आज चुनावी उत्सव

सुर्खेत: आज प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुँदैछ । संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनेपश्चात्को यो दोस्रो संसदीय चुनाव हो । निर्वाचन आयोगले मतदानपूर्वका सम्पूर्ण तयारी शनिवार नै पूरा भएको जनाएको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन आवश्यक तयारी सकेर निर्वाचन केन्द्रहरूमा खटिएका कर्मचारीहरू मतदाताको पखाईमा छन् । आयोगका अनुसार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान कार्य सञ्चालन हुनेछ । मतदानलगत्तै मतपेटिका ढुवानी हुने र मतगणना सुरु गरिने जनाइएको छ ।

नयाँ संविधान जारी भएपछि २०७४ मा पहिलो पटक प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव भएको थियो । दुई चरणमा सम्पन्न उक्त निर्वाचनपछि मात्रै मुलुक औपचारिकरूपमा संघीय संरचनामा प्रवेश गरेको थियो । यसअघिको संसदीय निर्वाचन २०७४ सालको मंसिर १० र २१ मा गरी दुई चरणमा गरिएको थियो । यसपालि भने देशैभर एकैदिन चुनाव गर्न लागिएको छ । देशभरका एक सय ६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्र र तीन सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा प्रत्यक्ष र समानुपातिकतर्फको चुनाव आजै हुनेछ । पाँच वर्षे कार्यकालका लागि आफ्नो क्षेत्रको प्रतिनिधि चुन्ने निर्वाचन भएपछि मतदाताहरू धमाधम गाउँ फर्किएका छन् । यसपटक मतदाताहरूमा भोट हाल्ने त्यति उत्साह भने नदेखिएको नागरिक समाजका अगुवाहरू बताउँछन् । २०७४ को जस्तो मतदातामा यसपालि चुनावको उत्साह नदेखिएको सुशासनकर्मी खिम रेग्मीले बताए ।

‘पाँच वर्ष अघिको निर्वाचनमा संघीय शासन प्रणालीले ठूलो परिवर्तन ल्याउने मतदाताको अपेक्षा थियो, त्यसैले पनि मतदाता भोट दिन आतुर र उत्साहित थिए,’ उनी भन्छन्, ‘एक कार्यकाल सकियो, अपेक्षाअनुसार काम नभएपछि मतदातामा अहिले आशाभन्दा निराशा धेरै देखिन्छ ।’ पछिल्ला वर्षहरूका सत्ता केन्द्रित संसदीय अभ्यासबाट नागरिक थप असन्तुुष्ट बनेको उनको जिकिर छ ।

संघीयतापछि पनि नागरिकले परिवर्तनको खास अनुभूति गर्न नपाएको भनिए पनि निर्वाचनमा मतदाताको सहभागिता उत्साहजक नै रहने आकलन गरिएको छ । गएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा देशभर ६८.६७ प्रतिशत मतदाताले मतदान गरेकोमा यो पटक ७० प्रतिशतभन्दा बढी मत खस्ने जानकारहरू बताउँछन् । सुर्खेतमा प्रतिनिधिसभाका दुई र प्रदेशसभाका चार वटा निर्वाचन क्षेत्र रहेका छन् । यी निर्वाचन क्षेत्रमा दुई लाख ४३ हजार ६ सय १४ मतदाता छन् । क्षेत्र नं. १ मा एक लाख २० हजार नौ सय ४० र क्षेत्र नं. २ मा एक लाख २२ हजार ६ सय ७४ मतदाता रहेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

