चुनावमा मतदाताको असन्तुष्टि प्रकट
सुर्खेत: प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनले चुनावप्रति मतदाताको आकर्षण घटेको देखाएको छ । आइतवार भएको चुनावमा देशभर नै कम मतदान भएको छ । अघिल्लो निर्वाचनको तुलनामा यसपालि थोरै मत खसेको हो । सुर्खेतमा पनि २०७४ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनभन्दा अहिले कम मतदान भएको छ । सुर्खेतमा २०७४ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा दुई लाख चार हजार पाँच सय ७७ मतदाता थिए । त्यतिबेला जिल्लामा ७० दशमलव ५७ प्रतिशत मत खसेको थियो । अघिल्लो प्रतिनिधिसभा र प्रदेशसभाको तुलनामा यसपालि झन्डै सात प्रतिशत कम मतदान भएको हो । आइतवार सम्पन्न संसदीय चुनावमा यहाँ कूल मतदाता संख्याको ६३ दशमलव ८४ प्रतिशत मात्रै भोट खसेको छ ।
सुर्खेतमा यसपटक एक लाख ५४ हजार दुई सय चार जनाले मतदान गरेको जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क छ । त्यसमध्ये ८५ हजार पाँच सय २८ महिला र ६८ हजार ६ सय ७६ पुरुष मतदाताले भोट हालेका छन् । यस पटक सुर्खेतमा पुरुषभन्दा करिब १७ हजार बढी महिला मतदाताले मतदान गरेका छन् । जिल्लामा पुरुषभन्दा महिला मतदाताको संख्या धेरै छ । कूल दुई लाख ४३ हजार ६ सय १४ मतदातामध्ये एक लाख २४ हजार आठ सय ७६ मतदाता महिला हुन् । पुरुष मतदाताको संख्या एक लाख १८ हजार सात सय ३८ रहेको छ । सुर्खेतमा प्रतिनिधिसभाका दुई र प्रदेशसभाका चार वटा निर्वाचन क्षेत्र छन् । प्रदेश निर्वाचन कार्यालयका अनुसार क्षेत्र नं. १ मा एक लाख २० हजार नौ सय ४० र क्षेत्र नं. २ मा एक लाख २२ हजार ६ सय ७४ मतदाता रहेका छन् । क्षेत्र नं. १ मा एउटा मतदान केन्द्रमा भने आइतवार निर्वाचन भएको छैन । राकम मतदान केन्द्रको सिम्ता बहुमुखी क्याम्पस मतदानस्थलमा निर्वाचन गर्न बाँकी रहेको हो । मतदानका क्रममा प्राविधिक त्रुटि भइ विवाद उत्पन्न भएपछि त्यहाँ आज ‐मंगलवार) पुनः मतदान गर्ने तयारी गरिएको छ ।
आइतवार भएको चुनावमा खसेको मत संख्याले मतदाताको राजनीतिक दल र व्यवस्थाप्रतिको असन्तुष्टि देखाएको जानकारहरू बताउँछन् । चुनावमा मतदाताको सहभागिता, आकर्षण तथा उत्साहमा कमी आउनुलाई त्यसकै संकेतका रूपमा लिन सकिने नागरिक समाजका अगुवा पीताम्बर ढकाल बताउँछन् । मतदाता संख्या बढ्ने र खस्ने मतको प्रतिशत घट्दै जानुले राजनीतिप्रति मतदाताको अरुची बढेको देखिन्छ,’ उनले भने, ‘अहिलेको चुनावमा राजनीतिक दल र पुराना उम्मेदवारहरूप्रतिको असन्तुष्टि प्रकट भएको हो ।’ उनले यसपालि प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा मतदाताको न्यून सहभागिता रहनुको मुख्य कारण राजनीतिप्रतिको वितृष्णा नै रहेको जिकिर गरे । उनी भन्छन्, ‘अपेक्षा अनुरूप न मतदाता सहभागी भए न त मतदातामा उत्साह नै देखियो ।’
