कुडा कर्णालीका

उमेरको उमंग

सुनिता बराल (अध्यक्ष, अनेरास्ववियु)

केही वर्ष अगाडि विद्यार्थी आन्दोलनलाई बुझ्ने व्यक्तित्वहरूले जसरी बुझ्नुहुन्थ्यो, त्यो भन्दा केही फरक काम गर्नुपर्छ भन्ने स्थितिमा अहिलेको विद्यार्थी आन्दोलन रहेको छ । त्यो समयको माग हो भन्ने विद्यार्थी संठनहरूको बुझाइ छ । कोभिड महामारीको समयमा शिक्षा क्षेत्रमा सबै जनाले अनुभूति गरेको विषय के हो भने हाम्रा विश्वविद्यालयहरू कति बढी प्रविधिमैत्री छन र आवश्यकता परेका बेला प्रविधिको उपयोग गरेर शैक्षिक क्षेत्रलाई कति गतिशील बनाउन सक्छन् भन्ने प्रश्न सोध्नुभयो भने हामी निकै पछाडि रहेछौँ भन्नलाई मैले हिचकिचाउनु हुँदैन । कोरोना महामारीका बेला हामी विद्यार्थी संगठनहरू हड्ताल वा सडक आन्दोलन गर्ने अवस्थामा थिएनौँ र गर्नुहुँदैनथ्यो । तर त्यो अवस्थामा विद्यार्थीहरूले आफ्नो निजी बसोबाससम्म पुग्नका लागि के गर्ने भन्ने कुरा सबैभन्दा ठूलो प्रश्न थियो । स्थायी बसोबासमा पुग्नका लागि सहजता वा अस्थायी बसोबासमा खाद्यान्नको व्यवस्थादेखि लिएर उनीहरूले प्राप्त गर्नुपर्ने दैनिक परीक्षाका विषयहरूमा अनेरास्ववियु सशक्त रूपमा लागिरहेको थियो । त्यति मात्रै होइन, हामी सामाजिक सरोकारका क्षेत्रमा पनि काम गर्छौं । त्यही क्रममा हामीले विभिन्न नाकामा गएर छिमेकी मुलुकबाट नेपाल आउने नेपाली नागरिकहरूलाई सहजीकरण र गन्तव्यसम्म पु¥याउनका उद्धारको काम गरेका थियौँ ।

हामीले अहिले विद्यालय तहमा कक्षा ९ देखि माथि संठनको काम गर्छौं । तर ९ कक्षादेखि १२ कक्षासम्मको संठनलाई राजनीतिक रूपमा होइन, संगठित हुने र समूहमा काम गर्ने अभ्यासका रूपमा अगाडि बढाउनुपर्छ । १२ कक्षासम्म माथिको संठनलाई कसरी संठन संरचना सञ्चालन गर्ने, राजनैतिक विषयहरू प्रतिको बुझाइ कस्तो राख्ने र ती बुझाइलाई कसरी आफ्नो काममा प्रयोग गरी राज्यलाई खबरदारी गर्ने ठाउँमा कसरी पु¥याउने भन्ने हिसाबले हामीले प्रशिक्षण गर्छौं । जब संघीयताको कार्यान्वयन हुँदै थियो, त्यतिबेला हामीले स्थानीय तथा प्रदेश संरचनाको संठनको निर्माण गरेका थिएनौँ । त्यतिबेला त्यो आवश्यकता महशुस पनि भएको थिएन् । जब संघीय संरचनाअनुसार स्थानीय तहहरू निर्माण भए, त्यसपश्चात् आज अनेरास्ववियुले देशभरिका सबै स्थानीय तहहरूमा पनि संगठित रूपले काम गरिरहेको छ । त्यसैले केन्द्रीय कमिटी सानो संरचनामा हुन्छ भने हामीले प्रदेश, जिल्ला, स्थानीय तह हुँदै विद्यालयसम्मको संरचनामा व्यवस्थित छौँ ।

