चिठ्ठी

सम्बोधन तिमिलाई तर आफैलाई !

मितिः जहिले तिमि पढ्छौ, तहिले

प्रिय,

तिमीले पठाएको मेल मैले प्राप्त गरँे । मेलमा तिमीले आफू साहित्य क्षेत्रबाट टाढा जान लागेको हुनाले आजसम्म आफूले जेजति रचेको थिए ति सबै तपाईंको जिम्मामा छोडेको छु भनेर रचनाको संगालो अट्याच गरेर पठाएका छौँ । तिमीले पठाएको मेल र सँगै अट्याच गरेर पठाएको रचनाको संगालो पढिसकेपछि म दहकसमा छु ।

दहकसमा यसकारणले छु कि जुन तिमीलाई म नजिकबाट चिन्दथे, जुन तिमीलाई म टाढैबाट पनि खुट्टाउन सक्दथे । त्यो तिमी, मेलमा अन्तिमपटक अलिकति झल्किएर, अलिकति पोखिएर, अलिकति विम्बित भएर अर्कै तिमीमा रूपान्तरित भइसकेका छौँ । रूपान्तरित भइसकेको यो अर्कै तिमीले मेरा कुराहरू कत्तिको मनन गर्छौ मलाई थाहा छैन । एकअर्थमा यो जोखिम पनि हो । रूपान्तरित भइसकेको तिमी र रूपान्तरित हुनु पहिलेको तिमी बौरिएर एकअपासमा समरको स्थिति आइदिन सक्ने जोखिम । तथापि जोखिम मोलेर मलाई लागेका र मैले तिमीलाई भन्नै पर्ने केही कुराहरू भन्दै जाने अठोट लिएको छु । क्रमबद्ध नहुन सक्छन् । लय टुट्न पनि सक्छ कतैकतै । कुराहरू अल्झिएलान् । बाझिएलान् । तर तिमीले पढिदिए भइहाल्छ ।

मलाई के लागिरहेको छ भने तिमीले मलाई केवल आफ्ना रचना मात्र पठाएका होइनौ । केबल रचना मात्र नपठाएर तिमीले आफ्नो अनुपस्थिति पनि पठाएका हौ । आफ्mूले लिन लागिरहेको समाधि पनि पठाएका हौ । केवल रचना मात्र नपठाएर तिमीले आफ्नो अस्तु पनि पठाएका हौ । त्यै अस्तुमा कैद गरेर तिमिले आफू समाधि हुन लागेको शून्यता पनि पठाएका हौ । तर तिमीले रचनाका साथमा यी जम्मै कुराहरू पठाएका हौ वा होइनौ ? मलाई थाहा हुने कुरा भएन ।

यदि तिमीले साच्चिकै यी कुराहरू पनि पठाएका हौ भने म केही भन्न सान्दर्भिक ठान्दछु । त्यो के भने अनुपस्थिति, समाधि, अस्तु र शून्यतासहित तिमीले आफ्ना रचनालाई आफूबाट टाढा राख्न खोज्नु प्रकृतिबाट मृत्यु र जन्मलाई अलग राख्न खोज्नु जस्तै हो । बाटोबाट यात्री र गन्तव्यलाई अलग राख्न खोज्नु जस्तै हो । प्रतिक्षालयबाट प्रतिक्षा र प्रेमिलाई अलग राख्न खोज्नु जस्तै हो ।

यहाँनेर सोच त जन्ममृत्युकै चक्र र नियमिततामा चलिरहेको प्रकृतिबाट जन्म र मृत्यु दुवैलाई एकसाथ अलग राख्दा प्रकृति रहिरहला अथवा रहिरहन सम्भव छ ? बाटोबाट यात्री र गन्तव्य दुवैलाई एकसाथ अलग राख्दा बाटो त रहला तर कति निरस, निरव र निम्छरो रहला ? यस्तै प्रतिक्षालयबाट प्रतिक्षा र प्रेमी दुवैलाई एकसाथ अलग राख्दा प्रतिक्षालय जीर्ण र विद्रुप हुँदै गएर अन्ततः त्यसको अस्तित्व नै सदाको निमित्त अलप भएर कसो नजाला र ?

