कथा

निसानी

‘नानी’ शब्द मलाई असाध्यै प्रिय लाग्छ, किन कि मैले छोरीलाई यही नामले बोलाउँछु । कामबाट बेलुका म घर पुग्दा नानी थिइन् । कलेज पढ्ने आफ्ना सँगी–सहेलीका घरतिर त गइहोली भन्ने अड्कल काटेर दलिनमा घुसारी लुकाइ राखेको साँचो झिकेर दैलो खोलेँ ।

प्रायः बिहानको खाना मैले पकाउँछु, खाएर काममा जान्छु । छोरी कलेजबाट आउँछे, खाएर भाँडा माझ्छे । बेलुका नानीले पकाउँछे, बाबु–छोरीले सँगै खान्छौँ । स्कुल पढ्ने बेलासम्म बाबु–छोरीले एउटै थालमा खान्थ्यौँ, कलेज पढ्न थालेपछि दुई वटा थाल भए ।

फूलगोभी किनी ल्याएको थिएँ, आलुमा फूलगोभी नानीलाई असाध्यै मीठो लाग्छ । पछिलाई सजिलो पर्ला भनि नानी आउञ्जेल तरकारी काटेर ठिक्क पारेँ । आफूलाई भोकले पनि सताइरहेको थियो, काम गर्ने ठाउँमा खाजा खाने मौका पनि परेन । मौका परेन किन भन्ने, बरु खाइएन भनौँ । एउटा समोसाको भाउ बढाएर पाँच रूपैयाँ पो भन्न थाले । यता आफ्नो मदजुरी पनि बढेको भए सापोनापो मिल्न जान्थ्यो । समोसमा पैसा खर्च गर्दा छोरीको पढाइ कमजोर हुन्छ कि भन्ने लाग्छ । मलाई छोरीको मजबुत भविष्य चाहिएको छ त्यसैले भोकसँग पनि लडिरहन मन लाग्छ ।

बेलुकी खाना खाइसकेपछिको फुर्सदमा बाबुछोरीको लामै चल्छ सुखम्–दुखम्, अलौकिक आनन्द लाग्छ छोरीसँग बात मार्न । नानीले प्रगतिका कुरा गर्थी मैले जीवन भोगाइ सुनाउँथे । ऊ ज्ञान र सिद्धान्तका कुरा गर्थी म समाज र व्यवहारको । कलेज पढ्ने छोरी बुद्धिमान छ भन्ने गौरवले मलाई ढपक्कै ढाकेको थियो । एकचोटी मातातीर्थ औंसी परेको दिन थियो, साँझमा नानीले आफ्नी आमाको रूपरंग र बानी व्यहोराका बारेमा फेरी प्रसंग उठाई ।

‘बा ! आमाको नागरिकता हुँदो हो नि, नागरिकतामा हुन्छ नि फोटो त ।’

‘नागरिकता बनाएको त हो तर पहिरो जाँदा पुरियो सबै ।’

‘कठै ! एउटा फोटो खिच्देको भए कति हेर्न हुन्थ्यो फ्रेममा हालेर राख्न हुन्थ्यो ।’

‘सदरमुकाम जानपथ्र्यो फोटा खिच्न । हप्ता–दस दिनपछि फेरी जानपथ्र्यो फोटा लिन । अहिले जस्तो सुविधा कहाँ थियो र उतिबेला ।’

‘एउटा फोटो भैदेको भए आमाको निसानी सम्झना आउँदा हेर्न त हुन्थ्यो नि !’

‘तिमीले ऐना हेरेकी छैनौ र नानी ?’

‘ऐना ? ऐना त हेर्छु नि सधँै ।’

‘तिम्रो आँखा, नाक र चिउँडो दुरुस्तै तिम्री आमाको छ ।’

‘निधार र गाला नि ?’