राजनीतिमा चुनौतीसँगै अवसर पनि छ । हाम्रो पार्टीका विभिन्न नेताहरू जो अहिले देशको नेतृत्व तहमा हुनुहुन्छ उहाँहरू पनि विद्यार्थी राजनीति हुँदै आउनु भयो । धेरै जनाले विश्वविद्यालयमा गएर पढ्ने र विद्यार्थी राजनीति गर्ने अवसर त पाउनुभएन । तर उहाँहरू पार्टीको केन्द्रीय समितिदेखि देशको मन्त्री सम्म ४० वर्षभन्दा कम उमेरमा हुनुभएको छ । अहिले पनि ४० वर्षभन्दा कम उमेरको धेरै जना नेताहरूले पार्टीमा नेतृत्व गरिरहनुभएको छ । हाम्रो पुस्तासम्म आइपुग्दा हामी ४० वर्ष छेउछाउ पुग्दा खेरी युवाको पनि तल्लो तहको जिम्मेवारीमा भूमिका देखिन्छ । हामी त्यो जिम्मेवारीका लागि तयार छौँ । तर नयाँ कुराको खोजी र संघर्ष गर्ने व्यक्ति नै सबैभन्दा पहिले स्थापित हुने रहेछ । त्यो कुरा हामीले बुझ्नुपर्छ । हिजो कम्युनिस्ट आन्दोलन सुरु गर्दैगर्दा हाम्रो पार्टीका अध्यक्ष केपी शर्मा ओली करिब १६ वर्षमा नै भूमिगत हुनुभएको थियो । करिब १३ वर्षको उमेरमै विभिन्न कार्यक्रममा हिँडेको कुरा उहाँले सुनाउनु हुन्छ । अहिले हाम्रो सामाजिक र पारिवारिक मनोविज्ञानले १६ वर्षको उमेरको युवालाई बच्चा नै हो भन्छ । उहाँहरूले त्यतिबेला विद्रोह गर्ने आँट गर्नुभयो, त्यो त्यति बेलाको समयका लागि आवश्यकता थियो । हिजो व्यवस्था परिवर्तन गर्नका लागि र सैद्धान्तिक रूपमा विषयहरू स्थापित गर्नका लागि उहाँहरूले गरेको संघर्ष र उहाँहरूको व्यक्तित्व स्थापित भएको विषय हो । आजको पुस्ताले हाम्रो जीवनका आवश्यकताहरूलाई विकास र जीवनको समृद्धिसँग जोडेर र हामीले हरेक युवालाई उत्पादनसँग जोडेर जीवनको समृद्धिको परिकल्पना गर्न सिकाइएन भने हाम्रो यो पुस्ता मात्र होइन योभन्दा पछिल्लो पुस्ता पनि युवाका रूपमा पचास वर्षसम्म पुग्छ भन्ने खतरा छ । त्यसैले हिजोको राजनीतिक परिवर्तनको स्थिति र आवश्यकताका कारणले अघिल्लो पुस्ता स्थापित भयो र निरन्तर नेतृत्वमा छ । यो हामी सबैका लागि चुनौती हो कि मैले पनि मेरो परिकल्पना अनुसार काम गर्नका लागि मेरो सामाजिक भौगोलिक तथा आर्थिक संरचनाले दिइरहेको छ कि छैन भन्ने विषय मेरो समीक्षाको विषय होला । समग्रतामा हेर्दा हाम्रो पुस्ताले अहिलेको विकासको आवश्यकतालाई परिवर्तनसँग जोडेर देशको समृद्धिको आवश्यकतालाई त्यसरी नै परिवर्तनको एउटा मात्र उद्देश्य बनाएर अगाडि बढ्न सकेन भने हामी पछाडि पर्छौं ।

