो आफैले मोडेलमा लिपसिङ गर्नुभएको यो अधिक चर्चित गीत । छोरीहरू सीता र भूमिकाको आकर्षक नृत्यले सबैलाई लठ्यायो । हाम्रो बास फेरि स¥यो जुम्ला सिंजामा । प्रिय भाइ दीपेन्द्रले व्यवस्थापन गरेको होटेलमा सन्तोषले गास टिपेर आनन्दले रात बितायौँ ।

सुर्खेतमा भएको नाटक महोत्सवमा कसंम सिंजाको नाटक फड्कोले निकै चर्चा पाएको थियो । १८ गते बिहान फड्कोका लेखक निर्देशक रन्नीबहादुर घर्ती र कलाकार साथीहरूसँग हाम्रो सामुहिक भेटघाट भयो । आपसमा हामीले खुसी र भावना साटासाट ग¥यौँ । तिनै प्रिय मान्छेहरूको पहल र अग्रसरतामा कार्यक्रम सम्पन्न गर्‍यौँ । भूगोलले भन्दा पनि मान्छे भावनाले नजिक हुन्छ । यी भावनाहरूले हामीलाई अबिरको टीका र माला लगाइदिएर मात्र बिदा दिए । सधैँ सम्झनामा माया मिसिने बनाए ।

सम्झना छँदैछ मनमा
बाँचे भेटघाट होइजाला जीवनमा…।

सिंजाबाट सदरमुकाम खलंगा हामी सबेरै आइपुग्यौँ । नाट्य संस्था कर्णाली कला तथा संस्कृति मञ्च ‘कलासं’ का सहृदयी कलाकारहरू आनन्द अधिकारी र तोरण कठायतसँग सुखद र भावनात्मक भेट भयो । मनभित्रका यी प्रिय जनहरूको पहल कदमिमा आतेजाते प्लेन चाटर्ड गरि नाटकका लागि हामी १८ वर्ष अगाडि जुम्ला गएका थियौँ । त्यो बेलाको र आजको जुम्ला आकाश–धरतीकै फरक रहेछ । ताजा छ सम्झना, लामो छ हाम्रो माया आनन्द तोरण र साथीहरूसँग । यतिका वर्षपछि आनन्दलाई चिन्न कुनै कठिन भएन, तर सुर्खेत र काठमाडौंमा पटक–पटक भेटघाट भए पनि यसपालि तोरणसँग थोरै अलमलिएँ । यिनै नाट्यकर्मीहरूको पहलमा १९ गते बिहान हामीले आफ्नो प्रस्तुति मैजारो ग¥यौँ । हाम्रो सम्पर्क व्यक्ति मीनादेवी आचार्यको सहयोग पनि तारिफलायक थियोे । मुगु र सिंजामा जस्तै यहाँ पनि भावनामा जोडिएका असल मनहरूबाट हामी टीका मालाको माया सम्झना लिएर बिदा भयौँ ।

अन्तिम कार्यक्रम सकेर हामी निर्धक्क रमाना भयौँ ।
‘यस्तो धमेलोको गोलामा मलाई धामी बनाएर उफार्ने ?’

‘कथाले माग्यो ।’ प्रेम सरको प्रश्नमा मेरो जवाफ थियोे । बेलुकी ७ बजेतिर कालिकोट सदरमुकाम खाँडाचक्र आइ पुगेर होटेलमा पेट भर्‍यौँ सुस्तायौँ । कार्यक्रम सकिए पनि यात्रा सकिएको थिएन त्यसैले बिहान सबेरै तयार भयौँ र यात्रा जारी राख्यौँ ।

‘अब मैले सुर्खेत वीरेन्द्रचोकमा बसेर जुत्ता सिलाउनु मात्र बाँकी छ । कुनै दिन त्यो काम पनि मलाई लाग्छ आरंगलेनै गराउने छ’ प्रेम सरको ममाथि व्यङ्गयबाँण थियो । त्यो बुझेर मौनता साँधिरहेँ र मनमनै भनेँ, ‘यदि कहिल्यै कथाले उपयुक्त पात्र माग्यो भने तोकेको काम नगर्नु पनि त नाट्य धर्म होइन नि ।’

भोकको कुनै प्रवाह नगरेर हामी निरन्तर हिँडिरहेका थियौं किनकि तल्लोडुङ्गेश्वरमा हामीले भात र माछा भेटाउनु थियोे । भोक मीठो कि भोजन ? दुबै मीठो । डुङ्गेश्वरमा हामीले माछा, झोल र भात मिसाएर सपासप पार्‍यौं । खाना खाएर हिँड्नु फेरि छँदैछ उकालो सातसल्ली, तालपोखरी, डबल गैरा, गाइबान्ना गुराँसे । हामीलाई बोकेर रानीमत्ताबाट मस्त ओरालो झ¥यो रेसमको स्कार्पिओ । एक हप्ताको कार्यक्रम सकेर फर्कियौँ हामी आफ्नो गृह जिल्ला ।

सुर्खेत बुलबुल ताल,
माया मै सानो हुनाले छुट्यो मायाजाल… ।

प्रकाशित मितिः   १० मंसिर २०७९, शनिबार ०५:०४