‘त्यति त बातिरको पनि भाग चाहिएला नि ।’

‘ई बरै ! आमा पनि भैदेको भए कति रमाईलो हुँदो हो हाम्रो संसार ।’

‘बा पनि नभैदेको भए तिमीलाई बाँच्न त अवश्य पर्दो हो नि छोरी, जन्म लिएपछि ।’

नानीले मलाई हेरिरही, हेर्दाहेर्दै उसको आँखामा भल चल्यो । मलाई ग्वाम्म अंगालो हालेर रुँदै भनि, ‘बा अब यस्तो कहिल्यै नभन्नुहोला है ।’

‘आमा नभए पनि तिम्रो लागि म छु नि त छोरी, पीर नगर न । तिमी नै हौ बा–आमाको निसानी’ मैले पनि नानीलाई अंगालोमा कसेँ । यसरी बाबुछोरीले अंगालोमा पनि साटेका छौँ केही दुःखहरू ।

म जस्तै मासिक तलब खाने एउटा मिस्त्रीलाई फर्निचरको साहुले कामबाट निकालीदिए । उसले लामो हात गरेको थाहा पाएछन् साहुले । मलाई पनि कुनै दिन साहुले यदि कामबाट यसरी नै निकालिदिए भने विजोग हुन्छ छोरीको पढाइ बर्बाद हुन्छ । मनमा पस्ने यस्तो डर र छोरीको मायाले मलाई इमान्दारी सिकाउँदै लग्यो । पेटका लागि असहायहरू मन्दिर छेउ बसेका छन्, सडकमा भीख मागेका छन् । मेरो अहोभाग्य मलाई त्यसरी माग्न परेन । एउटा खुट्टा कमजोर भए पनि पाखुरा बजाएर आर्जन गरिएको छ । तिनीहरूका दाँजामा आफू साँच्चै भाग्यमानी हो कि भन्ने लाग्छ । त्यसरी त रहेछ जिन्दगीमा चित्त बुझाउनु पर्ने । खुट्टाले हिँड्न अलि गाह्रो हुन्छ, बैसाखी टेक्न पनि संकोच लाग्छ । म जस्ताका लागि तीन पांग्राले सुरुरु चल्ने खालको मोटरसाइकल पनि हुँदोरहेछ । चढ्ने औकात त कहाँ पाउनु, तर हेरिरहन मन लाग्छ । मेरो औकात हेरिरहने र कल्पनासँग घुटुक्क थुक निल्ने मात्र त हो । दिन फर्किए कहिल्यै भने सुखभोग पनि त आउला भनि रोपेको छु विश्वास छोरीको भविष्यमा ।

संसारका सबै बाबु आमालाई अवश्य पनि आफ्ना प्राण प्यारा सन्तानकको अगाध माया लाग्छ । तर छोरीलाई मैले जस्तै यसरी नै माया गर्ने बाबु दुनियाँमा अर्को कोही छैन कि भने झैँ पनि लाग्छ, किनकी मैले त छोरीको खुसीमा जीवन ओछ्याएको छु ।

नानी आउन ढिलो गरेपछि मैले बसालेको भात तिहुन पनि पाक्यो, अझैं आइन । आँगनबाट डाँको लगाएर बोलाउनु भन्दा सरिताको घरै जान उचित ठानेँ । ‘दुर्गालाई आज मैले देखिन बरु गोमासँग पो छिन् कि !’ सरिताले त्यसो भनेपछि किन किन मेरो मनमा चिसो पस्यो । त्यति टाढा गोमाकोमा किन जान परेको होला । गए पनि समयमा आउन पथ्र्यो । कि कतै बाधा विघ्न आपत विपत पो प¥यो र ! ओहो मनमा कति चाँडै हजार शंका उपशंका पसेर हैरान पारिदिन्छन् । हातगोडा पनि त्यसै लगलग काम्न थाले । गोमाका घर जानका लागि टर्च लिन हतारमा फेरी घर फर्किएँ । टर्च खोज्न नानीको ओछ्यानमा गएँ । बिजुलीको बटन थिच्दा उज्यालो भयो तब देखेँ, फ्रेम हाली भित्तामा टाँगेको उसको फोटो ओछ्यानमा थियो । दोबरी पट्याएको कागजको पानालाई फोटोले च्यापेको थियो । उठाइ हेर्दा चिठ्ठी पो रहेछ ।

श्रद्धय जन्मदाता !