संवैधानिक व्यवस्थाअनुसार अनेरास्ववियुमा महिलालाई ३३ प्रतिशत स्थान दिने र देशको जनसंख्या परिस्थितिअनुसार ५० प्रतिशत सम्म पुराउने हामीले प्रयास गरेका छौँ । आजको सामाजिक आर्थिक र भौतिक परिस्थितिले हामीलाई यो ठाउँसम्म पु¥याउन सक्षम नबनाइसकेको हो कि भन्ने विषय पनि समीक्षाको विषय छ । अनेरास्ववियुले वैधानिक रूपमा नै सबै संगठनमा आजको दिनमा ३५ प्रतिशत महिला सहभागिता गराएको छ र यसलाई निरन्तर वृद्धि गर्दै लैजाने कुरामा पनि हामी लागिरहेका छौँ । भूगोलको आवश्यकता, वर्गको आवश्यकताले महिलालाई कुनै ठाउँमा बढी विशेषाधिकार दिनुपर्ने कुरा त छँदैछ तर त्योसँगै अब समतामूलक समाज निर्माण गर्नुपर्छ भन्ने चेतनाबाट अगाडि बढ्नुपर्छ भन्ने मेरो मान्यता छ । त्यसकारण समतामूलक समाज भनेर हामीले सबैलाई प्रोत्साहन गर्यौ भने मेरो दाजु भाइले मलाई पनि सहयोग गर्न सक्ने वातावरण निर्माण हुन्छ भन्ने मेरो बुझाइ हो । हामीले त्यो तहबाट काम गरिरहेका छौँ । हामी प्रश्न गर्न सक्छौँ । प्रश्न गरिसकेपछि समाधानको विकल्पसहितको प्रश्न गर्न सक्नुपर्छ भन्ने चेतना मेरो संगठन नै राख्छ । हाम्रो मातृ पार्टीको सरकार रहँदा पुस्तकमा कर वृद्धि गरेको विषयमा म संगठनको उपाध्यक्ष थिएँ । अर्थमन्त्री डा. युवराज खतिवडा हुनुहुन्थ्यो । हामीले निरन्तर रूपमा दबाब दिएपछि त्यो कुरा परिमार्जित पनि भएको थियो । त्यसकारण संगठनभित्र गर्ने प्रश्नका स्वरूप फरक हुन्छन् र अन्तरपार्टी गरिने प्रश्नका स्वरूपहरू फरक हुन्छन् । हामी संठनको विधान, नियम र स्वतन्त्रतासहितको अनुशासनमा हुन्छौँ । स्वेच्छाचारिता हाम्रा लागि मान्य छैन ।


पञ्चा सिंह (अध्यक्ष, अनेरास्ववियु (क्रान्तिकारी))

अहिलेका केही नयाँ राजनीतिक दलहरूले विद्यार्थी आन्दोलनको औचित्यमाथि प्रश्न उठाइरहेका छन् । उनीहरूका लागि विद्यार्थी आन्दोलनले विद्यार्थी आन्दोलनको अस्तित्वबारे जवाफ दिनुपर्छ । कोरोना महामारी विश्व समुदायका लागि एउटा नयाँ अनुभव थियो । यसले एउटा ठूलो ज्ञान समाजमा छोडेर गएको छ जुन नेपाली विद्यार्थी आन्दोलनका लागि पनि एउटा सिकाइ भयो । कोरोनाको समयमा सबैभन्दा पहिलो कुरा मानव जीवनको सुरक्षा थियो । त्रिभुवन विश्वविद्यालयलगायतका थुप्रै विद्यालय तथा विश्वविद्यालयहरूमा हामीले सहायता कक्ष निर्माण गरेर घर जानका लागि सुरक्षित रूपमा आवास पु¥याउने काम हामीले गरेका थियौँ । छिमेकी मुलुकबाट नेपाल आएका नागरिकहरूलाई सीमा नाकामा सहजताका लागि पनि काम गर्यौं ।

विद्यार्थी संगठनहरूको औचित्य माथिको प्रश्न आजको बहसको विषय हो । विभिन्न राजनीतिक दलहरूको आरोप मात्र होइन, विद्यार्थीहरूले पनि विद्यार्थी संगठनहरू चाहिँदैन भन्ने विषय प्रश्न पनि उठिरहेको छ । विद्यार्थी आन्दोलनका कोणबाट यस विषयमा हामीले समीक्षा गर्नुपर्ने विषय के छ भनेः हामी राजनीतिक दलको वरिपरि र आफ्नो संगठनको आन्तरिक व्यवस्थापनको वरिपरि मात्र होइन नेपालको विद्यार्थी संगठन आन्दोलन केन्द्रित हुँदा खेरी यस्तो कुरा आएको हो । हामीले समीक्षा गर्नुपर्ने कुरा हामी आधारभूत तहसम्म हाम्रो संगठन पु¥याउन सकिरहेका छैनौँ । त्यसकारण केही केही प्रश्नहरू तल्लो तहबाट उठेका हुन सक्छन् । आजको परिस्थितिमा पुग्दा खेरी नेपाली विद्यार्थी आन्दोलनको आवश्यकता झन् बढ्दै गरेको अवस्था छ । यो व्यवस्थालाई दिगो बनाउने हो र प्रभावकारी बनाउने हो भने विद्यार्थी संगठनको औचित्य धेरै छ भन्ने मलाई लाग्छ ।

