हचुवामा घोषणा

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका उम्मेदवारहरूले आफ्ना प्रतिबद्धता र घोषणा–पत्रमा विभिन्न क्षेत्रलाई समेटेका छन् । निर्वाचित भएपछि गर्ने कामका प्राथमिकता तोकेका छन् । यस्ता प्रतिबद्धतामा स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिइएको छ । राजनीतिक दल तथा उम्मेदवारहरूले आफ्ना घोषणा र प्रतिबद्धता–पत्र सार्वजनिक गर्दै स्वास्थ्य क्षेत्रको पूर्वाधार विकास, स्तरोन्नति, जनशक्ति व्यवस्थापन तथा उपकरणको प्रबन्ध मिलाइने दाबी गरेका हुन् । मतदाता रिझाउन धेरैजसो भौतिक पूर्वाधारका एजेन्डालाई प्रतिबद्धतामा राखेका उम्मेदवारले स्वास्थ्य संरचनाको विकासमा पनि उत्तिकै जोड दिएका छन् । अहिले राजनीतिक दल तथा उम्मेदवारहरू घरदैलो अभियान, आमसभालगायतका चुनावी प्रचारप्रसारमा तिनै एजेन्डाहरू लिएर मत मागिरहेका छन् । कर्णाली प्रदेशका ग्रामीण भेगका नागरिकले आधारभूत स्वास्थ्य सुविधासमेत पाउन नसकिरहेको बेला उम्मेदवारले भने महत्वाकांक्षी योजनालाई प्रतिबद्धता–पत्रमा बढी समेटेको देखिएको छ । धेरैजसो उम्मेदवारका स्वास्थ्यसम्बधी प्रतिबद्धता हेर्दा चुनावी नारामै सीमित हुने देखिएको छ । आधारभूत सेवा नै नपुगेका ठाउँमा ५० शै®याका अस्पताल सञ्चालन गर्नेदेखि मेडिकल कलेज स्थापनासम्म पहल गर्ने उम्मेदवारका चुनावी प्रतिबद्धतामा उल्लेख छ ।

रुकुम–पश्चिमबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका माओवादी केन्द्रका जनार्दन शर्माले आफ्नो प्रतिबद्धतामा गाउँघर क्लिनिकदेखि पालिकास्तरमा ठूलो क्षमताका अस्पताल स्थापना गरिने दाबी गरेका छन् । मेडिकल कलेज स्थापना तथा जिल्लामा गुणस्तरीय स्वास्थ्य सेवाका सबै प्रबन्ध मिलाइने उनको चुनावी प्रतिबद्धता छ । सुर्खेत क्षेत्र नं. २ अन्तर्गत प्रदेशसभा ‘क’ मा उम्मेदवार बनेका नेकपा (एमाले) का स्थायी कमिटी सदस्य यामलाल कँडेलले हालको प्रदेश अस्पताललाई शिक्षण अस्पतालका रूपमा विकास गर्ने प्रतिबद्धता मतदाता समक्ष गरेका छन् । उनको चुनावी प्रतिबद्धता–पत्रमा सुर्खेत मेडिकल कलेजको पूर्वाधार निर्माण समयमै सम्पन्न गर्न पहल गर्ने, सबै प्रकारका स्वास्थ्य संस्थालाई जनशक्ति, औषधि, उपकरण तथा भौतिक पूर्वाधारमा सुविधासम्पन्न बनाउने उल्लेख छ । राजनीतिक दलका मात्र नभइ स्वतन्त्र उम्मेदवारी दिएकाको प्राथमिकतामा पनि स्वास्थ्य परेको छ । मतदातालाई आकर्षित गर्न उनीहरूले पनि स्वास्थ्य क्षेत्रका धेरै बुँदा समेटर आफ्ना चुनावी प्रतिबद्धता सार्वजनिक गरेका छन् ।

निर्वाचनका बेला दल तथा तिनका उम्मेदवारले महत्वाकांक्षी एजेन्डा ल्याए पनि जिम्मेवारीमा पुग्दा कार्यान्वयन नहुने गरेको मतदाताहरूको गुनासो छ । प्रदेशमा स्वास्थ्य संरचना तथा जनशक्ति व्यवस्थापनका सरकारी कार्यक्रमसमेत प्रभावकारी बन्न सकेका छैनन् । यहाँको स्वास्थ्य सेवा सुधारोन्मुख भए पनि भौगोलिक विकटता, पूर्वाधार तथा जनशक्तिको अभावका कारण विकटका बासिन्दालाई उपचारका लागि सकस हुने गरेको छ । चुनावी घोषणा र प्रतिबद्धतामा अन्य क्षेत्रजस्तै स्वास्थ्यका सवाल समेट्ने गरि अधिकांश एजेन्डा व्यावहारिक देखिएका छैनन् । कर्णालीको आवश्यकता र अवस्थाको ख्याल नगरी लोकप्रिय बन्ने होडमा उम्मेदवारहरूले स्वास्थ्य क्षेत्रलाई चुनावी नारा बनाएको देखिन्छ ।

प्रकाशित मितिः   ३० कार्तिक २०७९, बुधबार ०५:०३