मतदाता रिझाउने होडबाजी

सुर्खेत: नेकपा (एमाले) का नेता ताराकेशर गौतम प्रदेशसभा सदस्यका उम्मेदवार बनेका छन् । उनी सुर्खेत क्षेत्र नं. २ प्रदेशसभा ‘ख’ मा चुनावी प्रतिस्पर्धामा भिड्दै छन् । मंसिर ४ गते हुने निर्वाचनमा आफ्नो पक्षमा जनमत पार्न यतिबेला गौतमलाई मतदाता भेटघाटको चटारो छ । धान काट्ने र बाली भित्र्याउने समय यसैबेला परेकाले घरदैलोमा मतदाता भेटाउन भने मुस्किल छ । उनी मतदाता खोज्दै खेतबारी, मेलापात गर्ने ठाउँ र चियाचौतारोमै पुगिरहेका छन् । धान बाली बटुल्ने समय भएकाले पनि धेरैजसोलाई घर आँगनमा भेट्न कठिन छ । ‘मतदाता खोज्दै बारीमै पुग्नुपर्छ, म अहिले पनि भोट माग्न र आफ्ना एजेन्डा सुनाउन खेतबारीमै आएको छु, मतदातासँग भलाकुसारी भइरहेको छ,’ उनले भने । आइतवारसम्म गौतमले आफ्नो निर्वाचन क्षेत्रमा मोटामोटी एकसरो मतदातासँग मत मागिसके । पार्टीका आन्तरिक बैठक र भेलाहरूसँगै मतदातामाझ चुनावी प्रतिबद्धता जनाउन र भोट माग्न भ्याइनभ्याइ भएको उनी बताउँछन् ।

