मतगणना जारी

सिम्तामा आज मतदान हुने

सुर्खेत: आइतवार भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । कर्णाली प्रदेश निर्वाचन कार्यालयका अनुसार प्रदेशका अधिकांश निर्वाचन क्षेत्रको मतगणना सोमवारदेखि सुरु भएको छ । हिमाली क्षेत्र र अन्य केही निर्वाचन क्षेत्रहरूको मतपेटिका गणनास्थलमा ल्याउने कार्य पनि सोमवारसम्म जारी रहेको थियो । सुर्खेतको क्षेत्र नं. २ मा मतगणना सोमवारदेखि थालिएको छ । मतगणना वीरेन्द्रनगरस्थित सुुर्खेत सभागृह ‐सिटीहल)मा भइरहेको छ । क्षेत्र नं. २ मा प्रतिनिधिसभातर्फको मात्र मतगणना भइरहेको हो । प्रदेशसभा र समानुपातिकतर्फको मत भने सोमवार साँझसम्म गणना गर्न सुरु गरिएको थिएन ।

सुर्खेत क्षेत्र नं. १ मा एउटा मतदान केन्द्रमा निर्वाचन गराउन बाँकी रहेकाले मतगणना रोकिएको छ । उक्त मतदान केन्द्रमा मंगलवार पुनः मतदान गरिने भएको छ । प्रतिनिधिसभाको मतपत्र प्रदेशसभाको मतपेटिकामा परेपछि सिम्ता गाउँपालिकाको सिम्ता बहुमुखी क्याम्पस मतदान स्थलमा आइतवार मतदान स्थगित भएको थियो । निर्वाचन अधिकृतको कार्यालयले मंगलवार पुनः मतदान हुने जानकारी दिएको छ । बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने निर्वाचन अधिकृत उपेन्द्रकेशर खनालले बताए । यो मतदान स्थलमा तीन वटा केन्द्र रहेका छन् । स्थगित भएको केन्द्रमा मतदान सम्पन्न भएपछि मेहेलकुनामा रहेको सिटी हलमा मतगणना हुने जनाइएको छ । यसअघि सुर्खेतका दुवै निर्वाचन क्षेत्रको एकै स्थानबाट मतगणना हुँदै आएकोमा यसपटकदेखि सम्बन्धित क्षेत्रमै गणना गर्ने व्यवस्था मिलाइएको छ । कर्णाली प्रदेशभर प्रतिनिधिसभाका १२ र प्रदेशसभाका २४ वटा निर्वाचन क्षेत्र छन् । यस निर्वाचनमार्फत यहाँबाट प्रत्यक्षतर्फ प्रतिनिधिसभामा १२ र प्रदेशसभामा २४ सांसद निर्वाचित हुनेछन् ।

प्रकाशित मितिः   ६ मंसिर २०७९, मंगलवार १५:३१