चार मतदान केन्द्रको जिम्मा महिलालाई

हुम्ला: प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि हुम्लामा चार वटा मतदान केन्द्रको जिम्मा महिलालाई दिइएको छ । जिल्लामा ५८ मतदानस्थल र ५९ मतदान केन्द्र तोकिएका छन् । तीमध्ये चार वटा केन्द्रको मतदान अधिकृत महिला कर्मचारी खटिएका हुन् । सिमकोट गाउँपालिका–५ मा रहेको भीमसेन आधारभूत विद्यालयमा सुधा सापकोटा, ६ मा रहेको कालाशिल्ता आधारभूत विद्यालयमा राजन चन्द, खार्पुनाथ गाउँपालिका–३ मा रहेको हुम्ला मावि रायामा पार्वती रोकाया र सर्केगाड गाउँपालिका–३ मा रहेको देवकोटा आधारभूत विद्यालयमा सरिता बोहरालाई मतदान अधिकृतको जिम्मेवारी दिइएको हो । उनीहरूलाई मतदान अधिकृतको जिम्मा दिइएको निर्वाचन कार्यालय हुम्लाका निमित्त अधिकारी श्यामबहादुर रानाले बताए ।

त्यस्तै, आठ जना महिला कर्मचारीले सहायक मतदान अधिकृतको जिम्मेवारी सम्हालेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय हुम्लाका अनुसार महिलालाई जिल्लामा यसपटकको चुनावमा प्राथमिकतामा राखेर निर्वाचनमा खटाइएको छ ।

गत वैशाखमा भएको स्थानीय चुनावमा भन्दा यसपटकको निर्वाचनमा महिला कर्मचारी बढी खटाइएको छ । स्थानीय चुनावमा जिल्लामा ४४ महिलामात्र मतदान स्थलमा खटिएका थिए । यसपटकको चुनावमा ७६ महिलालाई खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्लाका प्रत्येक मतदान केन्द्रमा एक वा दुई जना महिला खटाइएको छ । यहाँ निर्वाचनका लागि साढे चार सय कर्मचारी खटिएका छन् ।

प्रकाशित मितिः   ४ मंसिर २०७९, आईतवार ०५:०२