म सुर्खेत जिल्लाको मतदाता हुँ । तत्कालीन सात वटा दल मिलेर मेरो गाउँको बाटोको जुन हालत बनाएका छन् त्यसमा आजका दिनसम्म पनि जनताहरूले प्रश्न गरिरहेका हुन्छन् । त्यहाँ गएको बजेट उपभोक्ताहरूले दुरूपयोग गरेका होइनन् । राजनीतिक दलका मान्छेहरू मिलेर दलै पिच्छे भागबन्डा लगाएर काम गरिन्छ, गिट्टी, बालुवा र ढुङ्गा सडकले देखेन र त्यो बजेट नेताहरूको खल्तीमा गयो । प्रश्न आज कसले गर्ने ? नेपाली विद्यार्थी आन्दोलनले यही ठाउँमा उभिएर प्रश्न नगर्ने हो भने फेरि पनि त्यही परिस्थिति सिर्जना हुनसक्छ । उनै मान्छेहरू आज भोट माग्न जाने स्थिति छैन । बजेट किन कार्यान्वयन भएन भनेर आजका दिनमा पनि यही प्रश्न फेरि दोहोराउनु परेको छ । आज हामी ढुङ्गा हाल्न जाने होइन । बजेट कसरी बनिरहेको छ र बजेटको सदुपयोग वा दुरूपयोग के भइरहेको छ भनेर अबको विद्यार्थी आन्दोलन त्यतातिर प्रश्न गर्नमा केन्द्रित हुनुपर्छ । फेरी पनि बजेट नेताहरूको खल्तीमा जाने हो या जनताको घर आँगनमा नपु¥याउने हो भने प्रश्न गर्ने दायित्व लिएर आजको विद्यार्थी आन्दोलन उभ्याउनुपर्छ । यो व्यवस्थालाई नयाँ ठाउँमा पु¥याउनका लागि रह्यो, व्यवस्थाका अवगुणहरूलाई सच्याउनका लागि नेपाली विद्यार्थीहरूले जानेनन् भन्ने व्यवस्था अगाडि बढ्न सक्दैन ।

विद्यार्थी संगठन भएर समस्या भएको होइन । संगठनले ठीक विषयहरू आजको दिनमा उठाउन सकेको छैन भन्ने कुराको समीक्षा गरौँ तर संगठन नै आवश्यक छैन भन्ने कुरा ठीक होइन । आजका दिनमा संगठनमाथि फर्केको छ, तल्लो तहमा फर्केको छैन । अनेरास्ववियु क्रान्तिकारीले पहिलो पटक सम्मेलन गरेर स्थानीय तहको महाधिवेशन सम्पन्न गरेको छ । स्थानीय तहमा शिक्षा क्षेत्रमा जे अधिकारहरू दिएको छ, ती अधिकारहरू कार्यान्वयनको प्रश्न उठाउने ? त्यो विषय कसले उठाउने ? स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीहरूको काम कारबाहीबारे कसले प्रश्न उठाउने ? त्यसैले हामीले स्थानीय तहसम्म संगठन पहिलो पटक पुराउँदै छौँ । दोस्रो सम्मेलनसम्म पुग्दा त्यहाँको संगठन प्रश्न उठाउने ठाउँसम्म पुग्छ र पालिका तहको शिक्षा अधिकारीलाई कार्यान्वयन गर्न सकिने ठाउँमा पुग्छ । स्थानीय तहहरूमा संगठन विस्तार गर्दा संगठनमार्फत स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीहरूमाथि प्रश्न र खबरदारी गर्ने प्रवृत्ति बढेको छ ।

