विरुद्ध

चलनचल्तीको युगमा गुमनाम बसिसकेको अथवा बसिरहेको अथवा बस्ने सोचिरहेको एउटा मानिस, के चलनचल्तीको युगको विरुद्धको मानिस हो ?

जस्तैः कतै यात्रामा निस्किरहेको अथवा निस्किन खोजिरहेको अथवा निस्किसकेको एउटा मानिस, के घरको अथवा गृहस्थीको विरुद्धको मानिस हो ?

जस्तैः अन्र्तमनको रहस्य खोजीसकेको अथवा खोज्न प्रयास गरिरहेको अथवा खोज्नेबारे सोचिरहेको एउटा मानिस, के वस्तुको विरुद्धको मानिस हो ?

जस्तैः धर्तीमा भासिसकेको अथवा क्रमशः भासिरहेको अथवा भासिन तमतयार एउटा मानिस, के आकाशको विरुद्धको मानिस हो ?

जस्तैः जताजतैबाट घृणित, अपहेलित, बहिष्कृत, किनाराकृत अथवा शोषित अथवा विभाजित अथवा दूषित अथवा कलङकित एउटा मानिस, के प्रेमको र क्रान्तिको विरुद्धको मानिस हो, अथवा क्षितिजको विरुद्धको मानिस हो ?

जस्तैः भाषा नभएको एउटा मानिस, के बोलिनु र सुनिनुको अथवा जिब्रोको र गलाको अथवा शब्दको र ध्वनीको विरुद्धको मानिस हो ?

जस्तैः आँखा नभएको एउटा मानिस, के हेर्नु र देख्नुको अथवा दृश्यको अथवा उज्यालोको विरुद्धको मानिस हो ?

जस्तैः मन भएको तर भावना नभएको एउटा मानिस, के अभिव्यक्त र स्पन्दनको अथवा छोइनु र प्रताडित हुनुको विरुद्धको मानिस हो ?

त्यस्तैः चुपचाप बसिसकेको अथवा बसिरहेको अथवा बस्ने बारेमा सोचिरहेको एउटा मानिस, के आवाज र प्रष्फुटनको विरुद्धको मानिस हो ?

त्यस्तैः रोइसकेको अथवा रोइरहेको अथवा रूनै लागेको अथवा कसै गरेर रून नसकिरहेको एउटा मानिस, के रून नहुने भावनाको विरुद्धको अथवा हाँसोको विरुद्धको मानिस हो ?

त्यस्तैः मरिसकेको अथवा मर्नै लागेको अथवा मर्न नसकिरहेको एउटा मानिस, के मर्न नहुने भावानाको विरुद्धको अथवा जीवनको विरुद्धको मानिस हो ?

त्यस्तै: रङ नभएको अथवा रङ मन नपराउने अथवा रङको अस्तित्व र संयोजन बारेमा अलिकता पनि सचेत नभएको अथवा सचेत भएर पनि मतलब नभएको अथवा मतलब गर्न नचाहेको एउटा मानिस, के इन्द्रेणीको विरुद्धको मानिस हो ?

त्यस्तैः आफूलाई आफ्नो उपस्थितिभन्दा अन्यको अनुपस्थितिको खाँचो भएको अथवा अन्यको महŒव ठान्ने अथवा अन्यमा आफूलाई सजिलै पाउने अथवा पाउन प्रयत्न गर्ने अथवा नपाएपनि परन्तु प्रयत्न गरिरहने एउटा मानिस, के आफू विरुद्धको मानिस हो ?

त्यस्तैः उडिरहेको चरा अथवा हावा अथवा भुवा अथवा भुमरी देखेर पनि किञ्चित उड्ने बारेमा कौतुहलता नआइरहेको अथवा उडने उत्सुकता नपाइरहेको अथवा उड्ने कुरा खास त्यस्तो अनौठो, अचम्भित र रहस्यमयी नठानिरहेको अथवा उड्ने कुरामा मूल्य र शून्य नभेटाइरहेको अथवा उड्ने कुरा अनिवार्यता र नियमित प्रक्रिया पटक्कै नमानिरहेको एउटा मानिस, के चरा अथवा हावा अथवा भुवा अथवा भुमरी अथवा ति सम्पूर्ण उड्ने चिजहरूको विरुद्धको मानिस हो ?