आज म हजुरलाई नसोधेर नरेन्द्र शर्माको साथमा आएँ । मर्यादा नाघेर नसोधेकी होइन, आँट नपुगेर नसोधेकी । नरेन्द्र कलेजमा मसँगै पढ्ने साथी हुनुहुन्छ, मैले आमाको माया गुमाएजस्तै उहाँले पनि पिताको छाया गुमाउनु भएको छ । त्यो भावनाले हामीलाई नजिक ल्यायो । नरेन्द्रले मेरा पितालाई अत्यन्त आदर गर्नुहुन्छ । मलाई मेरा पिताको कदर गर्ने मान्छे जाती लाग्छ, त्यसकारण दिल बस्न गयो । पिताको सेनामा पहिल्यै देहान्त भएको रहेछ, जेठो सन्तान भएको हुँदा आमा र मामाहरूले अब तुरुन्तै बिहे गरिदिने सुर गर्नु भएको रहेछ । नरेन्द्रले मलाई प्रस्ताव गर्नुभयो मैले नकार्न सकिन र बासँग पनि सोध्नुहोला भने । तर उहाँ पनि मजस्तै कमजोर हुनुभयो, आँट गर्न सक्नुभएन । छोरी भएर जन्मेको कारणले यो गल्ती गरेँ बा मलाई माफ गर्नुहोला ।

घर बजार नजिकै पल्लो चोकमा छ । यो परिवेश मेरो लागि र मेरा पिताको लागि प्रतिकूल होइन भन्ने मानेकी छु । मलाई बैवाहिक परिस्थितीले बाको नजरबाट ओझेल पार्छ कि भन्ने डरले सधैँ सताउँथ्यो । त्यो डर मनबाट निस्केर गएको छ । मैले एक वचन सोध्न सकिनँ, मेरो यो निर्णयले बाको मर्ममा अवश्य चोट लागेको छ, म ऋणी छु बा हजुरसँग धेरै धेरै ऋणी छु मलाई माफ गर्दिनुहोला ।

बा हजुरले पटक्कै चिन्ता नलिनुहोला, खाना बनाएर खानुहोला भोकै नसुत्नुहोला । छोरी भएर यो गल्ती गरे पनि आइन्दा छोरा भएर कर्तव्य निभाउने छु । मलाई हजुरको मायाले टाढा जान दिएको रहेन छ बा, हजुरले पनि यसमा सन्तोष गर्नुपर्छ । उताको प्रक्रिया सकिए पछि तुरुन्तै भेट हुनेछ, पर्सी या निकपर्सी उताका मान्छे सम्पर्कमा आउने छन् । हजुर पटक्कै नआतिनु होला ।

हजुरकी प्यारी आँखाकी नानी

मैले फोटो उठाएर हेरेँ, मुसुक्क हाँसेर मलाई हेरिरहेकी थिइ । मन बाउँडिएर आँखामा बरर झरी परिहाल्यो । ‘तिमी ठूली भइसकिछौ छोरी मेरा आँखाले त सधैँ सानी देखिरहे । धोका पाइरहे । तिमी एक्काइस वर्ष उमेर पुगेको हेक्का राख्न पो जानिन कि ।’ बिहेको कुरा लिएर ठाउँठाउँबाट मान्छे नआएका पनि होइनन् । टाढा दिन मनले मानेन, नजिकैका नपढेकालाई मनले खाएन । कलेज नभ्याइ बिहा नगर्ने भनेर अडान लिइरहेकी थिइ, उसको चाहनालाई निमोठेर त्यसरी जोडबल गर्न पनि सक्दै सकिनँ । पखेटा लागेको बचेरा गुँड छोडी उडेर गयो टाढा टाढा क्षितिजमा हरायो ।

भोक थियो, मरेर गयो । बाबुछोरीलाई पकाएको भात अगेनामै पर्खिरहेको छ । थाहा छैन आफू खाएकी छ कि भोकै मलाई सम्झेर रोएकी छ । नौबत लिएर यो दिन पनि आउन सक्छ कि भन्ने शंका थियो मनको कुनामा आयो व्यहोर्नु प¥यो । छोरीले त आज यस्तो विजोग पारेर गइ भनि दुःख पोख्नु कोसँग ! मुख बोल्ने अर्को मान्छे कोही छैन, भित्ताले सुन्दैन । पुराना दिन सम्झनामा आएर मन धर्काए । बाबुको चिन्ता मान्ने मान्छेले चिठीमा भोकै नसुत्नु भनेकी थिइ, घाँटीबाट नछिर्ने खाना आँसुमा मुछेर कसरी खानु एक्लै !

