अनुदानको सदुपयोग

व्यावसायिक तरकारी खेतिप्रति कृषकहरूको आकर्षण बढ्दो छ । परम्परागत खेती गर्दै आएका किसानहरू पछिल्लो समय त्यसलाई व्यवस्थित र व्यावसायिक बनाउँदैछन् । यसले एकातर्फ तरकारी उत्पादनमा वृद्धि भएको छ भने अर्कोतर्फ कृषकहरू स्वरोजगार भएका छन् । आम्दानीको स्रोत बढेको छ । रोजगारीका अवसर सिर्जना भएका छन् । गाउँघरमै रोजगारी हुँदा कामको खोजिमा विदेशीनुपर्ने बाध्यता घट्दै गएको छ । अर्थात् व्यावसायिक तरकारी खेतिको चौतर्फी लाभ देखिन्छ । तर यसलाई अझै व्यवस्थित गर्न भने सकेको देखिँदैन । सबै कृषकहरू व्यावसायिक बन्न सकेका छैनन् । राज्यले कृषि प्रवद्र्धनको नीति लिए पनि त्यसके कार्यान्वयन फितलो छ । यद्यपि, पछिल्लो केही वर्षयता सरकारी अनुदानबाटै लाभ लिने कृषकहरू बढ्दै गएको पाइएको छ ।

अहिले मुलुकमा तीन तहका सरकार छन् । तीन तहका सरकारले कृषक लक्षित अनुदानका कार्यक्रम सञ्चालन गरेका छन् । गाउँपालिका, प्रदेश सरकार र संघीय सरकारको अनुदानको लाभ लिएर मनग्य आम्दानी गर्ने कृषक बढेका छन् । कर्णाली प्रदेश सरकारले स्थानीय तहसँगको सहकार्यमा ‘एक स्थानीय तह एक कृषि बाली पकेट कार्यक्रम’ सञ्चालन गरेको छ । उक्त कार्यक्रम अन्तर्गत प्रदेश सरकारको ७० प्रतिशत, गाउँ पालिका र कृषकको १५÷१५ प्रतिशत लगानी गरिँदै आएको छ । यसबाट थुप्रै कृषक लाभान्वित भएका छन् । अनुदान प्राप्त गरेका प्रत्येक कृषकले एक–एक वटा पक्की टनेल निर्माण गरेका छन् । सरकारको अनुदानले तरकारी खेती गर्न थप प्रोत्साहन मिलेको छ । विगतका वर्षहरूमा निर्वाहमुखी खेती गर्ने कृषकहरू अनुदान पाएपछि व्यावसायिक खेतिमा संलग्न भएर लाखौं आम्दानी गरिरहेका छन् ।

प्रदेश सरकारले सुरुको वर्ष अर्थात् आर्थिक वर्ष २०७७/०७८ मा परीक्षण कार्यक्रमका रूपमा ‘एक स्थानीय तह एक कृषि बाली उत्पादन पकेट कार्यक्रम’ प्रदेशका १० वटा पालिकामा सुरु गरेको थियो । उक्त अनुदान कार्यक्रमलाई यो वर्ष पनि निरन्तरता दिइएको छ । गएका दुई आर्थिक वर्षमा कार्यक्रम निकै प्रभावकारी भएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको दाबी छ । अनुदान कार्यक्रमको प्रभाव राम्रो देखिएकाले निरन्तरता दिइएको हो । गत वर्ष ७९ वटै पालिकामा लागू गरिएको कार्यक्रम ५८ वटा पालिकाले मात्रै कार्यान्वयन गरेको मन्त्रालयको तथ्याङ्क छ । २१ वटा पालिकाले कार्यक्रम सम्झौता नै नगरेका हुन् । सरकारले दिने अनुदानलाई आम कृषकसम्म पु¥याउन र त्यसको सदुपयोग भएको सुनिश्चितता गर्न पनि ध्यान दिन जरुरी छ ।

प्रकाशित मितिः   २ मंसिर २०७९, शुक्रबार ०५:०३