त्यसैले तिमीले रचनालाई अलग राखेर जिउन खोज्नु सही छ । यो प्राकृतिक पनि छ । किनभने यो अनिवार्य छैन कि हरेक मानिस आफ्नो रचनासहित जिओस् । जस्तैः आमा नौ महिनापश्चात् आफ्नो रचनालाई परित्यक्त गरेर जीवनभर बाच्दछे । हो यहाँनेर सोचविचार गर त, के आमाले रचनालाई परित्यक्त गर्दा अनुपस्थिति, समाधि, अस्तु र शून्यता पनि परित्यक्त गर्दछे ? आफ्नी आमालाई सम्झ र आमाबाट परित्यक्त आफूलाई सम्झ । फेरि आफूलाई सम्झ र आफूबाट भर्खरै परित्यत्त रचनाको संगालोलाई सम्झ ।

अर्को कुरा मेलमा तिमीले बडो विश्वासका साथ भनेका छौ यो रचनाको संगालो मैले तपाईंलाई मात्र पठाएको छु । यो वाक्यांशको सरल अर्थमा तिम्रा रचनाको संग्रालय म भएको छु । र संरक्षित गर्नुपर्ने अभिभारा मलाई आइपरेको छ । अर्थात् म संग्रालयको पाले भएको छु ।

ति रचना– जो तिमीले बडो मेहेनतले फक्राएका सुवासयुक्त फूल हुनसक्लान !
तिखिला काँडा पनि त हुनसक्लान !

ति रचना– जो तिमीले धेरै साधनापश्चात् बालेको झलमल्ल उज्यालो हुनसक्लान !
निष्पट्ट अँध्यारो पनि त हुनसक्लान !

तर तिम्रो रचनाको संग्रालय भएपछि अथवा संग्रालयको पाले भएपछि यदि ति रचना फूल हुन् भने– के म सकुला फक्राइरहन ? यदि ति रचना काँडा हुन् भने, के म सकुला तिखारी रहन ? यदि ति रचना उज्यालो हुन् भने– के म सर्वदा बालिरहन सकुला ? यदि ति रचना अँध्यारो हुन् भने– के म सर्वदा निभाइरहन सकुलाँ ? मष्तिष्कमा प्रश्नहरू आइरहेका छन् । मनमा प्रश्नहरू आइरहेका छन् । मुटुमा प्रश्नहरू आइरहेका छन् ।

ठीक छ म कसै गरेर यी सबैचिज फत्ते गर्न सक्षम हुला पनि । तर कुनै बिचको दिनमा तिमी बौरिएर संग्रालयको गेटमा ठिङ्ग उभिदियौ भने मैले के गर्नु ? यसबारेमा तिमीले नै केही थप भनिदिएको भए धेरै सजिलो हुनेथियो । मेलमा यसबारेमा केही लेख्न त लेखेका छौ । तर अस्पष्ट । जस्तो तिमीले यदि कुनै दिन म फेरि साहित्यमा वा लेखनीमा फर्किए भने मलाई यो संगालो पठाइदिनु होला नभए आफैसँग राख्नुहोला भनेर भनेका छौ । मेरो विचारमा साहित्यमा वा लेखनीमा फर्किने जुन कुरा तिमीले गरेका छौ यो सी.ए सकिसके पछिको कुरा हो । नत्र त तिमीले यसरी मलाई रचनाको संगालो पठाउन के नै आवश्यक र औचित्य थियो हैन र ? तर सी.ए पुरा नगर्दै बिचमा तिमी बौरिन पनि त सक्छौ नि । किनभने अधिकांश मानिसहरू बिचमै बौरिने गर्छन् । मेरो चिन्ता र चिन्तन यहिनेर हो ।

