सीमान्तकृतलाई गुजरा चलाउने सकस
सुर्खेत: गगने वादी वीरेन्द्रनगर–११ को शान्तिपुरका बासिन्दा हुन् । ६२ वर्षीय उनी शारीरिक रूपमा अस्वस्थ हुँदा हिँड्डूल गर्न सक्दैनन् । ह्वीलचेयरको सहारामा यताउती गर्छन् । त्योपनि मुस्किलले घर–आँगन वरिपरी मात्रै । क्यान्सर रोगले बायाँ खुट्टा गुमाएका उनको हेरचाह नातीले गर्दै आएका छन् । शारीरिक रूपमा अशक्त उनले राज्यबाट नागरिकता बाहेक अरु कुनै सुविधा पाएका छैनन् । झुप्रा खोला र भेरी नदीको दोभान नजिकको किनारमा अव्यवस्थित बसाइँ छ । चिसो सिरेटोले बिहान साँझ जिउ नै कपाउछ । उनी भन्छन्, ‘हाम्रा दुःख देख्ने कोही भएन, चुुनावताका समस्या सोध्नेको लर्को लाग्छ, जितेपछि पाँच वर्ष फर्केर आउँदैनन् ।’ जनप्रतिनिधिले आफ्नो समुदायमा विगतमा गरेका कुनै पनि बाचा पूरा नगरेको उनको गुनासो छ । ‘आफू केही गर्न सकिदैन,’ उनले भने, ‘नातीले ज्याला मजदुरी गरेर धेरथोर कमाउँछ, यसैबाट धौ–धौ हातमुख जोड्ने मेसो भएको छ ।’
सोही समुुदायकी ५७ वर्षीया पम्फा वादी एकल महिला हुुन् । शान्तिपुरकै उनको सहारा छोरी थिइन् । उनी पनि अहिले बिहे गरेर गइसकिन् । एक्ली पम्फा ज्यालामजदुरी गरेर जसोतसो बिहान बेलुकाको छाक टार्छिन् । उनी भन्छिन्, ‘मजदुरीको काम पाएका दिन चुल्हो बल्छ, नभए भोकै बस्नुपर्छ ।’ खोलाबाट निकालेको गिटी वालुुवा बेचेर गर्जो टार्ने पम्फा अहिले त्यही काम पनि गर्न नपाउँदा खर्च जुटाउनै हम्मेहम्मे परेको बताउँछिन् । उनले एकल महिलालाई आफ्नै समुदायमा अनेक विभेद हुने गरेको सुनाइन् । दैनिक गुजरा चलाउने चिन्तासँगै उनी समाजले गर्ने विभेदको पनि सामना गरिरहेकी छिन् ।
२३ वर्षीया गिता वादी शान्तिपुरकै बासिन्दा हुन् । उनले बस्तीमा सरकारले आधारभूत सेवा सुविधासमेत पुर्याउन नसकेको बताइन् । बादी समुदायको बाहुल्यता रहेको यस ठाउँमा खानेपानी, बिजुली, विद्यालय र सडक पूर्वाधारजस्ता आधारभूत सेवा पनि छैनन् । गरिबी र विपन्नताले पिरोलेको शान्तिपुरमा राज्यको उपस्थिति निकै फितलो देखिन्छ । गिता भन्छिन्, ‘हाम्रो समुुदायमा रोजगारी छैन, आयस्रोतको बाटो नहुँदा दैनिकी निकै कष्टकर छ ।’ माध्यमिक तहसम्मको पढाइ हुने विद्यालय नजिकै नहुँदा अधिकांश बालबालिकाले बीचमै पढाइ छोड्नुपर्ने बाध्यता रहेको उनले बताइन् ।
शान्तिपुरका दिपक वादी २५ वर्षका भए । उनले परिवारको आर्थिक अवस्था नाजुक र घर नजिकै विद्यालय नभएका कारण माध्यमिक तहसम्मको शिक्षा पनि पूरा गर्न पाएनन् । ‘उच्च शिक्षा हासिल गर्ने रहर थियो, विद्यालय पनि टाढा भयो,’ उनले भने, ‘घर खर्च चलाउन पनि कलिलै उमेरमा भारतमा मजदुरी गर्न जानुुपर्ने बाध्यता आइलाग्यो ।’ उनी झन्डै एक दशकदेखि रोजगारी गर्न भारत आउजाउ गरिरहेका छन् । गरिबी र बेरोजगारी समस्याले शान्तिपुर आक्रान्त बनेको उनी बताउँछन् । यहाँका युवाहरू ज्यालामजदुुरीका लागि सहरी क्षेत्रमा भौतारिनु परेको छ । राज्यका निकायले आफ्ना समस्याहरूको सम्बोधनमा चासो नदिएको भन्दै यो बस्तीका युवाहरू निराश छन् ।