युरोपियन मुलुकहरू र हाम्रो देशमा फरक भनेको आजका दिनमा दुई वटा कुरामा छ । एउटा कुरा युवामैत्री नीतिले त्यो देशमा नेतृत्वको अवसर प्रदान गरेको छ । ३५ वर्षको उमेरमा प्रधानमन्त्री भएको कुरा सुनिरहेकै छौँ । राजनीति चुनौतीपूर्ण काम हो त्यसलाई समाजसेवा भनेर र त्यो क्षेत्रमा जानका लागि सबै कुराको त्याग गरेर मान्छेले तयारी गर्छ तर हाम्रो मुलुकमा राजनीतिलाई पेसाको रूपमा लिइन्छ । पेसा व्यवसायको कुरा गर्दा आजका दिनमा विभिन्न ठाउँमा लगानी छ । हाम्रो परिवेशमा व्यवसायीले भन्दा पनि नेताले लगानी गर्छन् । यी दुई वटा कुरालाई पार गर्नु पनि आजका दिनमा युवा राजनीतिको चुनौतीको रूपमा रहेको छ । हाम्रो लागि युवामैत्री नीतिको लागि चुनौती छ । मेरो पार्टीको महाधिवेशन भर्खरै सम्पन्न भयो । दस्ताबेजले २० प्रतिशत युवा लेख्यो । कार्यान्वयनमा जाँदा नेताहरूको व्यवस्थापनका लागि त्यो विधान संशोधन गरेर १०% मा झारियो । युवामैत्री नीति निर्माण र राजनीतिलाई समाजसेवा बनाउनका लागि हामीले ठीक ढङ्गले आजसम्म यसको पहिलो गर्न र बहस गर्न सकेनौँ भने हामीले त यो अवसर गुमाइसक्यौँ र आगामी पुस्ताले पनि गुमाउनेछन् । नेपालका राजनीतिक दलका अधिकांश विद्यार्थी संगठनका अध्यक्षहरू ३० वर्षभन्दा माथि उमेर समूहका हुनुहुन्छ । यो मुलुकमा ३५ वर्षको प्रधानमन्त्री, ३० वर्षको प्रतिपक्षी दलको नेता र २५ वर्षको सभामुख भएको भए कस्तो होला ? म त्यस्तो कल्पना गर्छु तर हाम्रो पुस्ताले यो अवसर गुमाइसक्यो । अब आउने पुस्तालाई त्यो अवसर प्रदान गर्नका लागि हाम्रो पुस्ताले धेरै नै मेहनत गर्नुपर्छ ।

मेरो पुस्ताले मेहनत गरेन्, अवसर पाएन र पार्टीले मलाई जिम्मेवारी दियो भनेर चुपचाप बस्ने हो भने आउने पुस्ताले पनि यो अवसर पाउँदैनन् । त्यसैले आउने पुस्ताको लागि हामीले चुनौतीको सामना गर्नका लागि आफूलाई अगाडि उभ्याउनु पर्छ ।


पुनम भट्ट भट्टराइ (नेता नेपाल विद्यार्थी संघ)

मानव जीवन र मानव स्वास्थ्यभन्दा महत्वपूर्ण कुनै पनि चिज छैन । यस्तो अवस्थामा पनि आफ्नो जीवनलाई दाउमा राखेर स्वास्थ्य सुरक्षाका सामग्रीहरू लगाएर हामी विद्यार्थीहरू घरघरमा राहत बाँड्न पुग्यौँ । जसले आफ्नो स्थायी ठेगानामा पुग्न पाउनु भएको थिएन्, उहाँहरूलाई घर फर्किनका लागि बसको व्यवस्था तथा खानालगायतका सहजीकरण गर्न हामी तयार भयौँ । त्यसमा नेपाल विद्यार्थी संगठन पनि एकदमै लागिपरेको थियो । थाहा छैन, त्यो कुरा समाचारमा आयो या आएन । अनलाइन माध्यमबाट अध्यापन गराउन र विद्यार्थीहरूको भविष्यमाथि खेलबाड नगर्नका लागि नेपाल विद्यार्थी संघले आवाज उठाएको थियो ।

पहिले राजनीतिक अस्थिरता थियो र सडकमा विद्यार्थीहरू आन्दोलनका लागि होमिन्थे । अहिले हाम्रो लागि राजनीतिक अस्थिरता भन्दा शैक्षिक मुद्दाहरू धेरै महत्वपूर्ण छन् । राजनीतिक रूपमा केही मात्रामा भए पनि स्थिरता आएको अवस्था छ । त्यसैले विद्यार्थीहरू सामाजिक र शैक्षिक मुद्दाहरूमा अझै पनि विद्यालय र विश्वविद्यालयहरू मै छन् । मूल्यवृद्धिलगायत अन्य कुरा सामाजिक मुद्दाहरूमा भने सडकमा आउँछन् । जनतासँग प्रत्यक्ष सरोकार राख्ने विभिन्न मुद्दाहरूमा नेपाल विद्यार्थी संघका सदैव सडकमा र विश्वविद्यालयहरूमा छ ।

