विकृतिरहित तिहार

हिन्दु धर्मावलम्बीहरूको अर्को ठूलो पर्व तिहार सुरु भएको छ । दसैँपछि तिहारलाई महान पर्वको रूपमा मनाउने गरिएको छ । चाडपर्व खुसी र समृद्धिको कामनासँगै मनाइन्छ । तिहार पनि त्यस्तै एक चाड हो । यसलाई प्रकाश वर्ष पनि भनिन्छ । विशेष गरेर तिहारका पाँच दिन दीपावली गर्ने र धनकी देवी मानिने लक्ष्मीको पूजाआजा गर्ने गरिन्छ । यो फूलैफूलको पर्वको रूपमा पनि उत्तिकै प्रख्यात छ । तिहार सुरु भएसँगै रौनक बढेको छ । जताततै चहलपहल छ । मंसिरमा हुने आवधिक निर्वाचनको सम्मुखमा मनाइने तिहारले बेग्लै माहोल बनाएको छ ।

नेपाली समाज मौलिक संस्कृति र परम्परामा विशिष्ट छ । चाडबाड, धर्म, रीतिरिवाज र लोकपरम्परा नै हाम्रा संस्कृतिका पहिचान हुन् । तिहारले धार्मिक महङ्खव मात्र बोकेको छैन । यसले आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक क्षेत्रमा महङ्खवपूर्ण योगदान पनि पु¥याएको छ । ठूला चाडपर्वमा आर्थिक क्षेत्र फस्टाउने गरेको पाइन्छ । यहीँ समयमा सहर–बजारमा धेरै र ठूल्ठूला आर्थिक कारोबार हुन्छन् । गाउँदेखि सहरसम्म आर्थिक गतिविधि चलायमान रहन्छ । यसकारण आर्थिक हिसाबले चाडपर्वलाई उत्तम पर्व मानिन्छ । सामाजिक हिसाबले पनि तिहार उत्कृष्ट चाड हो । यसले समाजलाई एक आपसमा मिलाउने काम गरेको छ । नैतिक शिक्षा दिएको छ र सबैसँग घुलमिल गर्दै अगाडि बढ्न समाजलाई प्रेरणा दिएको छ । त्यहीँ कारणले यो कुनै एक समूहको चाड नभइ सबै नेपालीको चाडका रूपमा स्थापित भएको हो ।

चाडपर्व हर्ष र उल्लासको अवसर हो । तर विभिन्न किसिमका विकृतिहरू पनि देखा पर्ने गरेका छन् । जुवास–तास यो समयमा देखिने सबैभन्दा ठूलो विकृति हो । यसलाई नियन्त्रण गर्न जरुरी छ । विगतका चाडपर्वहरूमा आपराधिक गतिविधि हुने गरेका उदाहरण छन् । सुरक्षाको दृष्टिले जोखिम बढ्ने गरेको छ । यसकारण पनि स्थानीय प्रशासनले उच्च सकर्तता अपनाउनुपर्ने हुन्छ । देउसी र भैलो खेल्ने समय नै निर्धारण गरिएको छ । यसलाई पालना गर्नु नागरिकको कर्तव्य हो । कुनै पनि किसिमका विकृति भित्रिन नदिन र चाडपर्वको सामाजिक तथा साँस्कृतिक महत्वलाई थप उच्च बनाउन हरेक नागरिक उत्तिकै जिम्मेवार हुनुपर्दछ । सांस्कृतिक परम्पराको जगेर्ना, सामाजिक सद्भाव कायम र मनोरञ्जनलाई एकसाथ हिँडाउन सकेको खण्डमा मात्रै तिहारको महत्व अझ बढ्नेछ । त्यसैले विकृतिरहित तिहार बनाउन सबैले आआफ्नो ठाउँबाट भूमिका निर्वाह गर्न जरुरी छ ।

प्रकाशित मितिः   ७ कार्तिक २०७९, सोमबार ०५:०३