शैक्षिक पूर्वाधार कार्यक्रमको निरन्तरता
सुर्खेत: कर्णाली प्रदेश सरकारको विद्यालय शैक्षिक पूर्वाधार कार्यक्रमले यो वर्ष पनि निरन्तरता पाएको छ । तीन वर्ष अघिदेखि सुरु गरिएको ‘एक स्थानीय तह, एक सामुदायिक विद्यालय पूर्वाधार विकास कार्यक्रम’ अन्तर्गत चालु आर्थिक वर्षका लागि विद्यालयहरू छनोट सुरु गरिएको हो । यो वर्ष सुर्खेतका पाँच वटा स्थानीय तहका एक एक वटा विद्यालय शैक्षिक पूर्वाधार कार्यक्रमका छनोट भएका छन् । जिल्लाका नौ स्थानीय तहमध्ये पाँच वटा पालिकाका विद्यालयले मात्रै छनोट प्रक्रिया पूरा गरेको शिक्षा विकास निर्देशनालयले जनाएको छ । शैक्षिक पूर्वाधार कार्यक्रमका लागि चार वटा स्थानीय तहका विद्यालयहरू प्रक्रियामै छन् । ती विद्यालयको फाइल आर्थिक मामिला तथा योजना मन्त्रालयमा रोकिएको छ । निर्देशनालयका योजना शाखा प्रमुुख अर्जुनबहादुुर शाहीले गतवर्ष ढिलागरी विद्यालय छनोट हँुदा भवन अधुरा रहेकाले यो वर्ष समयमै छनोटको प्रक्रिया सुरु गरिएको हो । उनले भने, ‘पाँच वटा विद्यालय भवन निर्माणका लागि छनोट भइसकेका छन्, अब छिटै निर्माण कार्य सुरु हुनेछ ।’ गत वर्षहरूमा आवश्यकताभन्दा पनि पहुँचका आधारमा विद्यालयलयहरूमा बजेट दिँदा लक्षित विद्यालयहरू मर्कामा परेका थिए । कार्यक्रमको उद्देश्य पूर्वाधार नभएका एक स्थानीय तहका एउटा विद्यालयमा शैक्षिक पूर्वाधार निर्माण गर्ने हो । तर, पहुँचका भरमा एकै पालिकाका धेरै विद्यालयले कार्यक्रम पाउने र कोही पालिका खाली हुने अवस्था विगतमा रहेको थियो ।
प्रकाशित मितिः १७ कार्तिक २०७९, बिहीबार ०५:०३
साझा बिसौनी ।