‘निर्वाचनमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण’

सुर्खेत: आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई मर्यादित बनाउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहने निर्वाचन आयोगका आयुक्त डा. जानकीकुमारी तुलाधरले बताएकी छन् । मंगलवार वीरेन्द्रनगरमा आयोजित प्रदेशस्तरीय मिडिया अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले आचारसंहिता कार्यान्वयमा खबरदारी गरेर सञ्चारमाध्यमले निर्वाचनलाई मर्यादित बनाउन भूमिका खेलेको जनाइन् । आयुक्त तुलाधरले सञ्चारमाध्यमले निर्वाचन आचारसंहिता आफूले पनि पालना गर्न सुझाउँदै अरुले पालना गरे नगरेको अनुगमन गरेर खबरदारी गर्नुपर्नेमा जोड दिइन् । ‘मिडियाले मतदाता शिक्षा र नागरिक सचेतनामा पनि महŒवपूर्ण भूमिका खेल्दै सत्य तथ्य सूचनाहरू सम्प्रेषण गर्नुपर्छ,’ उनले भनिन्, ‘आयोगले अहिले निर्वाचन आचारसंहिता कडाइका साथ लागू गरेको छ ।’ उनले आचारसंहिता प्रभावकारी कार्यान्वयन गर्ने गराउने दायित्व सञ्चारमाध्यमहरूको पनि भएको जजनाइन् । उनले भनिन्, ‘हामी सबैको जिम्मेवारी निष्पक्ष, भयरहित र विश्वासिलो तरिकाले निर्वाचन सम्पन्न गर्ने हो ।’ निर्वाचनको समयमा मिथ्या सूचना र दुष्प्रचारका सामग्री प्रकाशन प्रशारण हुने हुँदा यसतर्फ सचेत रहनुपर्ने उनको भनाइ थियो ।

त्यस्तै, निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले अझै पनि सहि सूचना नागरिकसम्म पुुग्न नसकिरहेको बताए । मतदाताको सहभागिता बढाउने र कसरी मतदान गर्ने भन्ने विषयमा सूचना सम्प्रेषण संयन्त्र विश्वाशिलो हुनुुपर्नेमा उनले जोड दिए । सञ्चारमाध्यमले छिटो समाचार दिन खोज्दा गलत सूचना प्रवाह हुन सक्ने जोखिमप्रति उनले सचेत गराए । सोही कार्यकममा बोल्दै कर्णाली प्रदेश सरकारका निमित्त प्रमुख सचिव आनन्द सारुले निर्वाचनलाई निष्पक्ष र भयरहित बनाउनु सबैको दासयत्व रहेको जनाए । सुर्खेतका मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद अर्यालले सञ्चारमाध्यमले प्रभावकारी रूपमा आचारसंहिता कार्यान्वय गरेर जनताको माझ सूचना सम्प्रेषण गर्नुपर्ने बताए । निर्वाचनका समयमा पत्रकार र सञ्चारमाध्यमहरूले आफ्नो सीमा र परिधिभित्र रहेर जनतालाई सुसूचित गर्नुपर्ने उनको भनाइ थियो ।

प्रकाशित मितिः   १६ कार्तिक २०७९, बुधबार ०५:०१