मेरो जन्म डडेलधुरा जिल्लामा भएको थियो । म यस्तो समाजमा हुर्कें सायद कर्णाली पनि त्योसँग समीपमा होला । मेरो ६ दिदीबहिनी र एक जना दाइ हुनुहुन्छ । दोस्रो सन्तान छोरा होस् भन्ने हिसाबमा मेरो जन्म भयो । जन्मदेखि नै म विभेदमा जन्मिएँ । हुर्किंदा खेरी पनि म विभेदमा हुर्किएँ । हाम्रो समाजले हामीलाई जुन संस्कारको साडी पहिराइदिएको छ, त्यसले हामीलाई प्रगति गर्ने दिँदैन । यो संस्कारको साडीले गर्दा आज हजारौँ सशक्त र सक्षम महिलाहरू बाहिर आउन सक्नुभएको छैन । दाइलाई निजी विद्यालयमा पढाउँदै गर्दा मलाई सार्वजनिक विद्यालयमा पढाइयो । दाइलाई दूध दिँदै गर्दा मलाई मही दिइयो । डडेलधुरामा मेरो परिवार आर्थिक रूपमा सक्षम थियो । त्यस्तो परिवारमा जन्मिदा पनि मैले यति धेरै विभेद भोगेँ । मलाई मेरो बुवाले एउटा कुराको लागि मात्र पढाउनु खोज्नुहुन्थ्यो, त्यो भनेको राम्रो केटासँग बिहे हुन सकोस् भनेर । त्यो बाहेक उहाँको हृदयमा अरू उद्देश्य थिएन । हाम्रो दिमागमा पनि राम्रो केटा पाउनका लागि पढ्नुपर्छ भन्ने कुरा भरिदिनुभएको थियो । कक्षा १२ सकिने बित्तिकै मेरो बिहेको लागि केटाहरू हेर्न आउन थाले । तर मेरो उद्देश्य पहिलेदेखि नै फरक थियो । मलाई आफ्नो खुट्टामा आफै उभिनु थियो । मलाई समाजको अगाडि केही काम गर्न मन थियो । गाँउको गरिवी देख्दा मलाई के लाग्यो भने मैले उनीहरूको जीवन उकास्नका लागि केही काम गर्नुपर्छ । त्यति सानो हुँदा पनि मैले त्यस्तो सोच्थेँ । मलगायत मेरो साथीहरू जुन पारिवारिक स्थितिमा हेर्दा छोरी भएकै कारण अवहेलना र एउटा बुहारी भएकै कारण अपहेलित हुनुपरेको थियो, त्यो देख्दा मलाई कस्तो लाग्थ्यो भने मैले उनीहरूको मुहारमा खुसी दिन र न्याय दिन पाए हुन्थ्यो जस्तो लाग्थ्यो । एउटाको आवाजले पनि आखिर सयौँ परिवर्तन ल्याउन सम्भव हुन्छ भनेर हामीले पढ्थ्यौँ ।

मैले उदारवादी महिला क्रान्तिको बारेमा पढेको थिएँ । सन् १८४८ मा एलिजाबेथले टी लन्च अ रिभोलुसन भन्ने एउटा कार्यक्रम राख्नुभएको विचार थियो । चार जना महिलाबिच चिया संवादजस्तो कार्यक्रम थियो । त्यसमा उहाँहरूबिच त्यति बेला संयुक्त राज्यको महिलाको अवस्था कस्तो छ भन्ने विषयमा गफ भएको थियो । त्यो अवस्था हेर्दा अहिले हाम्रो सुदूरपश्चिम र कर्णाली प्रदेशका महिलाहरूको जुन अवस्था थियो, त्यस्तै अवस्था त्यहाँ पनि थियो । उहाँहरूले त्यो आन्दोलन अगाडि बढाउँदै लैजानु भयो । चार जना महिलाको चिया संवादले १५० वर्षमा परिवर्तन भयो । त्यस बिचमा विभिन्न आन्दोलनहरू भए । अहिले संयुक्त राज्यको अवस्था हेर्ने हो भने हामीभन्दा अधिकार सम्पन्न छन् त्यहाँका महिलाहरू । हाम्रो समाजमा पहिले पारिवारिक संरचनाले हामीलाई रोक्दछ र त्यसपछि सामाजिक संरचनाले हामीलाई रोक्छ । मलाई त्यो संरचनाहरूलाई तोडेर अगाडि बढ्न पक्कै पनि असहज थियो ।

