हिंसाको कहरमा महिला

सुर्खेत: पछिल्ला वर्षहरूमा महिलामाथि हुने हिंसा झन्–झन् बढ्दै गएको पाइएको छ । महिला हिंसा न्यूनीकरणका लागि थुप्रै अभियानहरू सञ्चालन गरिए पनि हिंसाजन्य श्रृंखला रोकिएका छैनन् । केही वर्षयता परेका उजुरीको संख्याले महिला हिंसा घट्नुको साटो बढ्दोक्रममा रहेको देखिएको छ । कर्णालीमा पछिल्लो साढे दुई वर्षको तथ्याङ्कले महिला हिंसाको अवस्था विकराल रहेको देखाएको हो । प्रदेश प्रहरी कार्यालयको विवरणअनुसार कर्णालीमा प्रत्येक दिनजसो महिलाहरू कुनै न कुनै हिंसाको सिकार भइरहेका छन् । महिलाहरू घरेलु, यौनजन्य र लैङ्गिक हिंसामा धेरै पर्ने गरेका हुन् । समाजमा हुने अनेकखालका हिंसाबाट सबै उमेर समूहका महिलाहरू प्रताडित छन् । प्रहरीमा परेका उजुरीले बालिकादेखि वृद्ध उमेरसम्मका महिलाहरू हिंसामा परेको देखिएको छ । कर्णालीमा झन्डै दुई वर्षको अवधिमा मात्रै तीन सय ८७ जना महिला बलात्कृत भएका छन् । बलात्कृत हुनेमा बालिकाहरूको संख्या उल्लेखनीय छ ।

आर्थिक वर्ष २०७७/०७८ मा एक सय ५४ महिला बलाकृत भएको उजुरी प्रहरीमा परेका थिए । पछिल्लो आर्थिक वर्ष २०७८/०७९ मा एक सय ५५ जना महिला तथा बालिका बलात्कृत भएको उजुरी परेको थियो । चालु आर्थिक वर्ष २०७९/०८० को चार महिनामा ७८ जना महिलाहरू बलात्कृत भएको उजुरी प्रहरीमा परेको छ । कर्णालीमा महिलामाथि हुने हिंसामा सबैभन्दा धेरै उजुरी बलात्कारका घटनाका भएको प्रहरीले जनाएको छ । यहाँ बहुविवाहका घटना पनि अधिक हुने गरेका छन् । आर्थिक वर्ष २०७७/०७८ मा मात्रै ९६ वटा बहुविवाहका उजुरी दर्ता भएका छन् । गएको आर्थिक वर्षमा विभिन्न जिल्लामा गरी ८१ र चालु आर्थिक वर्षको कार्तिक मसान्तसम्म २८ वटा बहुविवाहका उजुरी परेका छन् ।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक माधवप्रसाद श्रेष्ठ कर्णालीमा महिलामाथि यौनजन्य हिंसाका उजुरीहरू धेरै आउने गरेको बताउँछन् । ‘अन्य हिंसाभन्दा यौनजन्य र बलात्कारका उजुरीहरू बढी देखिन्छन्,’ उनले भने, ‘केही वर्षयताका तथ्याङ्कहरूले पनि त्यही देखाउँछ ।’ कर्णालीका केही क्षेत्रमा अहिले पनि सामाजिक अन्धविश्वास र कुप्रथा ब्याप्त छ । महिलाहरू छाउपडी र बोक्सीजस्ता अन्धविश्वासका कारण पीडित बनिरहेका छन् । गएको साढे दुई वर्षको अवधिमा प्रदेशमा ६ वटा हिंसाका घटना यसैसम्बन्धीका छन् । मानव बेचबिखनको जालोमा पनि महिलाहरू नै बढी परेको देखिएको छ । आर्थिक वर्ष २०७७/०७८ यता प्रदेशभर मानव बेचबिखनका घटना पनि बढेका छन् । उक्त वर्ष तीन वटा मानव बेचबिखनका उजुरी दर्ता भएकोमा आर्थिक वर्ष २०७८/०७९ मा चार र चालु आर्थिक वर्षको चार महिनामा तीन वटा उजुरी दर्ता भइसकेका छन् ।

