अनुभूति

एक रातको हिरासत !

‘कलिङ लिटरेचर फेस्टिभल’को पहिलो नेपाल संस्करणमा सहभागी हुन गजलकार महेन्द्र चन्द ‘महासागर’, खगेन्द्र अटल, लक्ष्मण संगम र पंक्तिकारसहितको टोली असोज २७ गते काठमाडौंको लागि प्रस्थान ग¥यौं । ठीक ४ः२२ मा यात्रु बाहक बस सुर्खेत बसपार्कको गेटबाट बाहिरियो र रत्न राजमार्गको छातिमाथि चारपैया गुडाउँदै लम्कन थाल्यो । रात्री बसमा सुर्खेतदेखि काठमाडौंसम्म यात्रा नगरेको पनि धेरै भएको थियो । आकाशमा उड्ने जहाजको टिकटको मूल्यले पनि आकाशै छोएपछि जमिनमै गुड्ने बस चढेर काठमाडौं जाने बाहेक अर्को विकल्प हाम्रोअघि थिएन ।

एकदिन अघि नै टिकट बुकिङ्ग गर्न बसपार्क पुग्दा सुर्खेतदेखि काठमाडौं जाने अधिकांश बसका सीटहरू सबै प्याक भइसकेका थिए । बडो मुस्किलले डिलक्स बसमा ९ देखि १२ नम्बरका सीटहरू खाली भेटिए । सीट ठीकै ठाउँमा भेटिए भन्ने लागेर टिकट काट्यौँ । बुक गरिएका सीट टायरको माथि पर्छन् भन्नेकुरा कसैलाई थाह भएन, सीट बुक गर्ने बेला । घैटोमा घाम त्यतिखेर लाग्यो जब जानेबेला सीट खोज्दै जाँदा बसको झ्यालबाट अटलले मेघाश्री चपाएर थुक प्याच्च बाहिर थुक्यो र सीटमा थच्चक बस्यो । उसले भन्यो ‘दाजु सीट त साला टायरमाथि पो पर्दाे रहेछ !’

अहो, उफारेर मार्ने भयो ! मनमनै लाग्यो मलाई पनि । सुर्खेतदेखि हात्तीसारसम्म बाटो बक्ररेखाको आकारमै भएको हुदाँ बान्ता नहुने जोकोहीलाई बान्ता हुन्छ । मलाई बान्ता त भएन तर होला होला जस्तो भएर मचमची छुटिरह्यो न्वारनदेखिको बल लगाएर दबाइराखेँ, संयोगले बान्ता भएन ।

मित्र महासागर र मेरो भने झ्यालमा बस्ने रस्साकस्सी चलिरह्यो काठमाडौं नपुगुञ्जेलसम्म । दुई या तिनपटक बाहेक लक्ष्मण संगमलाई अटलले झ्यालमा बसेर बाहिरको ताजा हावा खाने अवसर दिएन । काठमाडौं नपुग्दासम्म संगममाथि अटलको दबदबा कायमै रह्यो । झर्ने बेला भने अटलको दबदबा वाक–वाकी भएर पोखियो माछापोखरीको चोकनिर । जब हर्रेको ओरालोमा बस मृगको गतिमा ओरालो लाग्यो तब रिङ्गटा चल्न सुरु भयो । बसभित्र बजिरहेका बेसुरे काठे गितले झन् टाउको दुखाएर रिङ्गटा लगाउन मलजल गरे । बेसुरे गित र चर्को आवाजले टाउँकाको गिदी झर्लाझैँ भयो । आवाज कम गर्न भनेर जति कराए पनि हाम्रो केही जोर चलेन । ड्राइभरले बेसुरे गितकै तालमा गाडी दौडाइरह्यो भातखाने अड्डासम्म । कसैलाई उछिन्न दिएन काठमाडौं नपुगुञ्जेलसम्म । पहिलो भइरह्यो ।

