घट्दो उत्साह

प्रतिनिधिसभा तथा प्रदेशसभाका नयाँ सदस्य चुन्न आइतवार देशैभर एकसाथ मतदान भयो । केही स्थानमा विवादका कारण स्थगित भएपनि अधिकांश स्थानमा शान्तिपूर्ण रूपमा मतदान भएको हो । अघिल्ला निर्वाचनको तुलनामा यसपटक मतदाताहरूको सहभागिता भने कम देखिएको छ । निर्वाचन आयोगका अनुसार यो चुनावमा करिब ६१ प्रतिशत मत खसेको छ । आयोगले ७० प्रतिशत हाराहारी मतदान हुने प्रक्षेपण गरेको थियो । २०७४ को तुलनामा यसपालि थोरै मतदान भएको छ । दुई चरणमा सम्पन्न अघिल्लो प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ६८.६७ प्रतिशत मतदाताले भोट हालेका थिए । यसपटकको चुनावमा उक्त प्रतिशत बढ्ने पूर्वाअनुमान गरिए पनि मतदान थोरै भएको हो । गत वैशाखमा सम्पन्न स्थानीय तहको चुनावमा पनि पहिलो कार्यकालको तुलनामा कम मत खसेको थियो । २०७४ को स्थानीय तह निर्वाचनमा कर्णाली प्रदेशभर ७० प्रतिशत मतदान भएकोमा यसपटक ६५ प्रतिशत मतदाताले मात्रै भोट हालेका थिए । घट्दो मतसंख्याले निर्वाचनप्रति आम नागरिकको उत्साह घटेको देखाउँछ ।

देश संघीय संरचनामा गएपछि पहिलो पटक भएको निर्वाचनमा मतदाता निकै उत्साहित भएका थिए । प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो कार्यकालको चुनावमा आइपुग्दा मतदाताको उत्साहमा कमी देखिएको हो । पछिल्ला वर्षहरूमा नागरिकमा राजनीतिप्रति निराशा बढेकाले त्यसको प्रभाव मतदानमा पनि प्रकट भएको देखिन्छ । यसअघिको कार्यकालका लागि चुनेका प्रतिनिधि र बनेका सरकारले जनताको अपेक्षाअनुसार काम नगरेको भन्दै मतदाताहरूमा निराशा बढेको पाइएको छ । मतदानमा सहभागी नभएका मतदाताहरू मात्रै होइन सहभागी मतदाताहरू पनि निराश नै देखिन्छन् । उनीहरूले जनप्रतिनिधिको भरोसा लाग्नै छाडेको बताएका छन् । यद्यपि, केही विकास भइहाल्छ कि भन्ने झिनो आशले भोट हालेको प्रतिक्रिया दिने मतदाताको संख्या धेरै थियो । ‘जनताले अहिलेसम्म नपाएको सुविधा अब आउने नयाँ जनप्रतिनिधिले पूरा गर्नुपर्छ,’ उनीहरूको धारणा थियो, ‘नेताहरूप्रति निराशा बढ्दो छ, यसतर्फ जनप्रतिनिधि गम्भीर बन्नुपर्छ ।’ यसरी नागरिक निराश हुनुमा विगतमा निर्वाचित प्रतिनिधिले आफ्नो प्रतिबद्धता पूरा गर्न नसकेका कारण पनि हो । शिक्षा, स्वास्थ्य र जनताका आधारभूत आवश्यकताको परिपूर्तिका लागि ध्यान नदिएको गुनासो अधिकांशको छ ।

निर्वाचनमा मतदाताको सहभागिता घट्नु चिन्ताको विषय हो । आवधिक निर्वाचन मुलुकको राजनीति र शासन पद्धतिको समेत परीक्षण हो । विगतमा निर्वाचित जनप्रतिनिधिको भूमिका, दलहरूको एजेण्डा र सरकारको कामका आधारमा नागरिकले निर्वाचनमार्फत आफ्नो मत अभिव्यक्त गर्दछन् । मतदाताको मतले नै नयाँ जनप्रतिनिधिको चयन हुन्छ । जसले आवश्यक कानुन निर्माण र त्यसको कार्यान्वयको जिम्मेवारी पाउँछन् । तर यस्तो महङ्खवपूर्ण जिम्मेवारीको छनोटमा नागरिकको उत्साह घट्नुले वर्तमान राजनीतिक नेतृत्वलाई सुधारको सन्देश दिएको छ ।

प्रकाशित मितिः   ६ मंसिर २०७९, मंगलवार ०५:०३