यसपटक नागरिकहरूमा अघिल्ला निर्वाचनको तुलनामा उत्साह निकै कम पाइएको थियो । नयाँ उम्मेदवारप्रति युवा पिँढीहरूको केही झुकाव भए पनि पुराना अनुहारलाई नै भोट दिएर के हुन्छ भन्ने बुझाइ मतदातामा रहेको पाइएको छ । यसपटकको चुनावमा बाहिर रहेका मतदातासमेत कमै मात्रै गाउँ फर्किए थिए । यसले पनि निर्वाचनप्रति मतदाता उत्साहित छैनन् भन्ने देखिएको छ । अनौपचारिक सेवा केन्द्र ‐इन्सेक) का कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले यसपटकको निर्वाचनमा मतदाताको सहभागिता कम हुनुमा दलहरूप्रतिको विश्वास घट्नु भएको बताए । निर्वाचन परीवेक्षणका क्रममा सहरी क्षेत्रदेखि ग्रामीण भेकसम्म सबैतिर मतदानमा खासै उत्साह नभेटिएको उनी बताउँछन् । ‘गरिबी र पिछडिएको समुदाय भएका ठाउँमा झनै चुनावको उत्साह देखिएन, उनले भने, ‘त्यस्ता समुदायका मतदातामा भोट हालेर मात्र केही नहुने रहेछ भन्ने प्रतिक्रिया पाइयो ।’ उनका अननुसार आइतवार भएको मतदानमा २०४८ साल पछि अहिलेसम्मकै कम मतदान भएको हो । कामको शिलशिलामा बाहिरै बसेका र सहर बजारमा रहेका मतदाता पनि भोट हाल्न गाउँ नगएको पाइएको सुवेदीले जनाए । ‘पहिले पनि मत हालेकै हो, अहिले हालेर मात्रै के हुन्छ र ? भन्ने खालको मनोविज्ञान मतदातामा देखियो,’ उनले भने ।
आइतवार एकैचरणमा सम्पन्न निर्वाचन संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनेपश्चात्को दोस्रो संसदीय चुनाव हो । नयाँ संविधान जारी भएपछि २०७४ मा पहिलो पटक प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन भएको थियो । दुई चरणमा सम्पन्न सो निर्वाचनपछि मात्रै मुलुक औपचारिकरूपमा संघीय संरचनामा प्रवेश गरेको थियो । यसअघिको संसदीय निर्वाचन २०७४ सालको मंसिर १० र २१ मा गरी दुई चरणमा भएको थियो । उक्त निर्वाचनमा देशभर ६८.६७ प्रतिशत मतदाताले भोट हालेका थिए । यसपालि उक्त प्रतिशत घटेर ६१ मा झरेको छ । पाँच वर्ष अघिको निर्वाचनमा संघीय शासन प्रणालीले ठूलो परिवर्तन ल्याउने मतदाताको अपेक्षा थियो । जसले गर्दा उतिबेला मतदाता भोट हाल्न आतुर र उत्साहित देखिएका थिए । एक कार्यकाल सकिएसँगै मतदातामा राजनीतिक दल, जनप्रतिनिधि र संघीय व्यवस्थाप्रति नै आशाभन्दा निराशा बढी देखिएको जानकारहरू बताउँछन् । पछिल्ला वर्षहरूका सत्ता केन्द्रित संसदीय राजनीतिबाट जनता थप असन्तुुष्ट बन्दै गएको विभिन्न सर्वेक्षणहरूले पनि देखिएको छ । आइतवार सम्पन्न मतदानको अधिकांश स्थानमा मतगणना जारी रहेको निर्वाचन आयोगले जनाएको छ ।
प्रकाशित मितिः ६ मंसिर २०७९, मंगलवार ०५:००
साझा बिसौनी ।