सुर्खेतमा पुरुषभन्दा महिला मतदाताको संख्या धेरै रहेको छ । दुई लाख ४३ हजार ६ सय १४ मतदातामध्ये एक लाख २४ हजार आठ सय ७६ मतदाता महिला छन् भने पुरुष मतदाताको संख्या एक लाख १८ हजार सात सय ३८ छ । मतदानका लागि यहाँ एक सय ३९ वटा मतदानस्थल र दुई सय ९४ वटा मतदान केन्द्र तोकिएका छन् । त्यसबाहेक जिल्लामा दुई वटा अस्थायी मतदान केन्द्र पनि छन् । जहाँ कर्मचारी र कैदीबन्दीहरूले समानुपातिकतर्फको भोट हाल्न पाउनेछन् । ती सबै केन्द्रहरूमा मतदानका लागि आवश्यक व्यवस्थापन शनिवार नै सम्पन्न भइसकेको निर्वाचन अधिकृतहरूले जनाएका छन् । सुर्खेत क्षेत्र नं. २ का मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद अर्यालले केन्द्रहरूमा मतदानका लागि आवश्यक तयारी पूरा भएको बताए । उनले सुरक्षा व्यवस्थासमेत मजबुद भएकाले मतदातालाई ढुक्क भएर मतदानमा सहभागी हुन आग्रह गरे । ‘मतदानका लागि तयारी सकिएको छ, मतदान गराउन तयारी अवस्थामा छौँ,’ उनले भने, ‘ढुक्क भएर भोट हाल्न अपिल गर्दछौँ ।’

निर्वाचन केन्द्रहरूमा ज्येष्ठ नागरिक, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई मतदान गर्न सहजताका लागि सोही अनुरूपको व्यवस्थापन मिलाइएको छ । सुर्खेत क्षेत्र नं. २ का मुख्य निर्वाचन अधिकृत अर्यालले वीरेन्द्रनगरमा मात्रै १० वटा अपाङ्गमैत्री मतदान केन्द्रको व्यवस्था गरिएको जनाए । वीरेन्द्रनगरको जन माध्यमिक विद्यालय, श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय, अमरज्योति माध्यमिक विद्यालय, भैरव माध्यमिक विद्यालय, खजुरास्थित सिद्ध बहिरा विद्यालय र इत्राममा रहेको नेपाल पुलिस स्कुल रहेका केन्द्र अपाङ्गमैत्री छन् । त्यस्तै, स्वास्थ्य चौकी भवन कालागाउँ, मंगलगढी प्राथमिक विद्यालय दीपनगर र जनसेवा माध्यमिक विद्यालय घुस्रामा पनि अपाङ्गमैत्री निर्वाचन केन्द्र बनाइएको छ । प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेका अनुसार त्यस्ता मतदान केन्द्रहरूमा मतदान गर्ने तरिका सम्बन्धी संकेत तथा होचो ठाउँमा मत खसाल्ने व्यवस्था र ह्वीलचेयर सहज रूपमा प्रवेश गराउन सकिने व्यवस्थापन मिलाइएको छ ।

निर्वाचन आयोगको विवरणअनुसार कर्णाली प्रदेशभर कूल मतदाता १० लाख आठ हजार चार सय तीन जना छन् । त्यसमध्ये पुरुष मतदाता पाँच लाख १० हजार चार सय २० र महिला मतदाता चार लाख ९७ हजार नौ सय ८० रहेका छन् । कर्णालीमा अन्य मतदाताको संख्या तीन जना रहेको छ । प्रदेशमा नौ सय ३३ मतदानस्थल र एक हजार चार सय तीन वटा मतदान केन्द्र छन् । भौगोलिक विकटता र सुरक्षाका हिसाबले पनि प्रदेशमा ठूलो संख्यामा मतदान केन्द्रहरू अतिसंवेदनशील मानिएका छन् । चुनावको दिन निर्वाचन बहिष्कार समूहको अवरोध हुनसक्ने र दलगत झडपका जोखिम पनि रहेकाले सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ । कर्णालीमा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न केही सुरक्षा चुनौतीहरू भएपनि सोहीअनुसार सुरक्षा व्यवस्था मजबुत पारिएको सुरक्षा अधिकारीहरूले बताएका छन् । कालीकोटमा ७४, सल्यानका ६३, दैलेखका ४८, रुकुम–पश्चिमका २१, सुर्खेतमा २०, डोल्पामा २३ र जाजरकोटमा १८ वटा मतदानस्थल अतिसंवेदनशीलको सूचिमा छन् । प्रदेशमा एकीकृत सुरक्षा प्रणालीअन्तर्गत सामान्य, संवेदनशील र अतिसंवेदनशील मतदानस्थलहरूको वर्गीकरण गरी सुरक्षा व्यवस्थापन मिलाएको छ ।

प्रकाशित मितिः   ४ मंसिर २०७९, आईतवार ०५:०५