मलाई कस्तो लाग्छ भने बाधाहरू आउँछन् र त्यसका लागि मेहनत गर्नुपर्छ र त्यसलाई उछिनेर अगाडि बढ्नुपर्छ । एक जना पाकिस्तानको उत्प्रेरकले भन्नुहुन्छ कि उनीहरू मेरो अदक्षता देख्छन् तर म मेरो दक्षता देख्छु । त्यसैले मलाई कस्तो लाग्छ भने समाजले हामीले अदक्ष सोच्छ । महिलाहरूले घरमै काम गर्नुपर्छ भन्ने समाजले सोच्छ । अहिले हाम्रो समाजमा त्यस्तै छ । त्यसैले हामीले चुनौतीका बाबजुद पनि मेहनत गरेर अगाडि बढ्यो भने हिजो जुन एलिजावेथले मेहनत गर्दा खेरी संयुक्त राज्यमा परिवर्तन आएको छ । आजका संघर्षले भोलिका नारीहरूलाई हामीले जस्तो संघर्ष गर्नुपर्ने बाध्यता हुनेछैन । राज्य र समाजले हामीलाई भन्दा बढी अधिकारको उहाँहरूलाई प्रदान गर्नेछ । संविधानमा नै हाम्रो मौलिक हकको व्यवस्था गरेको छ तर समाजले त्यो हकलाई सुनिश्चित गर्न दिएको छैन । जबसम्म सामाजिक बाधा हट्दैन र सामाजिक चेतनामा वृद्धि हुँदैन तबसम्म हामीले संविधानमा सुनिश्चित भएको हाम्रो अधिकार पाउँछौँ जस्तो मलाई लाग्दैन ।

 


आरती लामा (महासचिव, अनेरास्ववियु)

हाम्रो हिजोको गर्बिलो इतिहासलाई हेर्दा खेरि आज त्यसलाई बोक्ने हाम्रो काँध हेर्दा त्यसलाई अगाडि लैजान सक्ने वातावरण बनायौँ या बनाएनौँ भन्ने कुरा प्रश्न नै छ । विद्यार्थी आन्दोलनबाट माथि पुगेकाहरूले पनि र अन्य वैकल्पिक शक्ति भनिनेहरूले पनि विद्यार्थी आन्दोलनलाई प्रश्न गरिरहेका छन् । जबसम्म विद्यालय र विद्यार्थी रहन्छ र तिनीहरूका समस्या रहन्छन् तबसम्म विद्यार्थी आन्दोलन रहिरहन्छ भन्ने कुरा हामीले बुझ्न जरुरी छ । हामी विद्यार्थी संगठनहरूले पनि हिजोको इतिहासलाई जोगाउनुका लागि कसरी अगाडि बढ्ने भन्ने कुरा सोच्नुपर्छ । यसका लागि सबैभन्दा महŒवपूर्ण प्लेटफर्म भनेको स्ववियु निर्वाचन हो । स्ववियूको निर्वाचनलाई जीवित राख्नका निमित्त हामी सबै विद्यार्थी संगठन लाग्न जरुरी छ । विद्यार्थीका मुद्दा र एजेन्डालाई पनि हामीले बोक्न जरुरी छ ।

राजनीति कठिन विषय हो । अझ राजनीति गर्दै गरेका महिलाहरूमा झन् यात्रा कठिन छ भन्ने कुरा हामीले बुझेका छौँ । मेरो तीन पुस्ताले राजनीतिमा बिताएका छौँ । कम्युनिस्ट आन्दोलनमा तीन पुस्ताहरू हुँदै गर्दा मैले मेरो राजनीतिक यात्रा बारे केही बताउन चाहन्छु । बाल्यकालमा मेरो बुवाले एउटा क्रान्तिकारी गीत मलाई सुनाउनुभएको थियो ‘आमा दिदीबहिनी हो कति बस्छौ दासी भएर, सुखको सधैँ प्यासी भएर’ । मलाई त्यो गीतले निकै प्रभाव पारेको थियो । बुवाले जहिले पनि साझँ परेपछि घरमा यस्तै क्रान्तिकारी गीतहरू गाउनुहुन्थ्यो । पारिवारिक पृष्ठभूमिमा पनि कम्युनिस्ट विचारधारा प्रति लगाव भएको कारणले राजनीतिमा आउन म पहिलो कुरा परिवारबाटै प्रेरित भएँ ।