वीरेन्द्रनगर–११ मा रहेको वादी समुदायको बस्ती शान्तिपुरका यी केही प्रतिनिधिमूलक पात्र हुन् । उक्त बस्तीमा घरैपिच्छे अभाव र समस्याका चाङ छन् । प्रदेश राजधानीकै नगरभित्रको वडामा पर्ने शान्तिपुर चरम विपन्नताले थिचिएको छ । यहाँका बासिन्दालाई गुजरा चलाउनै सकस छ । चेतनाको अभावले राज्यका निकायसँग आफ्ना माग राख्ने सामूहिक संयन्त्रसमेत नरहेको समुदायका अगुवा हरि वादी बताउँछन् । उनका अनुसार उक्त बस्ती २०४२ सालदेखि बसेको हो । एक सय ५० घरधुुरी रहेको बस्तीमा जग्गाधनी पुर्जा कसैसँग छैन । ऐलानी जग्गामा बस्दै आएका उनीहरूको मुख्य समस्या लालपुर्जा हो । उसो त यो समुदायले लालपुुर्जाका लागि पटक–पटक आश्वासन पाएको छ । हरि भन्छन्, ‘वर्षौंको संघर्षपछि बल्ल सेतोपुुर्जा हात परेको छ । लामो समयदेखि बस्दै आएको जग्गाको स्वामित्व आफ्नो नाममा नहुँदा निकै कठिनाइहरू छन् ।’ समुदायको मुख्य पेसा नदीबाट गिटी वालुवा निकालेर बेच्ने हो । विगत चार महिनादेखि उक्त काम पनि रोकिएको छ । गएको असारदेखि स्थानीय सरकारले नदीजन्य पदार्थको उत्खनन्मा कडाइ गरेपछि शान्तिपुरवासीको कमाउने मेसो बन्द भएको छ, ठप्प भएको छ ।
रोजगारी गुमेपछि आँगनको सरकारले आड दिनुको साटो उल्टै समस्या खडा गरेको भन्दै बस्तीका युवाहरू आक्रोशित छन् । चुुनाव आउँदा खोजी–खोजी बस्ती छिर्ने नेता जितेपछि हराउने गरेको गुनासो उनीहरूको छ । आफूहरूका समस्यामा स्थानीय सरकार नै बेखबर बनेकाले जीविकोपार्जनमा झनै अप्ठ्यारो भइरहेको शान्तिपुरका अगुवाहरूले बताएका छन् । पछिल्ला वर्षहरूमा सीमान्तकृत वादी समुदायको पुख्र्यौली पेसासमेत संकटमा परेको छ । हस्तकलाका सामग्री उत्पादन गरेर जीविकोपार्जन गर्ने यो समुदायमा पुख्र्यौली सीप हस्तान्तरण हुन छाडेको छ । हस्तकलाका सामग्री उत्पादन गरेर गुजरा चलाउन मुस्किल हुन थालेपछि युवाहरू त्यसतर्फ आकर्षित नभएको समुदायका ज्येष्ठ नागरिकहरूको भनाइ छ ।
केही दिन पहिले यो बस्तीमा मध्यपश्चिम विश्वविद्यालयको ‘स्कूल अफ ल’ले क्लिनिकल लिगल एजुकेशन कार्यक्रम अन्तर्गत समुुदायको विभिन्न अवस्थाबारे स्थलगत अध्ययन गरेको थियो । कानुन संकायका विद्यार्थीहरूले समुुदायस्तरमा अध्ययन तथा छलफल चलाएका थिए । स्थलगत अध्ययनमा सहभागी विद्यार्थी चन्द्रा पाण्डेले शान्तिपुरको वादी समुदायमा राज्यले न्यूनतम् सेवा सुविधासमेत दिन नसकेको पाइएको बताइन् । उनका अनुसार विकासका पूर्वाधारको अभाव मात्र नभएर त्यहाँ जातीय छुुवाछुुत, बालविवाह र महिलामाथि हुने हिंसाको अवस्था पनि विकराल छ । शान्तिपुरमा बेरोजगारी समस्या नै गरिबीको मूल कारण रहेको अध्ययनको निष्कर्ष छ । संस्थागत सुधारमार्फत न्यायमा पहँुच अभिवृद्धि परियोजनासँगको समन्वयमा विश्वविद्यालयले सीमान्तकृत समुदायमा क्लिनिकल लिगल एजुकेशन कार्यक्रम सञ्चालन गरेको ‘स्कूल अफ ल’ का निर्देशक उपेन्द्रबहादुर विकले बताए । उनका अनुसार विद्यार्थीहरूले योसहित अन्य विपन्न समुुदायमा पनि नागरिकहरूले राज्यबाट आधारभूत सेवा सुविधा पाए–नपाएको बारेमा अध्ययन गरेर प्रतिवेदन तयार पारेका छन् ।
प्रकाशित मितिः ९ मंसिर २०७९, शुक्रबार ०५:०५
रजनी याेगी ।