दैलामा आग्लो लगाएँ बत्ति निभाएँ ओछ्यान तताएँ । सम्झेँ यस्तै चकमन्न कालो आफ्नो विगत गतिलो पढाइ लेखाइ भइदिएको भए कतै सरकारी जागिर भेटिन्थ्यो कि । जीवन बाँच्न अलि सुविस्ता पथ्र्यो कि त्यतातिर पनि भाग्यले छेको हाल्यो । हुन त हाम्रा दाजुभाइमा धेरै पढेको मैले नै हो तर पढाइले रोजगारीमा केही सहारा दिएन । बा बितेका कारणले टेस्ट परिक्षा दिन पाइएन । टेस्ट पास नभएकालाई एसएलसीको के कुरा । बा आमा दुवै नभएपछि मनका चाहना केका पूरा केका अधुरा !

कतिखेर उता नानीले काँसे झैं मानेर कान टाँठा हुन्छन् । भ्रम घुमेको छ शून्यतामा भ्रमै घुसेको छ कानमा । टाढा झ्याउँकिरी कराएको एकोहोरो मधुरो आवाज आइरहेको छ । बा भन्दै बाहिरबाट बोलाउँछे कि जस्तो पनि लाग्छ । कति सुनसान भयो घर कति निरस भयो मन । घरीघरी कराउँछ पेट, उता भात छ यता पेट खाली छ कस्तो विडम्बना !

पढाइको मेलो बिग्रेपछि बिहा गरियो, बिहा गरेपछि गाउँले दाजुभाइ जस्तै कमाउन मुगलान जानप¥यो । देश–परदेश आउने–जाने भइरहेको थियो । दोस्रो बच्चा जन्मिन नसकेर जहानको प्राणान्त भएको खबरले मलाई मूर्छित बनायो । छाती पोलेर औडाहा भयो कैयन दिनसम्म विक्षिप्त पनि बनायो । आफ्नी जीवन संगिनी गुमाउनुको पीडा पनि छातीमा पुरेको छु जो कसैलाई देखाउन सकिदैन । दुःखै दुःखका घाउ छन् छातीभरी त्यसैले रुन मन लाग्छ एकान्तमा घरी घरी । ‘हत्तेरीका ! लोग्नेमान्छे पनि किन रुनु यसरी ।’ आफैलाई सम्झाउने पनि गरेको छु । तर आँसुले मान्दो रहेनछ किन कि लोग्ने मान्छेको पनि मन हुन्छ बग्छ । आँखामा पटक्कै निन्द्रा छैन फेरी कोल्टे फेरेँ ।

घरमा म पुग्दा अढाइ वर्षकी छोरी पिँढीमा खेलिरहेकी थिइ, एकछिन हेरिरहेँ । मलाई देखेपछि झोला बिसाउन नपाउँदै झम्टिहाली, समाएर उचालेँ । बा ! आमै खोइ ? आमैसँ जाम् न बा । आमै खोइ ?’ भर्करै बोली फुट्दै गरेकी मसिनी छोरीको प्रश्नले म घायल भएँ । कतिपय प्रश्नको जवाफ नै आँसु हुँदो रहेछ । उसले मेरो आँसु लिपीदिइ, मैले उसको गाला–गाला र टाउकामा मुख जोतेर बेस्सरी छातीमा कसिरहेँ । आमाको लामो नियास्रो लागेकी छोरीले सुत्दा उठ्दा खाँदा बस्दा मलाई छोड्दै छोडिन ।

शोक पसेर हाम्रो घर उजाड भएको थियो । दुःखद संस्कार कर्म सकियो घर सल्लाह भयो । घर बसेर नपुग्ने बाध्यताले फेरी मुगलानकै बाटो तताउने दिन आयो । मैले साइत गर्दा भाउजुले नानीलाई लुकाउने तरखर गर्दै हुनुहुन्थ्यो, मेरो मनले मानेन अंगालोमा एकछिन बोकेर सम्झाउने कोशिस गरेँ । म पनि बासँग जानी के । मलाई नथोर्नुन बा’ उसले बलिन्द्र धारामा रुँदै त्यसरी बिलौना गरेपछि मेरो कलेजो फाट्यो म पानी–पानी भएँ । छोरी लिएर जान पनि नसक्ने भएँ छोरी छोडेर जान पनि पटक्कै नसक्ने भएँ । ‘जेसुकै त होला म जान्न मुगलान’ झोला फ्यात्त भुइँमा फालेँ । जित्यो मलाई छोरीको मायाले ।