महिलामाथि मानसिक, शारीरिक, यौनजन्य र लैङ्गिक विभेद तथा असमानताजस्ता हिंसा श्रृंखलाबद्ध रूपमा भइरहेको अधिकारकर्मीहरू बताउँछन् । उनीहरूका अनुसार महिलामाथि हुने विभिन्न हिंसा रोकथाम तथा न्यूनीकरणका लागि भइरहेका प्रयासहरू अझै प्रभावकारी बन्न सकेका छैनन् । अधिवक्ता एवम् महिला अधिकारकर्मी गिता कोइरालाले विभिन्न बहानामा महिलालाई गरिने हिंसामा कमी आउन नसकेको बताइन् । ‘महिलाहरूले घरदेखि सार्वजनिक स्थलसम्म कतै पनि सुरक्षित महशुस गर्न पाएका छैनन्,’ उनी भन्छिन्, ‘सरकारी र गैरसकारी निकायबाट हिंसा न्यूनीकरणको प्रयास भएपनि अपेक्षित उपलब्धी हासिल हुन सकेको छैन ।’ समाजमा चेतनाको स्तर बढेपनि यौन दुव्र्यवहार, बेचबिखन, कुटपिट, बोक्सीजस्ता आरोपका घटनामा कमी नआउनु गम्भीर विषय भएको उनको भनाइ छ । पछिल्ला वर्षहरूमा महिलामाथि गरिने हिंसाका प्रकृति पनि फेरिएका छन् । सूचना प्रविधिको प्रयोग बढेसँगै सामाजिक सञ्जालमार्फत पनि महिलालाई हिंसा गर्ने गरिएका थुप्रै उजुरीहरू प्रहरीमा पर्ने गरेका छन् । जुनसुकै हिंसाको न्यूनीकरण गर्न सचेतना बढाएर कानुनको प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने अधिकारकर्मीहरूले बताउने गरेका छन् । समाजमा अहिले पनि पितृ सत्तात्मक सोच हाबी हुनु, अन्धविश्वास र कुसंस्कारजस्ता परिपार्टी संस्थागत भइरहनुले महिलामाथि हुने हिंसामा कमी नआएको कतिपयको तर्क छ ।

महिलामाथि हुने घरेलु हिंसाका घटनाको अवस्था पनि भयावह छ । आर्थिक वर्ष २०७६/०७७ मा प्रदेशभर ६ सय २७ घरेलुु हिंसाका मुद्दा दर्ता भएका थिए । त्यसको पछिल्लो आर्थिक वर्ष २०७७/०७८ मा प्रदेशभर आठ सय ७५ वटा घरेलुु हिंसाका घटना प्रहरीमा दर्ता भए । गएको आर्थिक वर्षमा पनि सोही हाराहारीमा घरेलु हिंसाका उजुरी दर्ता भएका थिए । कर्णालीमा मानव अधिकार हनन्का अधिकांश घटनामा पनि महिलाहरू नै बढी प्रभावित हुने गरेका छन् । अनौपचारिक सेवा केन्द्र ‐इन्सेक) का कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले प्रदेशमा मानव अधिकार हनन्को अवस्थासमेत डरलाग्दो रहेको बताए । उनी भन्छन्, ‘मानव अधिकार हनन्का घटनामा महिला र बालबालिका नै बढी पीडित देखिन्छन् ।’ उनले कानुनी उपचारको सहज पहुँच र न्यायिक प्रक्रियाबारे सचेतनाको अभावले हिंसादेखि मानव अधिकार हनन्सम्मका घटनाबाट महिलाहरू पीडित भइरहेको जनाए । सरकारी निकायले सचेतना अभिवृद्धि तथा न्याय पाउने बाटो सरल, सहज र छिटो बनाउनुपर्नेमा उनको जोड छ । कर्णालीका अधिकांश जिल्लामा अहिले पनि झन्डै ५० प्रतिशत बालविवाह हुने गरेको छ । उमेर नपुग्दै विहे गर्ने प्रचलनका कारण बालिकाहरू पीडित हुँदै आएका छन् । प्रदेश प्रहरी कार्यालयका अनुसार हरेक वर्ष एक सय हाराहारी उजुरी बालविवाहका पर्ने गरेका छन् ।

यो वर्षको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको छ । सामाजिक विकास मन्त्रालय र वीरेन्द्रनगर नगरपालिकाले शुक्रवारदेखि १६ दिने अभियानको औपचारिक सुरुवात गरेका हुन् । ‘सभ्य समाजको पहिचानः लैङ्गिक हिंसा विरुद्धको अभियान’ भन्ने नारासहित अभियान थालिएको हो । अभियान अन्तर्गत यसपटक ‘म हिंसा गर्दिन, म हिंसा सहदिन र म हिंसाको प्रतिकार र रिपोर्ट गर्छु’ भन्ने प्रतिबद्धताहरू राखिएका छन् । अभियानका क्रममा महिलामाथि हुने हिंसा न्यूनीकरणका लागि विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।

प्रकाशित मितिः   १० मंसिर २०७९, शनिबार ०५:०५