कोहलपुर पुगेपछि केही राहत भयो । बाटो सिधा भएकाले केही शान्ति मिल्यो । गाडि चालक र होटेल साउजीको सेटिङ्गमा जंगलको बिचभागमा ढावा सञ्चालन गरी कमसल खाना खुवाएर यात्रुबाट सक्दो रूपैयाँ असुल्ने परम्परा झन फस्टाएको देखियो । होटेल साउजी र गाडीवालाको उक्त हर्कतबाट हामी पनि उम्कन सकेनौँ । जालमा फसेका माछाकोझै हबिगत भयो हाम्रो पनि । भोकका मुसा पेटमा दगुरेपछि बाँसी भात पनि नखाई करै लागेन हामीलाई । बसको स्याट लागेर होला महासागर र अटलले भने कागतिको नाउँमा अमिलो निचोरी निचोरी खाना दबाइरहे ।

करिब २० मिनेटको विश्रामपछि बस तीव्र गतिमा हुइकियो आफ्नै लयमा राजधानीतिर । रात छिप्पिदै गहेको थियो बस बाहिर भने सन्नाटा छाएको थियो । अघिसम्म दिमाग हल्लिने गरि बजेका गितले यतिखेर विश्राम लिइरहेका थिए । यात्रुहरू सीटमा सुतिरहेका थिए । अघिसम्म गाडिवालासँग ब्ल्याङ्केट मागेर कोलियामा ओहोर–दोहोर गरिरहने दाई बसको धुलाम्य कोलियामा निदाइसकेका थिए । उनको अवस्था देखेपछि स्कुल पढ्दा साथीहरूले सुनाउने गरेका त्यहीँ सायरी सम्झे मनमनै ।

भोकले भन्दैन बाँसी भात
निदले भन्दैन टुटेको खाट
प्रेमले भन्दैन जात न भात

आँखा चिम्म गरेर निदाउने अभिनय जति गरे पनि म रातभर निदाउन सकिनँ । बुटवलदेखि नारायणगढसम्म बाटोको अवस्था नाजुक त थियो नै धुलोको साम्राज्यले रूपन्देही र नवलपरासीको पर्यावरणनै प्रदूषित बनेको देखिन्थ्यो । धुँवाधुलोले भरिएको दृष्य देखेपछि मलाई यसो लाग्यो राज्य पनि प्रदूषित वातावरण बेगर बाँच्न सक्दैन । त्यसैलेत बोटविरुवा लगायत सजिव प्राणीहरूलाई सास्ती दिइरहेको छ । बिनाशबाटै विकास हुन्छ, विकासको नाउँमा विनाश गरेर मान्छेलाई रोगी बनाएर विकास गर्नुको तुक हुँदैन । नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा अवस्थित छ । पवित्र बुद्धभूमि लुम्बिनीमा छ । यावत चिजको ध्यान गरेर राज्यले गैडाकोटदेखि बुटवलसम्मको सडक दुई वर्ष अघिनै पूरा गरीसक्नु पर्ने हो । बाटोको स्तरोन्नति कछुवाको गतिमा हुनु विडम्बना लाग्यो ।

