गढीको संरक्षण

सुर्खेतको ऐतिहासिक र पर्यटकीय क्षेत्र हो गढी । वि.सं. १८४८ मा बयलकाँडा गढी निर्माण गरिएको मानिन्छ । नेपाल एकिकरणका समयमा दैलेख राज्य जित्ने क्रममा दैलेखमा बनाउँदा सुर्खेतमा पनि गढी बनाइएको हुन सक्ने अनुमान गरिएको छ । त्यसले पनि त्यहाँ उत्खनन् गरे केही प्रमाण फेल पर्न सक्ने देखिन्छ । नेपाल एकीकरणको समयमा बनाइएको ऐतिहासिक गढी भने संरक्षणको पर्खाइमा छ । इतिहासको संरक्षण गर्नेतर्फ सम्बन्धित पक्षको ध्यान पुग्न सकेको छैन । जसले गर्दा गढी पनि भग्नावशेषमा परिणत भएको छ । पछिल्लो समय त गढीको स्वरूप नै बिग्रिदै गएको छ । न त गढीको उचित संरक्षण भएको छ न त्यस आसपासका बस्तीको विकास हुन सकेको छ ।

हाल वीरेन्द्रनगर–१४ मा पर्ने गढी कुनै बेला सुर्खेतको सदरमुकाम थियो । २०२३ सालपछि जिल्ला सदरमुकाम वीरेन्द्रनगर उपत्यकामा स¥यो । सदरमुकाम सारिएसँगै त्यस क्षेत्रका अधिकांश बस्ती पनि उपत्यकामै सरे । ऐतिहासिक र पर्यटकीय उक्त क्षेत्र विस्तारै ओझेलमा प¥यो । बस्ती पातलो भएपछि विकासमा सरोकारवालाको चासो गएन । अहिले पनि गढी आसपासका गाउँहरू आधारभूत पूर्वाधार पर्खिरहेका छन् । त्यहाँका बासिन्दा सडक, खानेपानी र बिजुली बत्ति पु¥याइदिने व्यक्ति र निकायको खोजिमा छन् । प्रदेश राजधानी वीरेन्द्रनगरभित्रको एउटा ऐतिहासिक स्थानका बासिन्दाको दैनिकी कुनै विकट गाउँकोभन्दा कम छैन । त्यहाँका बासिन्दाले पक्की सडक, खानेपानी र विद्युत सेवाका लागि वर्षाैंदेखि नेता गुहारे, थुप्रै निकाय धाए । तर, ती मागको सुनुवाई कतैबाट भएन । यसपालि पनि नेताहरू विकासका चुनावी नारा लिएर ती बस्तीहरूमा पुगेका छन् । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका उम्मेदवार विकासका योजना सुनाएर गढी क्षेत्रबाट मत बटुल्ने कसरतमा छन् । उम्मेदवारले घरदैलो गर्नेक्रममा विकासका आश्वासन बाँड्न थालेपछि फेरि एक पटक त्यहाँका मतदातालाई आशा भने पलाएको छ ।

गढीवासीलाई सबैभन्दा बढी सडक र खानेपानीको समस्या रहेको छ । चुनावका बेला नेताहरूले गर्ने प्रतिबद्धता अनुसार काम नहुँदा गढीको अवस्था ज्युँका त्यँु रहेको देखिन्छ । यसअघिका थुप्रै निर्वाचनमा उम्मेदवारहरूले आफू निर्वाचित भए गढी आसपासका बस्तीहरूमा राम्रो सडक, खानेपानी र विद्युतको प्रबन्ध गर्ने प्रतिबद्धता जनाएका थिए । अहिले फेरि निर्वाचन नजिकिएसँगै गढीको विकास गर्ने चर्चा सुनिन थालेको छ । पर्यटकीय सम्भावना बोकेको गढीको संरक्षणका साथै त्यसक्षेत्रका नागरिकले भोगेका समस्या समाधान गर्ने योजना अपरिहार्य भएको छ । चुनावी आश्वासका लागि मात्रै होइन कार्यान्वयन गर्ने उम्मेदवार गढीवासीको रोजाइमा पर्नेछन् ।

प्रकाशित मितिः   १७ कार्तिक २०७९, बिहीबार ०५:०३