खुल्यो कर्णाली करिडोर

सुर्खेत: एक महिनादेखि अवरुद्ध कर्णाली करिडोर सञ्चालनमा आएको छ । करिडोरको कालीकोट सडकखण्डको सान्नी त्रिवेणी गाउँपालिका–१ लुसाको पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको हो ।

पहिरोले करिब ३० दिनदेखि अवरुद्ध रहेको कर्णाली करिडोरको पहिरो तिन दिन लगाएर पन्छाएपछि खुलेको हिल्सा सिमकोट सडक आयोजनाका प्रमुख वीरेन्द्र यादवले बताए । ‘पहिरो खस्न कम भएपछि करिडोरको लुसा खण्ड खुलाएर पचालझरनाको जारकोटसम्मको सडक सञ्चानमा आएको छ’ उनले भने । यादवका अनुसार त्यहाँबाट अगाडि अन्य ठाउँमा पनि पहिरो गएका छन् । सबै पहिरो पन्छाएर सडक खुलाउने काम तीव्र पारिएको छ ।

गत असोज १९ देखि असोज २६ गतेसम्म परेको अविरल वर्षाले करिडोर क्षेत्रका विभिन्न ठाउँमा बाढीपहिरो गएकाले कर्णाली करिडोर अवरुद्ध हुन पुगेको थियो । ‘अन्य ठाउँको भन्दा लुसामा गएको पहिरो अलि जटिल खालको थियो’, यादवले भने, ‘लुसाको पहिरो पन्छाएपछि अन्य ठाउँको पहिरो पन्छाउन कुनै समस्या रहेको छैन ।’

कर्णाली करिडोरको घाटपारी चौरलगायतका क्षेत्रमा पहिरो पन्छाउने काम चलिरहेकोले हुम्लाको सीमाना सलिसल्लासम्म एक हप्ताभित्र नै यातायातका साधन चल्ने प्रमुख यादवको भनाइ छ । करिडोरका पहिरो जाँदा यातायातका साधन सञ्चालनमा समस्या भएको अहिले कालीकोटको पचालझरनाको जारकोटसम्म यातायात सञ्चालनमा र केही दिनमा अन्य ठाउँको पहिरो पन्छाएपछि पूर्णरूपमा यातायातका साधन सञ्चालनमा ल्याउने मानसरोवर यातायात प्रालिका इञ्चार्ज ललित बमले जानकारी दिए । ‘सडक अवरुद्ध हुँदा यातायातका साधन सञ्चालन गर्न पाएका थिएनाँै’, उनले भने, ‘यातायातका साधन नचल्दा नागरिकले सास्ती बेर्होनु परेको थियो ।’

कर्णाली करिडोर कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिका–८ खुलालुदेखि हुम्ला सिमकोटसम्म एक सय ९६ किलोमिटर लम्बाइ रहेको छ । जसअन्तर्गत कालीकोट जिल्लामा ४० किमि सडकखण्ड, बाजुरामा जिल्लामा ४३ किमि र हुम्ला जिल्लामा एक सय १३ किमि रहेको छ ।

प्रकाशित मितिः   २० कार्तिक २०७९, आईतवार ०५:०४