म पानीको सेवन अक्सर बढी नै गर्छु । पिसाब पनि बढी नै गर्छु अरुको भन्दा तर सुगर रोग लागेर होइन । अहिलेसम्म कुनै रोगले छोएको छैन मलाई । सार्वजनिक यातायातमा चढ्नुपूर्व ड्राइभरसँग कमिटमेन्ट गरेर मात्रै चढ्ने गर्छु । यो पटक भने गर्न भुलेँ । अक्सर सुर्खेतबाट गाडी चढ्दा मनमनै डर लागिरहेको थियो । लामो दूरीका चालकहरू गाडी सित्तिमित्ति रोक्दैनन् बाटोमा । गाडी रोकाउँदा गाडी स्टाफसँग भनाभन भएका किस्साका अनुभूति जिन्दगीमा धेरै छन् ।
हामी बसेको दुई सीट पछाडि एउटी अधवैशे बहिनी बसेकी थिइन् । आज मेरो काम तिनै बैनीले तमाम गरिन् । मैले कतै पनि गाडी रोक्नु परेन । हामी नेपालीहरूको बानी अवसरवादी छ । हामी अगाडि देखिन चाँहदैनौँ तर अवसर भने लिएरै छोड्छौँ । गाडी हुँइकीरहेको हुन्थ्यो बैनी आधा–आधा घण्टाको फरकमा पछाडिबाट चिच्चाइ हाल्थिन र भन्थिन्, बस रोक बस रोक । पिसाबले च्याप्यो । सुतेकाहरूको पनि निद खुलिहाल्थ्यो । बस रोकिन्थ्यो बैनिभन्दा अगाडि गुरुरुरु निदाएकाहरू अगाडि जान्थे मुत्न । फेरि गाडी केही बेर दुगुथ्र्यो, बहिनी पछाडिबाट पुनः पहिलेकै प्रक्रिया दोहो¥याउँथिन् । बस रोकेन भने उनी अगाडि नै गइहाल्थिन् र उभिन्थिन ढोकामा । फेरि उही प्रक्रिया दोहोरिन्थ्यो ।
बिहानको करिब पौने पाँच बजे हामी चितवनको विशालनगर÷रामपुर पुग्यौँ । काठमाडौं जादा बिहानको नित्यकर्म गर्ने समय त्यही पर्ने हुँदा अक्सर पूर्व–पश्चिमबाट आउने सवारी गाडीहरू त्यही रोकिन्छन् । हामी सवार गाडी पनि रोकियो । सबै गाडीबाट झ¥यौँ । बिहानिको कर्ममा सबै ट्वाइलेका ढोकाहरू ढकढकाएर लिन भए । कोही अनिदा आँखाको बीस पखाल्न आँखामा पानी छर्कन र ब्रस गर्न थाले । हाम्रो ग्याङ्ग भने सबै कर्म सकेर एउटा चियापसलमा जम्मा भयो । अनिदो रातको ह्याङ्ग हटाउन सलाईको माउस दबाएर एक सर्को धुवाबाट माइन्ड रिफ्रेस ग¥यो र तान्यो सुरर गर्दै चियाको चुस्की अटलले । पिसाब लाग्ने डरले मैले अण्डा र चनामात्रै चपाएँ । लक्ष्मण र मित्र महासागरले चना अण्डाको सुप लिए । चिया नास्तापछि हामी बस चढ्यौँ । छुटेकी प्रेमीका भेटाउला झै गरेर बस दौडियो । हाम्रो मन दौडियो काठमाडौं छिटो पुग्न र मित्र बाबु त्रिपाठी र प्रज्वल अधिकारीको आत्मियताभित्र आत्मिय प्रेम साटासाट गर्न । मित्र बाबुजीका तारनतार बजीरहने मोबाइलको घण्टीको रिङ्ग त्यसैको उदाहरण थियो भन्ने लाग्छ ।

बस चढ्नु पूर्व ति बहिनीलाई धन्यवाद दिनै पर्छ भन्ने जिज्ञासा जाग्यो । मैले गर्ने काम आज तिनै बहिनीले गरिन् भन्ने मनमनै सम्झेँ, मित्र महासागरलाई पनि सुनाएँ । ‘दिसा–पिसाब रोक्नु हँुदैन मैले गर्ने काम तपाईंले गरेको हुँदा तपाईंलाई धन्यवाद छ बैनी’ भनेँ । उनी लजालु स्वभावमा मुस्कुराइन् । मित्र महासागर, अटल, संगम र वरिपरीका युवाहरू गललल हाँसे । ‘अब गाडी तपाईंले रोक्नु पर्दैन ल । रोक्नु परे म गाडी रोकौंला’ भन्दै उनको आत्मबल बढाउँदै हौसला थपे । तन्नेरीहरु फेरि गललल हाँसे । गाडी बाँउ फेरो पार्दै त्रिशुलीको किनारै किनार हुँइकीरह्यो राजधानी भेटाउन उत्तर दिशा ।

दासढुङ्गा, मुग्लिन, कुरिनटार, गल्छी, चालिसे, नागढुङ्गा, थानकोट हुँदै उपत्यका छि¥यो र हामी पुग्यौँ दिनको ११ बजे बालाजु । नवलपरासी, रूपन्देहीको धुँवाधुलोले होला हामी चढेको बसको हुलिया पनि फुटपातमा बसेर भिख माग्ने भिखारीको भन्दा कम थिएन । सीटहरू मैला थिए । कोलिया, ढोका, झ्यालका चरहरू धुवाधुलोले भरिएका थिए । झ्याल पुरै बन्द गरिदिने हो भने नराम्रो गन्ध आउने । खोलीदिने हो भने बाहिरको धुँवाधुलोले हैरान बनाउने । ‘नखाउँ भने दिनभरिको सिकार, खाउँ भने कान्छा बा को अनुहार’ जस्तै भयो ।

