मतदान केन्द्रतिर हिँडे कर्मचारी

सुर्खेत: यही मंसिर ४ गते ‐आइतवार) हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको तयारी पूरा भएको छ । निर्वाचनमा खटाइएका कर्मचारी निर्वाचन सामग्रीसहित मतदान केन्द्रतर्फ लागेका छन् । प्रदेश निर्वाचन कार्यालयका अनुसार सुर्खेतका सबै मतदान केन्द्र र स्थलहरूका लागि कर्मचारीहरू खटिसकेका छन् ।
प्रतिनिधिसभाका दुई र प्रदेशसभाका चार वटा निर्वाचन क्षेत्र रहेको सुर्खेतमा एक सय ३९ वटा मतदान स्थल तथा दुई सय ९३ वटा मतदान केन्द्र तोकिएका छन् । त्यसका साथै जिल्लामा दुई वटा अस्थायी मतदान केन्द्र पनि छन् । बिहीवार ती सबैमा कर्मचारी र निर्वाचन सामग्री पठाइसकिएको छ । प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले सबै निर्वाचन क्षेत्रमा कर्मचारी र सामग्री गइसकेको जनाए । उनका अनुसार सुर्खेतमा निर्वाचनका लागि दुई हजार दुई सय ५० कर्मचारी खटिएका छन् ।

कर्णाली प्रदेशका दुुर्गम ठाउँमा बुधवार नै मतदान अधिकृत सामग्रीसहित पुगिसकेका छन् । अन्य ठाउँमा पनि आवश्यक सामग्री लिएर कर्मचारी सम्बन्धित मतदान स्थलमा बिहीवार साँझसम्म खटिसक्ने बताइएको छ । कर्णालीका केही हिमाली क्षेत्रमा हिमपातले निर्वाचन सामग्री पु¥याउन समस्या भए पनि हुम्लाको लिमीमा हेलिकोप्टरमार्फत कर्मचारी र मतपत्र पु¥याइएको छ । माथिल्लो डोल्पामा पनि बिहीवार साँझ वा शुक्रवारसम्म सामग्री पुगिसक्ने बताएको छ । सुर्खेतमा दुई लाख ४३ हजार ६ सय ९४ मतदाता रहेका छन् । त्यसमध्ये सुर्खेत क्षेत्र नं. १ मा एक लाख २० हजार नौ सय ४० र क्षेत्र नं. २ मा एक लाख २२ हजार ६ सय ७४ मतदाता छन् । वडातमा सञ्चालित मतदाता शिक्षा कार्यक्रम पनि बिहीवारदेखि सम्पन्न भएको छ । सुर्खेतका रहेका कर्मचारीका लागि अस्थायी मतदान केन्द्र जिल्ला समन्वय समितिको हलमा तोकिएको छ ।

प्रदेश निर्वाचन कार्यालयका अनुसार उक्त केन्द्रका लागि तीन हजार दुई सय २८ जना कर्मचारी मतदाता रहेका छन् । कारागारमा कैदीका लागि पनि कारागारमै अस्थायी मतदान केन्द्र तोकिएको छ । कारागारमा एक सय एक जना मतदाता छन् । कर्मचारी र कैदीबन्दीले समानुपातिकतर्फको भोट मात्रै दिन पाउने व्यवस्था छ ।

प्रकाशित मितिः   २ मंसिर २०७९, शुक्रबार ०५:०१