त्यस्तैः धर्ममा आस्था नभएको अथवा धार्मिक हुन नरुचाइरहेको अथवा धर्ममा कर्म नभेटाइरहेको अथवा धर्ममा प्रश्न नभेटाइरहेको अथवा धर्ममा धर्म नै नभेटाइरहेको एउटा मानिस, के धर्मको विरुद्धको अथवा पाप र पूण्यको विरुद्धको अथवा स्वर्ग र नर्कको विरुद्धको मानिस हो ?

त्यस्तैः पानीमा आगो नभेटाइरहेको अथवा पानीमा आगो हुनुपर्ने धारणा राख्ने अथवा आगोमा पानी नभेटाइरहेको अथवा आगोमा पनि पानी हुनुपर्ने धारणा जब्बर रूपमा राख्ने एउटा मानिस, के पानीको विरुद्धको अथवा आगोको विरुद्धको मानिस हो ?

त्यस्तैः काँडामा वा काँडाको घोचाइमा रूचान र रूझान भएको अथवा काँडामा जीवनको गहिरो अर्थ र यथार्थ निहित भएको बोध उजागर गर्ने अथवा बोटमा काँडा नभएको भए फूल र त्यसको सुन्दरता फिक्का, अनाकर्षण र अनावरण हुने ठोकुवा गर्ने एउटा मानिस, के फूलको विरुद्धको मानिस हो ?

त्यस्तैः बादलले घाम छेकेकोमा अथवा कहिले छेक्दै नछेकेकोमा अथवा पानी तारन्तार पारिरहेकोमा अथवा कहिले पार्दै नपारेकोमा दुःखेसो पोखिरहने एवम् पिल्सिरहने एउटा मानिस, के बादलको अथवा बादलको अस्तित्व र प्रक्रियाको विरुद्धको मानिस हो ?

त्यस्तैः जसलाई पनि धोकाको नजरले हेर्ने गरेको अथवा यो संसार धोकाकै प्रतिफल हो भन्ने अथवा धोका दिएर हिँड्दै र जिउँदै गरेको अथवा धोका दिँदै र जिउँदै बाँच भनेर अरुलाई पनि उक्साइरहेको अथवा धोकाको क्रिया प्रतिक्रियामा मानविय सम्बन्ध चलिरहेको छ अथवा सर्वदा चलिरहनु पर्ने धारणा राख्ने अथवा धोका विनाको संसार एवम् प्रेम एवम् स्वयम्को परिकल्पना गर्नै नसकिने अथवा गर्नै नहुने स्पष्ट र क्लिष्ट दर्शन भएको एउटा मानिस, के आपस्तको सम्बन्धको अथवा साथको अथवा प्रेमको अथवा प्रकृतिको विरुद्धको मानिस हो ?

त्यस्तैः चन्द्रमा भएर दिन र रात भएकोमा गुनासो गर्ने अथवा चन्द्रमालाई सुटुक्क सुर्य र पृथ्वीको माँझबाट निकालि दिन पाए सोच्ने अथवा चन्द्रमाको कारणले मानव सुन्दरताको परिभाषा नै बदलिएकोमा सुर्ता गर्ने अथवा चन्द्रमा विनाको पृथ्वीको अथवा सम्पूर्ण सौर्य मण्डलको अथवा मिल्किवये ग्यालिक्सिको अथवा ब्रहमाण्डको उपस्थिति र तिनको ऊर्जाको सजिलै परिकल्पना र प्रक्षेपण गर्ने एउटा मानिस, के दिन र रातको अथवा चन्द्रमाको अथवा सौर्य मण्डलको अथवा ब्रहमाण्डको विरुद्धको मानिस हो ?