शीरमा छरेको सेन्टले पनि काम गरेन, बस भित्रको गन्ध हटाउन । मास्क लगाएर बस्नुको उत्तम विकल्प अरु केही भएन । नियतिको सामना गर्दै बडो मुस्किलले काठमाडौं पुयौँ । बसपार्क ओर्लदा हामी आफ्नो स्वभाविक हुलियामा थिएनौँ । शरीरभरी धुलो र धुलोले टाउँकाका रौँहरू जिरिङग भएर भालाको आकार लिएर ठडिएका थिए । चक्रपथमा घुम्ने बसको फेरो समाएर हामी गौशाला पुग्यौँ । हाम्रो नाउँमा होटल सम्भवीमा ४०१ नम्बर कोठा दुई दिन अघिनै बुक भइसकेको रहेछ । साउजीले उक्त कोठाको चाबी हातमा थमाएर रुजु गराउँदै हस्ताक्षर गराए इन्ट्री रजिस्टरमा । अनिदोको झोकमा हामीले पनि हस्ताक्षर ठोक्यौँ । सिंढी उक्लदै चारतला माथि । झोलाहरू थन्कायौँ टेबल र दराजमा । होटलका रुम वातानुकुलित थिए । ठाउँ पनि एकान्तमै थियो । ठाउँको नाम बत्तिसपुतली । प्रजवलजी र मित्र बाबू त्रिपाठी केही छिन् पछि आउनु भयो । उहाँ भन्दै हुनुहुन्थ्यो, ‘कस्तो छ रुम गुरुदेव ?’ हामीले भन्यौँ, ‘यो भन्दा राम्रो के होला गुरुदेव । रुम राम्रो मात्रै होइन बहुत सुन्दर छ ।’ उहाँको निधारमा खुसीका लहरहरू दौडिए । मुहारमा खुसी दौडियो । अझै भनौ सम्भावी होटलको खाना फाइभ स्टार होटलको भन्दा स्वादिष्ट लागेको थियो मलाई र महासागरलाई । फर्कदा हामी बाटोभरी त्यही खानाको कुरा गरेर थाकेनौँ । रातभर अनिदोले सबैलाई गालेको रहेछ । हाम्रा आपसमा कुरा मात्रै भएका रहेनछन् । सुतेको स्वाङ्ग गरेपनि निद्रादेवीको काखमा गएर कोही पनि निदाएका रहेनछौँ । ती तल कोलियामा गर्लमै निदाएका दाइ मात्रै सक्कली निदाएका रहेछन् अरु हामी सबैको नक्कली निद रहेछ । सुरुङ्ग मार्गमा पुग्दा ती दाइ भन्दै थिए मैले त जसोतसो निद पु¥याएँ । खाना खाइबरी पश्चात् केही समयको लागि भए पनि अटल, महासागर र मैले आँखाको तियुर मार्‍यौँ ।

देशका कुना कुनाबाट साहित्यकारको उपस्थिति भइरहेको थियो । साथिहरू जम्मा हँुदै थिए । धेरैजसो साहित्यकारको बसाइँ होटेल सम्भवीमै भएको हुदाँ ।

साहित्यकारहरूको आगमन भइरहेको थियो । फेसबुकमा साथी भएर पनि भौतिक रूपले भेटघाट नभएका साथिहरू जम्मा भएर परिचित हुने अवसर मिलेको थियो । दिदी सिमा आभाष, रोशन परियार, रहस्य विक्रम चिमरिया, भुपिन खड्का, अमृत क्षत्री, उमेश बिद्रोही, जितेन लिम्बु, मुनराज सेर्मा, किराती, छवि अनित्य, अनिता न्यौपाने, संगिता थापा पूर्वबाट थिए भने पश्चिमबाट आशासाकी बलायर, नवीन अभिलाषी, रूपेश अन्जान, विपी अस्तु, बरिस्ठ साहित्यकार सनत रेग्मी सरको बसाइँ पनि सम्भवी मै थियो । दुई जना भारतिय कवियत्री भने बसेनन् उनीहरू अन्तै गए । अझै केही साथिहरू नाम सम्झना भएन ।

