पर्यटकीय स्थलको संरक्षण

वीरेन्द्रनगरको प्रमुख पर्यटकीय स्थल हो, बुलबुले ताल । जिल्लाकै पहिचान र इतिहास जोडिएको यो ताल यतिबेला अस्तित्वकै संकटमा छ । क्षेत्र विस्तार गर्ने योजनाअनुरूप फराकिलो पारिएसँगै बुलबुले ‘पानीविनाको ताल’ भएको छ । विकास र विस्तार गर्दा प्राकृतिक अवस्था तथा भू–बनावटको ख्याल नगरिँदा बुलबुले उद्यानको मुख्य आकर्षण ताल नै नरहने अवस्थामा पुगेको छ । केही समय पहिले बुलबुलेमा मेसिन (डोजर) को प्रयोग गरेर तालको क्षेत्रफल विस्तार गरिएको थियो । सोहीक्रममा पानी जमिन मुनिबाट छिरेर ताल बाहिर पुग्यो । विस्तारित क्षेत्रमा पानी नरोकिने समस्या आएपछि अहिले ताल कुरूप बनेको छ । विस्तार योजनाले पूर्णता नपाउँदै लामो समयदेखि ताल क्षेत्र अस्तव्यस्त छ । बुलबुले उद्यानको गुरुयोजनाअनुसार विकास र विस्तार गर्ने भनिएको तालको उल्टै बेहाल भएको हो ।

बुलबुले उद्यानमा विभिन्न संरचना निर्माण तथा ताल विस्तार योजनाअन्तर्गत आर्थिक वर्ष २०७६/०७७ बाट विकासका काम थालिएको थियो । सुरुमा ११ हजार वर्गमिटर रहेको ताल क्षेत्रलाई विस्तार गरी २८ हजार वर्गमिटर बनाएको छ । बुलबुले उद्यानको सुरक्षा तथा संरक्षणका लागि पक्की पर्खाल निर्माण तथा ताल वरिपरी २० वटा सोलार बत्ती जडान गरिएका छन् । त्यस्तै, दश ठाउँमा पिकनिक स्थल र बालबालिकाको मनोरञ्जनका लागि बाल उद्यानहरू निर्माण भएका छन् । तर, पर्यटकको मुख्य रोजाइँमा पर्दै आएको ताल नै व्यवस्थित नहुँदा भ्रमण अवलोकनका लागि आउनेहरू निराश भएर फर्कने गरेका छन् । यस्तै, नेपालकै संरक्षित क्षेत्र काँक्रेविहारको पनि बिजोक छ । ऐतिहासिक तथा पुरातात्विक स्थल घेरबार, आवश्यक संरक्षण र विकास नहुँदा वीरेन्द्रनगरको नजिकको गन्तव्यस्थल भएपनि अव्यवस्थित बन्दै गएको छ । उक्त स्थानसम्म जाने गतिलो सडकसमेत छैन । निर्माणाधीन मंगलगढी–लाटीकोइली सडकखण्ड स्तरोन्नति थालिएको लामो समय भयो । तर, सडक विस्तारको काम बीचमै अलपत्र परेको छ । विगतमा दैनिक रूपमा सयौँको संख्यामा पर्यटकहरू आउने यो स्थलमा पछिल्ला समय सडक पूर्वाधार नभएकै कारण चहलपहल घटेको छ ।

बुलबुले र काँक्रेविहार वीरेन्द्रनगरका प्रमुख पर्यटकीय गन्तव्य हुन् । यी क्षेत्रको विकासमा भने सरोकारवाला निकायको चासो कमै देखिन्छ । वीरेन्द्रनगर नगरपालिका र कर्णाली प्रदेश सरकारलाई प्रदेश राजधानीमै रहेका पर्यटकीय स्थलको पूर्वाधार विकासमा जोड दिन नसकेको आरोप लाग्दै आएको छ । आवश्यक नीति कार्यक्रम, बजेट र अनुगमन नहुँदा बुलबुले ताल अस्तित्वकै संकटमा छ भने काँक्रेविहारले पूर्वाधारको अभाव झेल्दै आएको छ । तीन वटै तहका सरकारको दीर्घकालीन योजना, संरक्षण तथा प्रवद्र्धनको ठोस नीति नहुँदा पर्यटकीय स्थल लथालिङ्ग बनेका छन् ।

प्रकाशित मितिः   २० कार्तिक २०७९, आईतवार ०५:०३