एजेन्डाको परीक्षण

मंसिर ४ नजिकिँदै छ । प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य चुन्ने दिन नजिकिँदै जाँदा चुनावी माहोल बढ्दै गएको छ । आवधिक निर्वाचन भएकाले यसमा सबैको चासो छ । यो निर्वाचनबाट चुनिने प्रतिनिधिबाटै व्यवस्थापिका र कार्यपालिकाले नेतृत्व पाउने हो । त्यसैले आगामी सरकार कसको र कस्तो बन्छ भन्ने कुराको समेत निर्णय गर्ने निर्वाचन भएकाले मतदातामा पनि थप उत्साह बढेको देखिन्छ । आम नागरिकका भेटघाट, चियाचौतारोका संवादहरूमा पनि चुनावी विषयले प्रमुखता पाइरहेको छ । यसले चुनावी माहोलमा थप रौनक थपेको छ । गाउँदेखि सहरसम्म चुनावकै चर्चा चलेको छ ।

मतदाता रिझाउन उम्मेदवारहरू घरदैलोमा पुगेका छन् । आफ्नो योजना, प्रतिबद्धता र आश्वासनको बलमा मतदाताको मन जित्ने प्रयासमा लागेका छन् । चुनावका बेला उम्मेदवारका एजेन्डा प्रमुख हुन्छन् । जसका आधारमा नागरिकलाई आफूलाई उचित लागेको उम्मेदवार छनोट गर्न सक्दछन् । तर अहिले एजेन्डाभन्दा पनि आश्वासन बाँडेर मतदाता रिझाउन दल र उम्मेदवार कस्सिएका छन् । मतदाताले चुनावी एजेन्डाका आधारमा प्रतिनिधि चुन्ने बताइरहेका बेला उम्मेदवारहरू भने खाली हात मतदाताको घरदैलोमा पुगेका छन् । चुनावी प्रतिबद्धताविनै अधिकांश उम्मेदवारले घरदैलो गरिरहेका छन् । मौखिक रूपमा प्रतिबद्धता जनाएर उनीहरूले भोट माग्ने गरेका हुन् । लिखित रूपमा प्रतिबद्धता पत्र ल्याएर वचन दिए मात्रै विश्वास गर्न सकिने आधार रहेको मतदाताहरू बताउँछन् । खासगरी प्रमुख राजनीतिक दलका उम्मेदवारले अहिलेसम्म आफ्ना प्रतिबद्धता सार्वजनिक गरेका छैनन् । विगतमा पनि आश्वासन दिएर पूरा नभएपछि मतदाता यसपटक थप सचेत भएका छन् । एजेन्डा हेरेर भोट दिने बताइरहेका छन् । चुुनावमा दल नहेरी उम्मेदवारका एजेन्डाका आधारमा मत दिने मनसायमा छन् ।

निर्वाचन लोकतान्त्रिक प्रक्रिया हो । यसबाट नागरिकले आफ्नो मतमार्फत आफ्नो जनप्रतिनिधि छनोट गर्दछन् । यसरी आफ्नो जनप्रतिनिधिको छनोट उनीहरूको योजना र एजेन्डाका आधारमा हुनु पर्दछ । योजनाविहीन र एजेन्डाविहीन जनप्रतिनिधिको छनोटले व्यवस्थापिका र कार्यकालिकाको भूमिका प्रभावकारी बनाउन सक्दैन । त्यसैले उम्मेदवारहरू आफ्ना एजेन्डामा प्रष्ट हुन जरुरी हुन्छ । र, ति एजेन्डालिएर मतदातमा पुग्नुपर्दछ । उम्मेदवारहरूका एजेन्डा हेरेरै मतदाताले आफ्नो मत व्यक्त गर्न सक्दछन् । निर्वाचन व्यक्ति छनोटका प्रक्रिया मात्रै नभएर एजेन्डाको परीक्षण र छनोट पनि हो । तर अहिलेका राजनीतिक दल र उम्मेदवारहरूले यो पक्षलाई ध्यान दिएका छैनन् । घोषणापत्र बनाइएपनि ति आश्वासनमा केन्द्रित हुने गरेका छन् । वस्तुनिष्ठ योजना र एजेन्डाभन्दा पनि लोकप्रिय हुने घोषणाले मतदाता रिझाउने प्रयास निर्वाचनको मर्मअनुसार हुन सक्दैछ ।

प्रकाशित मितिः   १६ कार्तिक २०७९, बुधबार ०५:०३