साँझ भइसकेको थियो । नृपेश उप्रेती बेलायत बस्नु हुन्छ । उहाँको गजलप्रतिको क्रेज भनौ या आदत भनौ । दुईचार जना सायरहरू जम्मा देखेख्योकी गजलका शेर गुनगुनाएर आत्मियता बाढी हाल्ने उहाँको स्वभाव रहेछ । उहाँको पनि आगमन भएको रहेछ सम्भवी होटेलको तल । कवि सायरहरूसँग बसेर भलाकुसारी गर्ने सरसल्लाह भएको रहेछ । हामी सबै हुल बाँधेर होटलको बाहिर जम्मा भयौँ ।

हामीलाई यात्राको चिसो लागेको थियो । संगिता थापा र बाबूजी लगायतका केही कवि सायरहरूलाई डेङ्गुले थलाएर उक्त रोगबाट भर्खर तंग्रनु भएको थियो । मलाई भने चार महिना अगाडि मित्र बिपिन सलामीले त्यही ठाउँ लिएर जानु भएको थियो, खसीको सुरुवा खान पाइने रेष्टुरेन्टमा । आज पनि त्यसै रेष्टुरेन्टको ताततातो खसीको सुरुवा खाने ठम्को मित्र बाबु त्रिपाठीले जुराएका रहेछन् । पन्ध्र–सोह्र जनाको लत्को लागेर हामी त्यही पग्यौँ । सुरुवाको झोल पियर चिसो हटाउन । सुरुवाको झोल पिउनेले, झोल मात्रै पिए । सुरुवाको झोलसँग सोमरसको पञ्चामृत चाख्नेले मजैले पञ्चामृत चाखे । केही समयको अन्तरालपछि हामी सबै बत्तिसपुतली होटेल फर्कियौँ । ईश्वर दाहाल, खगेन्द्र अटल र प्रज्वल अधिकारी बिचैदेखि गुलेलीबाट मटेंग्रा फुत्केझै अघिनै फुत्कीसकेका रहेछन् । मटेग्राहरू भने कवि रोसनजीले धरानबाट ल्याएको सोमरसको इनारमा डुबिसकेका रहेछन् मजाले । विद्या निर्दोष, महसागर, रोसन परियार र पंतिकार रुममा पुग्दै गर्दा अटलले उपर्दै मच्चायो । चियर्सको नाउँमा बिस्तरा भिजाए साथिहरूले । विद्या निर्दोषको अर्ती त्यसदिन काम लागेन अटललाई ।

म निस्कएँ आफ्नै रुमतिर । अलि पछि महासागर आउनु भयो । अटल बिचमा उठाउन आएको थियो । अनिदो भएर म उठ्न सकिनँ । अहिले चाबी घुसारे पछि कोठाको बत्ती बल्ने सिस्टम भिआइपी होटलहरूले गर्ने गरेका छन् । चाबी बाहिरबाट लगाएर अटल ओर्लियो तल्लो तला । अटल फर्केर आएन । म र महासागर अँध्यारोमै निदाउन विवश भयौँ । मेरो लागि अघिसम्मको वातानुकुलित कोठा हिरासत लाग्यो । आफैलाई ४०१ नम्बर कोठाको कैदी ठानेँ । स्वर्ग नै किन नहोस् आफ्नो तरिकाले हिँड्डूल गर्न मिलेन भने स्वर्ग पनि झ्यालखाना लाग्ने रहेछ । एटेच बाथरुम नभए त खतमै गर्ने रहेछ भन्ने कौतुहल जाग्यो मनमा । लजको एकरातको बन्दी जीवनले जेलका कैदीहरूको अनुभीति गरायो । रूपेश अन्जान बिहानै गुनासो सुनाउँदै थियो ताला खुलेपछि ।

साथिहरूले बाहिरबाट धेरै पटक ढोका ढकढकाउन आए तर कोठा खुलेन । चाबी उस्ले चिल्ली चिकेनको परिकार मुनि घुसारेको रहेछ । चाबी भेटाएपछि बिहान प्रज्वलजी अटलका किस्सा सुनाउँदै हुनुहुन्थ्यो । ढोका खोल्नको लागि बाथरुमको झ्यालबाट आवाज दिए पछि संगिताजी अटलको कार्यबाट जिब्रो टोक्दै हाँस्दै थिइन् । एस्ट्रा चावीबाट होटेलको ढोका खुलेपछि मलाई भने पिँजडाबाट मुक्त भएको अनुभुति भयो ।

प्रकाशित मितिः   १९ कार्तिक २०७९, शनिबार ०९:०५