उसो त तिमी आफैले पनि मेलमा प्रष्टसँग भनेका छौ कि यो संगालो मेरो रगत हो । विर्य हो । विगत हो । सिद्दत हो । सपना हो । अतः यी सबैको तात्पर्य यो संगालो तिमी स्वयम् आफै हौ भन्ने होइन र ? यदि हो भने आफ्नै रगतबाट कति दिन भाग्छौ ? आफ्नै विर्यबाट कति दिन भाग्छौ ? आफ्नै विगतबाट कति दिन भाग्छौ ? आफ्नै सिद्दतबाट कति दिन भाग्छौ ? आफ्नै सपनाबाट कति दिन भाग्छौ ? उसो त भाग्दाभाग्दै फेरि उही ठाँउमा आइपुगिने सत्यबाट तिमी परिचित नै छौ । तब किन भागदौड ? फेरि भागदौडमा केवल हतास हुन्छ । अत्यास हुन्छ । अचेत हुन्छ । अरुलाई पछार्ने कसरत हुन्छ । के तिमीले यस्तो भागदौड गर्न चाहिरहेका हौ ? हौ भने तिमीले साहित्य छोडे र अबदेखि म पूरापूरा सी.ए मा केन्द्रित भए भन्नु यथार्थमा मिथ्या ठहरिने छ ।

फेरि तिमीलाई त धेरै समयसम्म म मिथ्यामा रुमलिरहेको छु भन्नेसम्म चाल हुने छैन । किनभने आजसम्म करोडौ मानिसहरूले तिमीले जस्तै फेरि केही वर्षपछि फर्कने संकल्प गरेर अर्को क्षेत्रमा प्रवेश गरेको लामो इतिहास नै छ । ठ्याक्कै यसको कति लामो इतिहास छ ? मैले अध्ययन गरिसकेको छैन । सम्भवतः मलाई लाग्छ यो मानव सभ्याताको प्रारम्भदेखि नै जब्बर रूपमा अगि बढ्दै आएको हुनुपर्दछ । यो सबैभन्दा गम्भिर तर सबैतिरबाट बेवास्तामा परेको कुरा हो ।

अब यो केबल कुरो मात्र रहेन । यो विश्वकै निम्ति एउटा जटिल प्रश्न साबित भइसकेको छ । प्रश्नभन्दा पनि जटिल समस्या साबित भइसकेको छ । मलाई त झन केसम्म लाग्छ भने यो जटिल समस्या भन्दा पनि अनिवार्य सर्त भइसकेको छ । यदि यो सर्त अनिवार्य रूपमा लागू नगर्ने हो भने संसारलाई ध्वस्त हुनबाट कुनै पनि वैज्ञानिक उपकरणले बचाउन सक्दैन । अह, कुनै पनि ईश्वरीय जुक्तिबाट संसारलाई ध्वस्त हुनबाट बचाउन सकिदैन ।

यस्तो अनिवार्य सर्तलाई केही वर्ष थाति राखेर अर्को क्षेत्रमा प्रवेश गरेको तिमीले बिचमै बौरिएर संग्रालयको ढोका अगाडि पुग्दा मैले के गर्नुपर्ने हो ? भन्ने प्रश्नको के कति तयारी गरिरहेका छौ । मलाई कसरी पो थाहा होला र ! तर मेरो विचारमा तिमीले यस प्रश्नको राम्रै तयारी गर्नुपर्छ । किनभने यदि तिमी सी.ए अध्ययनको बिचमै बौरिएर संग्रालयको ढोका अगाडि ठिङ्ग उभिदिहाल्यौ भने पनि तिमीलाई निर्णय लिन उत्ति साह्रो सकस नहोस् । यदि तिमी बौरिएनौ भने त्यो त अम्मल भइ नै हाल्यो ।

भन्नु पर्ने कुराहरू धेरै भएता पनि समयक्रममा भन्दै जानु उचित होला भन्ने ठानेर यस पत्रमा यति नै भन्ने चेष्टा गरेँ । फेरि कुनै समयक्रममा भन्नु पर्ने बोध र बाध्यता भयो भने अर्को पत्र लेख्ने नै छु ।

मैले कस्तो भन्न सकेँ ? त्यो तिमीले मनन् गर्ने कुरा न हो । तिमीले मनन् गरेको कुरा म कँहा पक्कै पनि आउने नै छ । यो आशाको साथमा म यो पत्रको बिट मार्न चाहन्छु । अर्थात् यो पत्रको मृत घोषणा गरिदिन चाहन्छु ।

उही
विज्ञान राज

प्रकाशित मितिः   २६ कार्तिक २०७९, शनिबार ०७:२४