‘गठबन्धन लामो समय टिक्छ’
सुर्खेत: प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको सत्तारुढ गठबन्धन लामो समयसम्म टिक्ने बताएका छन् । मंगलवार सुर्खेतको मेहलकुनामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले गठबन्धन १५ वर्षसम्म टिक्ने दाबी गरेका हुन् । देउवाले भने, ‘यो गठबन्धन लामो समयसम्म जानेवाला छ । प्रचण्डजीले भने जस्तै १० देखि १५ वर्षसम्म गठबन्धन रहन्छ ।’ आफूहरूले संसद् बीचमै विघटन नगरी पूर्णकार्यकाल सञ्चालन गर्नेसमेत उनले जनाए । मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि पनि सत्तारुढ गठबन्धनले तालमेल गरेको छ । प्रधानमन्त्री देउवाले संविधानको रक्षा र मुलुकको समृद्धिका लागि चुनावी तालमेल गरिएको जिकिर गरे ।
त्यस्तै, सोही चुनावी सभालाई सम्बोधन गर्दै गठबन्धन दलको अर्को घटक नेकपा ‐माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि गठबन्धन लामो समय जाने र त्यसले देशको विकास र समृद्धि हुने दाबी गरे । उनले केपी शर्मा ओली सरकारले दुईतिहाइ बहुमत हुँदाहुँदै संविधान मिचेर संसद् भंग गरेको उल्लेख गर्दै संविधानको रक्षाका लागि गठबन्धन गर्नुपरेको जनाए । पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले भने, ‘संविधान मिचेर संसद् विघटन गरेपछि संविधानको रक्षाका लागि गठबन्धन बनेको हो ।’ उनले सात दलको तर्फबाट गिरिजा कोइरालासँग गरिएको शान्ति सम्झौताको निरन्तरता समेत अहिलेको गठबन्धन भएको बताए । ‘शान्ति, विकास र समृद्धिका लागि गरिएको शान्ति सम्झौताको निरन्तरता अहिलेको गठबन्धन हो, यो लामो समयसम्म टिक्छ अनि मात्रै मुलुक नयाँ युगमा जानेछ,’ उनले भने ।
प्रकाशित मितिः ३० कार्तिक २०७९, बुधबार ०५:०१
साझा बिसौनी ।