साँझको खाना खाइ सकेपछि ओछ्यानमा थिएँ, सिन्दूरले जोडेको साइनोमा कति आशक्त हुँदोरहेछ मन । अल्पायुमै जानुरहेछ र पो बिछट्टै माया बसेको रहेछ, सँगसँगै बिताएका मीठा सम्झनाहरू नाचीरहेथे आँखाभरी । रोएर कहिल्यै ननिथ्रिने आँसु पनि बगिरहेथ्यो व्याकुलतामा उम्लेर । नानी ममाथि सुतेकी थिइ मेरो छातीलाई सिरानी हालेर । निन्द्रा खोसेर मलाई मेरो वर्तमान र भविष्यको चिन्ताले लखतरान पारिरहेको थियो ।

‘बा मलाई थोरेर नदानु है म रुन्तु’ तोते बोलेर नानीले मेरो ध्यान तानी ।

‘म त छोरीलाई नयाँ नाना लिन भनेर पो जान लागेको त’ मैले उसको ढाड र टाउको मुसारेँ ।

‘म थुली भएल लाउँतु के नयाँ नाना’ सानो हत्केला मेरो गालामा टाँसी ।

‘तिमीलाई मिठी मन पर्छ म मिठी लिएर पनि आउँछु ।’

‘नाइँ नाइँ म थुली भएल खान्तु मिथी ।’

दुवै हातले बेरेर चपक्क समाएँ । आमा देख्न भेट्न आत्तेकी छोरीले उताको सबै माया मेरै भागमा खन्याइ दिइ । छोरीको दिसापिसाब स्याहार्नु, खुवाउनु पियाउनु, सुताउनु उठाउनु आमाको सम्पूर्ण अभिभारा निभाउनु पर्ने सबै जिम्मा परिस्थितिले मेरै थाप्लामा हालिदियो ।

रुख ढाल्नु काठ काट्नु आरा चलाउनु जानेको सीप त्यही थियो, भने जस्तै काम भेटिँदा जीवन गुजाराका लागि ठेकेदारको संगत गरियो । धन्न धन्नै मुगलानकै आर्जन बराबर हुन्थ्यो मासिक कमाई । यही गुजारामा झुण्डीदै बिते केही वर्षका हिउँद बर्खाहरू । दशाले पनि निमुखालाई नै पिर्दोरहेछ । एक दिन ठूलो दुर्घटनाको सिकार हुनुप¥यो । काम गर्दागर्दै मूढो ढलेर दाहिने खुट्टामा बजारियो रनाहामा पा¥यो, घुँडामुनिबाट भाँचियो । छोरी ६–७ वर्षकी भैसकेकी थिइ, मेरो हालतमा विह्वल भइ डाँको छोडेर रोइ । सक्दो गरी सेवा सुश्रूषामा दिनरात खटीभित्र बाहिर गर्ने सहारा बनि । भित्री तहसम्म यसरी अन्तर्घुलन भएको छ माया बाबु र छोरीमा । महिनौ महिना थला पा¥यो, जिन्दगीभर खोच्याउन पर्ने बनायो । बेलाबेला दुख्छ हिउँदमा जाग्छ । मनको घाउ छँदै थियो तनको घाउ पनि थपियो । दया नराखेर दैवले निरन्तर अन्याय गरिरह्यो । समयले दिएका दुख्ने चोटहरू कति छन् कति मनभरी । ति पीडा कसैलाई देखाउन मन लाग्दैन, चुपचाप आँसुले पखालीदिन्छु ।

एक सालको बर्खामा घरमुनि ठूलै पहिरो गयो । घरमा ढुक्कले बस्ने वातावरण हुँदै नभएपछि आफ्ना जहाँन केटाकेटी लिएर दाजुभाइ तितरवितर हुनप¥यो । आफ्नो समाज र भूगोल छोडी छोरी लिएर म उँधो झरेँ । रगत–पसिनासँग साटेको कमाइले घरबास किनेर छाप्रो हालेँ । छोरीलाई स्कुलमा भर्ना गरेँ । एकजना चिनारुको फर्निचर पसलमा काम पाइयो । बान्की बनोटका कुर्सी टेबल र दराज बनाइ दिएपछि कामबाट साहु प्रभावित भएर मलाई मासिक वेतनभोगी बनाए ।