घनश्याम भण्डारी पनि प्रदेशसभा सदस्यका उम्मेदवार हुन् । नेपाली कांग्रेसका नेता भण्डारीलाई दैलेख क्षेत्र नं. २ प्रदेशसभा ‘क’ मा वाम–लोकतान्त्रिक गठबन्धनले साझा उम्मेदवार बनाएको छ । चुनावी अभियानमा व्यस्त उनी केही दिनयता घरदैलोमा जुटिरहेका छन् । चाडपर्व र बाली स्याहार्नु पर्ने बेला भएकाले सबै मतदातासँग सहजै भेट भने भइरहेको छैन । भण्डारीले पनि आफूले मतदाता जहाँ भेटिन्छन् त्यही मौका छोपेर मत माग्ने गरेको जनाए । घरदैलो गर्ने क्रममा मतदाताहरूमा आशाभन्दा निराशा बढी पाइने गरेको उनले सुनाए । ‘विगतमा गरेका प्रतिबद्धता पूरा नहुँदा जनप्रतिनिधिप्रति भरोसा घटेको देखिन्छ,’ उनले भने, ‘मैले पूरा गर्न सकिने योजना र एजेन्डा सुनाएर मतदाताको मन जित्ने प्रयास गरिरहेको छु ।’ उनका अनुसार मतदाताले विकासका आधारभूत पूर्वाधार पनि नहुँदा सास्ती भइरहेको गुनासो गर्ने गरेका छन् । बाटो, बिजुली बत्ती र खानेपानीजस्ता आधारभूत सवालमा मतदाताको बढी चासो रहने गरेको भण्डारीको भनाइ छ ।
प्रतिनिधिसभाको एक र प्रदेशसभाका दुई वटा निर्वाचन क्षेत्र रहेको हुम्ला ‘क’ मा नेकपा ‐एकीकृत समाजवादी) का नेता हस्त शाही चुनावी प्रतिस्पर्धामा छन् । सत्तारुढ गठबन्धनमा उनको पार्टी पनि छ । तर, उनी भने गठबन्धनसँग नै चुनावी प्रतिस्पर्धामा भिड्दै छन् । आफूलाई उपेक्षा गरिएको भन्दै गठबन्धन दलको निर्णयविपरीत उम्मेदवारी दर्ता गरेर चुनावी मैदानमा होमिएको उनी बताउँछन् । शाहीलाई पनि चुनावी चटारोले छोएको छ । ‘घरदैलो अभियान गरिरहेको छु, मतदाता भेट्ने र आफ्ना प्रतिबद्धता सुनाउने काम भइरहेको छ,’ उनी भन्छन्, ‘मेरो उम्मेदवारी कसैका विरुद्ध होइन आफूले चुुनाव जितेर जनताको पक्षमा काम गर्न हो ।’ आफ्नो निर्वाचन क्षेत्रमा पार्टीको जनलहर राम्रो देखिएकाले चुनाव जित्ने ढुक्क रहेको उनको दाबी छ । सो क्षेत्रमा सत्तारुढ गठबन्धनले साझा उम्मेदवारका रूपमा नेकपा ‐माओवादी केन्द्र) का रणसिंह परियारलाई अघि बढाएको छ ।
वाम–लोकतान्त्रिक गठबन्धनबाट जुम्ला प्रदेशसभा ‘क’ का उम्मेदवार बनेका ललितजंग शाही नेपाली कांग्रेसका कर्णाली प्रदेश समितिका सभापति हुन् । उनलाई गठबन्धनले साझा उम्मेदवार बनाएको छ । अगुवा नेता कार्यकर्तासँगै उनी पनि जनताको घरदैलोमा मत माग्न पुगिरहेका छन् । शाही भन्छन्, ‘अहिले हामी घरदैलोमा केन्द्रित छौँ, आफ्ना चुनावी एजेन्डा सुनाउन र मत माग्नै दिन बित्ने गरेको छ ।’ उनले कार्तिक १८ पछि मात्रै आमसभाहरू गर्ने तयारी भइरहेको जनाए । गठबन्धनप्रति मतदाताहरूको बुझाइ सकारात्मक रहेको पनि उनको दाबी छ । उनका विरुद्ध भने बागी उम्मेदवारी परेको छ । कांग्रेसकै महाधिवेशन प्रतिनिधि देवेन्द्र शाहीले उनीविरुद्ध बागी उम्मेदवारी दिएर चुनावी प्रतिस्पर्धामा होमिएका हुन् । उनीहरू दुवै आफ्नो पक्षमा जनमत बटुल्ने कसरत गरिरहेका छन् । जुम्लामा झन् यतिबेला किसानलाई मार्सी धान भिœयाउने चटारो छ । कामको चापले मतदातालाई भने चुनावी रौनकले खासै छुन सकेको छैन । त्यहाँका सबै उम्मेदवारहरू खेतबारीमै धाएर मतदाता रिझाउने प्रयासमा लागिरहेका छन् ।

निर्वाचन आचारसंहिताका कारण पनि दल तथा उम्मेदवारहरू अहिले आन्तरिक भेला र घरदैलो अभियानमा मात्रै केन्द्रित छन् । धान काट्ने र बाली भित्र्याउने सिजन भएकाले अधिकांश ग्रामीण क्षेत्रका मतदाता खेतीबारीमा व्यस्त छन् । उम्मेदवारहरूले बारी र मेलापातमै पुगेर मतदातालाई चुनावी नाराले फकाउने गरेका छन् । जनमत आफ्नो पक्षमा पार्न चुनावी प्रचारलाई तीव्रता दिएका उम्मेदवारहरू अगुवा नेता र कार्यकर्ताको हुल बाँधेर घरदैलोदेखि मेलापात गर्ने ठाउँसम्मै पुग्ने गरेका हुन् । उम्मेदवारहरूले अघिल्ला निर्वाचनहरूको तुलनामा यसपालि प्रचारमा सामाजिक सञ्जालको प्रयोगसमेत व्यापक बनाएका छन् ।


रजनी याेगी ।