ऐतिहासिक अवसर

आज मंसिर ४ गते । अन्ततः प्रतीक्षाको घडी सकिएको छ । देशैभर एकैदिन प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य चयनका लागि आम निर्वाचन हुँदैछ । बिहान ७ बजेदेखि मतदान सुरु हुँदैछ । मतदाताले गोप्य मतदानमार्फत आफ्नो मत व्यक्त गर्दैछन् । उनीहरूको मतबाट जनप्रतिनिधि चुनिन्छन् । यो निर्वाचनबाट चुनिने जनप्रतिनिधिले प्रतिनिधिसभा र प्रदेशसभामार्फत समयानुकूल कानुन निर्माण र त्यसको कार्यान्वयनमा भूमिका निर्वाह गर्नेछन् । त्यति मात्रै होइन आगामी सरकार कसको बनाउने भन्ने कुराको निर्णय पनि हो, यो निर्वाचन । त्यसैले ऐतिहासिक निर्वाचनका लागि आम मतदाता उत्साहित भएका छन् ।

राजनीतिक दल तथा उम्मेदवारहरूले आ–आफ्ना योजना, एजेन्डा र प्रतिबद्धता मतदातामाझ पु¥याएर मत मागिसकेका छन् । विभिन्न आश्वासन बाँडेका छन् । यी सबै कुरालाई ख्याल गरिसकेपछि मतदाताले आफूले रोजेको उम्मेदवार र दलको पक्षमा मतदान गर्नेछन् । पाँच वर्षको अन्तरालमा एक पटक हुने आम निर्वाचन आएसँगै मतदाताहरू भोट हाल्न आ–आफ्नो क्षेत्रमा पुगेका छन् । कामको सिलसिलामा आफ्नो निर्वाचन क्षेत्र बाहिर रहेकाहरू मतदान गर्न घर फर्किएका हुन् । अधिकांश मतदाता शनिवार साँझसम्म आ–आफ्नो क्षेत्र फर्किएका हुन् ।

नेपालको राजनीति लामो समयदेखि अस्थिर छ । राजनीतिक स्थायित्व नहुँदा त्यसको प्रत्यक्ष असर देशको विकासमा परेको छ । विकासमा पछि पर्दा नागरिकको जीवनस्तरमा सुधार हुन सकेको छैन । राजनीतिले नागरिक हितमा योगदान दिनुपर्दछ । तर अहिले अभ्यासमा भित्रिएका विकृतिले भने त्यसो हुन दिएको छैन । दलहरू जिम्मेवार हुन सकेका छैनन् । प्राप्त उपलब्धिलाई संस्थागत र रक्षा गर्न गैरजिम्मेवार बनेका छन् । यसले नागरिकमा चर्को वितृष्णा पैदा भएको छ । व्यवस्थाप्रति नै अविश्वास उत्पन्न हुने अवस्था निर्माण भएको छ । तर नेतृत्व पंक्ति भने सत्तास्वार्थमा लिप्त हुँदा मुलुकले निकास पाउन सकिरहेको छैन । निर्वाचनबाट पाँच वर्षे अवधिका लागि जनप्रतिनिधि छानिन्छन् । तिनै जनप्रतिनिधिले सरकार बनाउँछन् । तर कुनै पनि सरकारले आफ्नो पूरा कार्यकाल बिताउन पाएका छैनन् । कार्यकाल नसकिँदै खिचातानी हुने र सरकार फेरबदल भइरहेन गरेका छन् । यो अवस्थाको अन्त्य नहुँदा चरम राजनीतिक अस्थिरता उत्पन्न भएको छ ।

आज हुने निर्वाचनले नयाँ जनादेश दिनेछ । कानुन बनाउने र सरकार चलाउने जिम्मेवारी सुम्पिनेछ । तर यसरी जिम्मेवारी सुम्पिदा कसलाई दिने भन्ने कुरामा नागरिक मत महङ्खवपूर्ण हुन्छ । यतिबेला राजनीतिक दल र उम्मेदवारहरू परीक्षामा छन् । नागरिकले परीक्षा लिँदैछन् । तर सँगसँगै यो नागरिकको पनि परीक्षण हो । कस्तो योजना र एजेन्डा तथा उम्मेदवारलाई छनोट गर्ने भन्ने कुराको निर्णय नागरिकले नै बुद्धिमत्तापूर्ण तरिकाले गर्नुपर्ने हुन्छ ।

प्रकाशित मितिः   ४ मंसिर २०७९, आईतवार ०५:०३