त्यही साल हो मलाई आफन्तीहरूले बिहा गर्न ठूलो करकाप गरेका । घरबार बिग्रेर एउटी महिला माइतमै बसेकी रहेछिन् । ‘अहिले जे जस्तो भए पनि बुढेसकालमा सहारा चाहिन्छ, दिन काट्न झन गाह्रो हुन्छ । बिरामी पर्दा गाह्रोसाह्रो हुँदा आफ्नो जोडा भए सजिलो हुन्छ । सिन्दुर मात्रै हालेर घर बिग्रियो जायजन्म भएको छैन । तिमीहरू बाबु छोरीलाई सुख शान्ति हुन्छ । यता पनि दुवै जनाको कल्याण हुन्छ घरबार जम्छ ।’ त्यो व्यहोराको उकेरा लगाएका थिए शुभेच्छुले हामीलाई । गोरो वर्णकी महिला शान्त स्वभावकी देखिन्थिन् । आँखामा पीडा हुँदोहो केही बोलिनन् भुइँमा हेरिरहिन् । जिन्दगी जोड्न चाहेकी ति महिलासँग मन पलायो कि खोइ के भयो पहिला पहिला जस्तो ठाडै नाइँनास्ती गर्न सकिनँ । ‘हुन्छ विचार गरौँला’ भनेर फर्किएँ । बेलुका स्कुलबाट फर्की आएकी छोरीले झोलाबाट कापी र कलम निकालेर देखाउँदै भनि, ‘हेर्नुस् त बा मलाई सरले दिनुभाको कापी कलम ।’

‘किन दिएका सरले नानीलाई ?’

‘म जान्ने भएर नि ।’ हातको भाउ लगाउँदै भनि । मेरो तन मनमा खुसी छचल्कियो । बिहे गर्ने निधो चुटेर छरियो । धागो चुट्दा पोते छरिन्छ नि, त्यस्तै । त्यसैराती सपनामा आई मलाई विधुर बनाउने स्वर्गवासी । छोरी खोइ भनेर सोधि, एकछिन रोइ अब जान्छु भनेर गइ । भोलिपल्ट मैले अर्थ निकालेँ, छोरीले दुःख पाउँछेकी विचार गर्नुहोला भनेकी त होली भन्ने लाग्यो । बिहे गर्ने कुरालाई सधँैका लागि तगारो हालियो । त्यसरी हुर्काएकी छोरीले मेरो त्याग र योगदान कति बुझि कुन्नी । एउटा कागजको चिर्कटोमा निसानी छोडेर गइ । डालीबाट उडी गएको चरी जस्तै भइ ।

परिस्थिति मेरो अधिनमा भइदिएको भए ज्वाईंलाई भन्नु थियो, ‘मेरो ऐश्वर्य धन दौलत सुख शान्ति जे भने पनि यही छोरी हो । तपाईंलाई मैले मेरो सर्वश्व दिएको छु जतन गर्नुहोला ।’ ज्वाईंलाई यो पनि भन्नु थियो ‘आँसुले धोएर उसका सपना उज्याला बनाएको छु जिन्दगी बाँड्नुहोला कहिल्यै अँध्यारो नबनाउनुहोला ।’ नभनी नहुने अर्को थोक पनि थियो ‘रगत वखत सकिएर आँखामा ज्योति निभ्दै जाँदा संसार पनि अँध्यारो हुँदै जाला, दुनियाँमा छोरी बाहेक मेरो आफ्नो कोही छैन तातो पानी तताएर खुवाउने सहारा ।’ यसरी बेली विस्तार लाउने धोको छोरीले खोसीदिइ । यो खुट्टाजस्तै अपाहिज छ जिन्दगी । जीवनको उत्तरार्धमा कसरी लतार्न सकुलाँ, चिन्ताले पोलिरहन्छ भत्भती ।

कुखुरी काँ…! भाले बास्यो । कोल्टे फेर्दाफेर्दै मेरो पूरा रात छट्पटीमा बित्यो । मैले बर्को तानेर मुख ढाकेँ निन्द्रा लागे लागोस् नलागे नलागोस् ।

प्रकाशित मितिः   २६ कार्तिक २०७९, शनिबार ०७:२७