त्यस्तैः अन्याय र अत्याचारको दलदलमा फसिरहेको परिस्थितिमा र मनस्थितिमा समाजलाई अथवा सम्रग सामाजिक एवम प्राकृतिक परिवेशलाई परिवर्तनका खातिर हामी सबैले उचित अवस्थामा तमतयार पार्नुपर्दछ भन्ने अथवा त्यो परिवर्तन एवम् रूपान्तरणको यात्रामा हतियार उठाउनु पर्दछ भन्ने अथवा युद्ध गर्नु पर्दछ अथवा क्रान्ति गर्नु पर्दछ अथवा विद्रोह गर्नु पर्दछ अथवा प्रतिरोध गर्नुपर्दछ अथवा प्रतिसोध साध्नु पर्दछ भन्ने अथवा यो मानव सभ्यताको र समाज विकासक्रमको अनिवार्य सर्त हो भन्ने कुरामा दृढ एवम् प्रतिबद्ध एउटा मानिस, के शान्तिको विरुद्धको अथवा सभ्य समाजको विरुद्धको अथवा सामाजिक एवम् प्राकृतिक विकास सिद्धान्तको विरुद्धको अथवा समग्र समयको अथवा विज्ञानको अथवा मनोविज्ञानको अथवा आत्मज्ञानको अथवा परमज्ञानको विरुद्धको मानिस हो ?

जस्तैः कसरीकसरी टुटिरहेको अथवा फुटिरहेको अथवा निमोठिरहेको अथवा अड्किरहेको अथवा कतैबाट अडिरहेको अथवा कतैबाट खसिरहेको अथवा कतैबाट झरिरहेको अथवा कतैतिर अलपत्र परेको अथवा कतैतिर अलप भइरहेको अथवा कतैतिर आलापविलाप गरिरहेको अथवा कतैतिर छटपटाइरहेको अथवा कतैतिर मिल्किरहेको अथवा जम्मै यी चिजबाट मुक्त हुन चाहिरहेको एउटा मानिस, के टुट्नुको अथवा फुट्नुको अथवा निमोठिनुको अथवा अड्किनुको अथवा अड्नुको अथवा खस्नुको अथवा झर्नुको अथवा अलपत्र पर्नुको अथवा अलप हुनुको अथवा आलापविलापको अथवा छटपटाउनुको विरुद्धको मानिस हो ?

त्यस्तैः मानिस नै हुन नचाहिरहेको अथवा मानिसको परिभाषा र संरचना नबुझिरहेको अथवा मानिस हुनुमा पनि मानिस आभास नगरिरहेको एउटा मानिस, के मानिसको विरुद्धको मानिस हो ? अथवा मानिसको अस्तित्व विरुद्धको मानिस हो ? अथवा मानिस भित्रका प्रत्येक अङ्ग र अंशविरुद्धको मानिस हो ? अथवा मानिसको मानवता र आत्माको विरुद्धको मानिस हो ? अथवा मानिसको ‘म’ को विरुद्धको मानिस हो ?

त्यस्तै ः कुनैको पक्षधरता नभएको अथवा पक्षधरतामा विश्वास नभएको अथवा कुनैको विरुद्धमा नभएको एउटा मानिस, के पक्षधरताको विरुद्धको मानिस हो ? अथवा विरुद्धको विरुद्धको मानिस हो ?

यसरी जस्तै र त्यस्तैको शिलशिलेवार क्रमशः चलिरहने छ । त्यसकारणले समग्रतामा प्रश्न के हो त भन्दा अथवा यस शिलशिलेवारको अन्त र अन्तर्य के हो त भन्दा, के मानिसको अस्तित्वको निर्माण/विनिर्माण अन्य चिजको विरुद्धमा बनेको हो ? (ईश्वारवादीहरूको अईश्वरवादीहरूलाई प्रश्न) अथवा बनाइएको हो ?(अईश्वारवादीहरूको ईश्वारवादीहरूलाई प्रश्न) ।