म अलि ठूलो भइसकेपछि मलाई घरमा खाना बनाउन भन्नुहुन्थ्यो । मैले त्यतिबेला के विद्रोह गरेँ भने मैले खाना पकाउँदै गर्दा मेरो भाइले भाँडामा सफा गर्छ या गर्दैन वा मेरो भाइले बिहान खाना पकाउँछ भने मैले साँझ पकाउनु पर्छ भन्ने खालको कुरा गरेँ । कडा रूपमा मैले यो कुरा घरमा स्थापित गरेँ । पछिल्लो चरणमा मेरो भाइहरूले आफूले खाएको भाँडा आफै धुुने र खान पकाउने समेत गरे । त्यतिबेला अनेरास्ववियू संगठन आठ कक्षादेखि नै गठन हुन्थ्यो । जनयुद्धको पनि व्यापक लहर थियो । त्यतिबेला हामीले विद्यालयमा भएका समस्याहरू बारे एक्लै–एक्लै प्रश्नहरू गथ्यौँ । त्यति बेला एक्लै–एक्लै आफ्ना कुराहरू राख्दा समस्याहरूको सुनुवाइ नभएको कारणले संगठन चाहिँदो रहेछ भन्ने अनुभूति गर्यौं । त्यसपछि हामी अनेरास्ववियु संगठनमा आबद्ध भयौँ । यसर्थ विद्यालय जीवनदेखि नै अनेरास्ववियु संगठनमा आबद्ध भएर विद्यार्थीका समस्या र सामाजिक विकृति र विसंगतिको विरुद्धमा काम गरेँ । राजनीति नै यस्तो हतियार हो जसबाट हामीले हाम्रो अधिकारलाई स्थापित गर्न सक्छौँ । जुन हतियारबाट यो मुलुकमा भएका विभेद र विससंगतिहरूलाई परास्त गर्न सक्छौँ भन्ने खालको चेतना मेरो परिवारभित्र प्रवेश गरी सकेकोले परिवारबाट म सामु आइपुग्यो । करिब २२ वर्षदेखि अनेरास्ववियुको विद्यार्थी राजनीतिमा छु । धेरैले राजनीति सहजै र सजिलो होला भन्छन् । कतिपयले राजनीति गरेर व्यक्तिगत जीवनमा समृद्धि आउँछ वा आर्थिक लाभ हुन्छ भनेर कुनै प्रश्न र जिज्ञासा राख्ने गर्छन् तर यो राजनीति निकै कठिन छ भन्ने मलाई लाग्छ । अनेरास्ववियुको हिजोको इतिहासदेखि वर्तमानसम्म आउँदा हामी सदैव सत्ता र सरकारलाई विपक्षमा रहेर खबरदारी गरिरहेका छौँ । हामी जहिले पनि सडकको अग्र भागको आन्दोलनमा भएको संगठन हो । हिजो हामीले हाम्रो मातृ पार्टी सरकारमा रहँदा पनि कुनै राष्ट्रिय र जनताको हितका सन्दर्भमा भएका कुराहरू आउँदा पनि जहिले पनि सरकारको विरुद्धमा पनि सडकमा आन्दोलन गरेको हो ।


(ऋति फाउण्डेसनको आयोजनामा २०७८ फागुनमा वीरेन्द्रनगरमा भएको ‘कर्णाली उत्सव’ को तेस्रो संस्करणको ‘उमेरको उमंग’ सेसनका वक्ताहरूले व्यक्त गरेका विचार हुन, यी । यो सत्रको सहजिकरण प्रकृती भट्टराइ बस्नेतले गरेकी थिइन् । उत्सवको तेश्रो संस्करणमा वक्ताहरूले राख्नुभएको सवै विचार प्रकाशित भइसकेको छ । यी विचारहरू साझा बिसौनी दैनिकको अनलाइन पोर्टल तथा कर्णाली उत्सवको वेभसाइटमा गएर पढ्न सकिन्छ ।)

प्रकाशित मितिः   २३ कार्तिक २०७९, बुधबार ०५:०४