बालविवाह रोक्न जुर्मुराउँदै अभिभावक

दैलेख: उमेर नपुग्दै विवाह हुन्थ्यो । महिनावारी हुँदा महिला तथा किशोरीहरू घरभित्र पस्न पाउँदैनथे । बालबालिकाहरू श्रमिकको रूपमा प्रयोग हुन्थे । तर हिजोआज भने परिवर्तनका संकेतहरू देखिन थालेका छन् ।

दैलेखको गुराँस गाउँपालिकाको वडा नम्बर ५ मा रहेको सामाजिक कुरिती अन्त्यका लागि स्थानीय किशोरीहरू सक्रिय बनेका छन् । बालविवाह, छाउपडी प्रथा, अन्धविश्वास र बालश्रम अन्त्यका लागि किशोरीहरूले आफ्ना अविभावक र बालबालिकालाई पढाउन थालेका हुन् । बिदाको दिनमा किशोरीहरूले बालबालिका र अविभावकलाई विद्यालयमा जम्मा गरेर पढाउने गरेका छन् ।

सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल र सेभ द चिल्ड्रेनको साझेदारीमा सञ्चालित सहयात्रा दोस्रो परियोजना अन्तरगत ‘रोजाई आवाज र प्रतिबद्धता’ कार्यक्रममार्फत किशोरीहरूले गाउँका अभिभावक र बालबालिकालाई जम्मा गरेर सचेतना जगाएका हुन् । उक्त कक्षामा सहभागी भएपछि स्थानीय अभिभावकले उमेर नपुग्दै आफ्ना सन्तानको विवाह नगर्ने कसम खाएका छन् । यस्तै किशोर किशोरीले पनि परिपक्व उमेर नहुँदासम्म विवाह नगर्ने प्रतिबद्धता जनाएका छन् । सोसेक नेपालका स्थानीय सहजकर्ता मञ्जु विक भन्छिन्, ‘हामीले पाँच महिनासम्म गाउँमा सचेतना कक्षा चलायौँ, ति कक्षामा सबै टोलका अभिभावक र बालबालिका सहभागी थिए । त्यसक्रममा हामीले बालविवाह गर्दा हुने शारीरिक तथा मानसिक असरबारे जानकारी गरायौँ, कक्षामा सहभागी भएपछि गाउँलेले बालविवाह रोक्ने बाचा गरेका छन् ।’

यस्तै अर्का सहजकर्ता भावना भण्डारीका अनुसार हिजोआज स्थानीयले महिनावारीसमेत बार्न छाडेका छन् । ‘गाउँमा महिनावारी हुँदा बार्ने चलन थियो’ उनले भनिन्, ‘महिला र किशोरीले महिनावारी हुँदा घरभित्र पस्नै पाउँन्नथे, तर हामीले सबै अभिभावकलाई यसबारे कक्षामार्फत सचेत गरायौँ । अहिले महिनावारी बार्ने क्रम घटेको छ, यो कक्षाले समाजमा सकारात्मक परिवर्तन देखाप¥यो ।’

शनिवार र विदाको दिनमा किशोरीहरूले यो कक्षा सञ्चालन गर्ने गरेका थिए । स्थानीय विद्यालयमै सञ्चालन भएको कक्षामा गाउँलेको आकर्षण थियो । तर अहिले उक्त कक्षा भने रोकिएको छ । कक्षा रोकिए पनि गाउँमा धेरै परिवर्तन आएको र यसलाई आफूहरूले निरन्तरता दिने किशोरीहरू बताउछन् । स्थानीय किशोरी कमला भण्डारीले यस्ता कक्षा गाउँमा अझै आवश्यक रहेको भन्दै यसलाई निरन्तरता दिन संस्थासँग आग्रह गरिन् । कक्षामा बालबालिकालाई पोषिलो खाना खुवाउनुपर्ने, नियमित विद्यालय पठाउनुपर्ने, काममा लगाउन नहुने, घरमा पनि बालमैत्री व्यवहार गर्नुपर्ने र सामाजिक विकृती अन्त्य गर्नुपर्ने विषयमा सचेतिकरण गरिएको थियो । कक्षामा सहभागी भएपछि गुराँस गाउँपालिका वडा नम्बर ५ स्याँलभैरीकी अविभावक खगिसरा नेपालीले आफूहरूको सोच परिवर्तन भएको बताइन् । उनी भन्छिन्, ‘हाम्रा पालामा बालबालिकालाई स्कुलभन्दा काममा पठाउँथे, सानैमा काममा लाग्दा पढाइ छुट्थ्यो । तर अहिले आफै कक्षामा सहभागी भएपछि बालश्रममा लगाउन नहुने थाहा भयो, अब हामीले पनि आफ्ना बालबालिकालाई नियमित स्कुल पठाउन थालेका छौँ ।’

स्याँलभैरीकै अभिभावक महेन्द्र योगीले गाउँका बालबालिकाहरू शिक्षित हुँदा आफूहरूमा समेत परिवर्तन आएको बताए । ‘बालबालिका र हामीले सँगै कक्षा लियौँ, यसले एकआपसमा कुरा सुन्न र सिक्न पनि सजिलो भयो । बालविवाहले परिवार नै विखण्डन हुने समस्या देखिएको थियो, तर अब बालविवाह हुन नदिन हामी सचेत भएका छाै‌’ उनले भने । योगीले यो कक्षाले गाउँमा धेरै परिवर्तन ल्याएको भन्दै यस्ता कक्षाहरू आगामी दिनमा पनि सञ्चालन गर्न सके सभ्य समाज निर्माण गर्न सकिने बताए ।

सेभ द चिल्ड्रेनको सहयोग र गुराँस गाउँपालिकाको समन्वयमा सोसेक नेपालले सञ्चालन गरेको सहयात्रा परियोजना दुईले गाउँपालिकाभर नै बालबालिकाको अधिकारका क्षेत्रमा काम गर्दै आएको छ । संस्थाका बाल संरक्षण संयोजक निर्मल अधिकारीले ‘रोजाई आवाज र प्रतिबद्धता’ कार्यक्रममार्फत बालअधिकार संरक्षण र सामाजिक रूपान्तरणमा सहयोग पुगेको बताए । उनले भने, ‘हामीले सहयात्रा परियोजनामार्फत बालअधिकार सुनिश्चित बनाउन धेरै कामहरू गरिरहेका छौँ, जसअन्तर्गत रोजाइ आवाज र प्रतिबद्धता कार्यक्रममार्फत स्थानीय किशोरीहरूलाई परिचालन गरेर बालबालिका र अविभावकलाई सँगै राखेर कक्षा सञ्चालन गर्यौँ । यो कक्षाबाट उमेर पुगेर मात्रै विवाह गर्नुपर्ने रहेछ, घरमा पनि बालमैत्री व्यवहार गर्नुपर्ने रहेछ महिनावारी भएको बेला अन्य बेलाभन्दा धेरै कियर गर्नुपर्ने रहेछ भनेर अभिभावक र बालबालिका सचेत हुनुभएको छ ।’ यो कार्यक्रमले आगामी वर्ष पनि निरन्तरता पाउने भन्दै कार्यक्रम सञ्चालन नभएको टोल र समुदाय यो कार्यक्रम लागू हुने अधिकारीले जनाए ।

प्रकाशित मितिः   १७ कार्तिक २०७९, बिहीबार ०५:०३