अवस्य पनि मानिसको अस्तित्वको निर्माण÷विनिर्माण कसैका विरुद्धमा बनेको अथवा बनाइएको होइन; यो सामान्यतयाः मानविय ब्रह्मले अथवा चेतले हामी सबैलाई थाहा भएको कुरा हो । अथवा भनौ अन्य कुनै चिज वा प्राणी पनि कसैका विरुद्धमा बनेका अथवा बनाइएका होइनन् । अथवा ति पक्कापक्कि मानिसका विरुद्धमा बनेका अथवा बनाइएका होइनन् ।

जस्तै ः चरा कुनै पनि जनावरको अथवा मानिसको विरुद्धमा बनेको अथवा बनाइएको होइन । यहाँनेर प्रश्न त उठ्ने नै छ । त्यसोभए जनावरले अथवा मानिसले अथवा स्वयम् चराले नै चरालाई विरुद्धमा गएर आखिर किन खान्छ त ? किन खान्छ त भन्दा प्राकृतिक प्रक्रिया, नियम, आवश्यकता र नियमितताका लागि खान्छ । प्राकृतिक प्रक्रिया, नियम, आवश्यकक्ता र नियमितताका क्रममा जनावरले चरा पनि खान्छ, मानिस पनि खान्छ, घाँस पनि खान्छ अथवा स्वयम् जनावर पनि खान्छ । यस्तै मानिसले चरा पनि खान्छ, अन्न पनि खान्छ, सागपात पनि खान्छ, जनावर पनि खान्छ अथवा बाध्यतै परे स्वयम् मानिस पनि खान्छ । यस्तै चराले पनि किराफट्याङ्ग्रा खान्छ, अन्न पनि खान्छ, मानिस अथवा जनावर कुहिएको पनि खान्छ अथवा स्वयम् चरा पनि खान्छ अथवा भनौ यो चलिरहन्छ । अथवा प्राकृतिक प्रक्रिया, नियम, आवश्यकता र नियमितता यी कसैका विरुद्धमा रचिएका हुँदैनन् ।

बरु उल्टो पछिल्लो समय आधुनिकताको नाममा अथवा चेतनशील प्राणी भएको अहममा अथवा विज्ञानको गलत प्रयोग गरेर अथवा पुँजीवादको डरलाग्दो जालो फिजाएर अथवा शक्तिको मातले अथवा नकरात्मक प्रवृति आफूमा हाबी गराएर अथवा हुन दिएर केही निश्चित मानिसले पृथ्वीका हरेक चिजबिजहरूलाई अथवा प्राणीहरूलाई एकअर्काको विरुद्धमा उत्रिन अथवा उर्तान विवश गराएका छन् । अथवा भनौ यस्तो वातावरण निर्माणमा ति मानिस अहोरात्र लागिपरेका छन् । जसको परिमाण स्वरूप पृथ्वीको आयु सकिँदै गइरहेको छ र आयु सकिँदै गइरहेको पृथ्वीमा बहुशंख्यक हामी बाच्न विवश छौँ ।

अतः जब कि हामी उत्पति हुँदै कसैका विरुद्धमा उत्पति भएका होइनौ भने केही निश्चित मानिसहरूको नाफा, स्वार्थ र हठका लागि हामी बहुसंख्यक मानिसहरू किन आपस्तको विरुद्धमा अथवा अन्य चिज वा प्राणीका विरुद्धमा परिचालित भइरहेका

छौँ ? किन हामी नतमस्तक छौ र मूर्तिवत छौँ ? किन भोक्ता छौँ अनि भोक्ता भएर किन दर्शी पनि छौँ ? स्वर किन दबेको छ र सास किन घिटिघिटि भइरहेको छ ? मन किन सपाट छ र मानस किन जड छ ? सोच किन फुङ्ग छ, चेतना किन चेट छ र होस् किन बेहोस् छ ? जिब्रो लाटिसकेको किन छ, नशा किन फतक्क गलिसकेको छ र किन अनुहार निभिसकेको छ ? किन रगत फाल्साफाल्सा छैन, किन हात र खुट्टा स्फुर्त छैन र किन जिवन मूल्यवान् छैन ?

अथवा के हामि साँच्चैमा मरिसकेका हौँ ?

प्रकाशित मितिः   १९ कार्तिक २०७९, शनिबार ०८:४९