खाद्यको गुणस्तर नाप्न प्रयोगशाला सञ्चालन

सुर्खेत: वीरेन्द्रनगरमा खाद्यान्न तथा दुग्धजन्य पदार्थको गुणस्तर मापन गर्न प्रयोगशाला सञ्चालनमा ल्याइएको छ । खाद्य वस्तुहरूको गुणस्तर नाप्न नमुना परीक्षण प्रयोगशाला स्थापना गरिएको हो । कर्णाली प्रदेशमै पहिलोपटक सञ्चालनमा ल्याइएपछि खाद्यको गुणस्तर जाँच गर्न सहज भएको बताइएको छ । यसअघि प्रयोगशाला नहुँदा खाद्य वस्तुको नमुना काठमाडौं पठाउनुपर्ने बाध्यता थियो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले केही महिना पहिलेदेखि प्रयोगशाला सञ्चालनमा ल्याएको कार्यालय प्रमुख भेषबहादुर थापाले जनाए । उनका अनुसार ल्याब सञ्चालनमा आएपछि उपभोक्ताको विश्वस्नीयता पनि बढेको छ । ल्याबमा हालसम्म दूध, तेल, सागपातलगायत ९६ वटा नमुना परीक्षण गरिसकिएको थापाले जानकारी दिए । प्रयोगशाला सुरु भएसँगै नागरिकको गुणस्तरीय खाद्यान्न प्रयोग गर्न पाउने अधिकारलाई सुनिश्चित गरेको कार्यालयले जनाएको छ । उक्त कार्यालयमा कर्मचारी अभाव हुँदा सेवा प्रवाहमा भने कठिनाइ छ । प्रयोगशाला खुलेपछि खाद्यान्नप्रतिको उपभोक्ताको गुनासो सम्बोधन भइरहेपनि पर्याप्त जनशक्तिको अभाव देखिएको हो । कूल २१ जनाको दरबन्दी रहेको यो कार्यालयमा अहिले आठ जनामात्रै कर्मचारी कार्यरत छन् । कर्मचारी अभावका कारण सेवा दिन असहज भइरहेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले पछिल्लो समय बजार अनुगमनलाई पनि तीव्रता दिएको छ । साउनदेखि असोजसम्म दुई सय ४८ पटक बजार अनुगमन गरिएको र मापदण्ड बाहिर रहेका तीनवटा दलहन उद्योग शिलबन्दी गरिएको जनाइएको छ ।

प्रकाशित मितिः   २० कार्तिक २०७९, आईतवार ०५:०३