रुष्ट मतदाता

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन नजिकिएसँगै चुनावी सरगर्मी बढेको छ । यतिबेला राजनीतिक दल तथा उम्मेदवारहरू मतदाता केन्द्रित भएका छन् । उम्मेदवारहरूले मतदातासँग भेटघाट गर्दै उनीहरूका अपेक्षा सुन्ने र आफ्ना योजनाहरू सुनाउने गरिरहेका हुन् । तर, जनमत आफ्नो पक्षमा पार्न गाउँ पसेका उम्मेदवारसँग मतदाताका अपेक्षाभन्दा पनि गुनासा बढी छन् । निर्वाचन आयोगले कार्तिक १८ पछि मात्रै चुनावीसभाहरू गर्न पाइने आचारसंहिता लागू गरेपछि उम्मेदवारहरू अहिले मतदाता रिझाउन घरदैलो अभियानमा जुटेका छन् । यसपालि पनि धेरैजसो पुरानै अनुहार दोहोरिएकाले विगतमा गरेका बाचा पूरा नगरेको भन्दै गुनासो गर्ने मतदाताको संख्या ठूलो छ । विकास निर्माणका काम नभएको मात्र नभइ राजनीतिक स्थायित्व नभएका गुनासो पनि धेरै सुनिने गरेको छ ।

आगामी मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको चुनावका लागि राजनीतिक दलहरू कार्यकर्ता भेला, प्रशिक्षण तथा बैठक र मतदाता भेटघाटमा व्यस्त छन् । चुनावी नतिजा आफ्नो पोल्टामा पार्ने कसरतमा लागेका उनीहरूका आश्वासले मतदाता भने आजित भइसकेका छन् । आफूले निर्वाचित गरेका प्रतिनिधिले कानुन र विकास निर्माणमा ध्यान दिनुको साटो सरकार फेरबदलमा मात्रै जोड दिने गरेको पनि मतदाताको गुनासो छ । अस्थिर राजनीतिले विकासमा पनि बाधा पुगिरहेको सचेत मतदाताहरूले बताइरहेका हुन् । गाउँघरको विकास र समृद्धिको योजना लिएर फेरि मतदाताबीच गइरहेका दल र उम्मेदवारहरूलाई मतदाता रिझाउन भने हम्मेहम्मे छ । मतदाताका असन्तुष्टिले नेताहरूलाई भोट माग्नै कठिन छ । मतदाताले खासगरी उम्मेदवारहरूसँग सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, कृषि क्षेत्रको विकास तथा वस्ती व्यवस्थापनलगायत सवालहरू उठाउने गरेका छन् । ग्रामीण सडकहरूको स्तरोन्नती, स्वास्थ्य सेवाको सहज पहँुच, गुणस्तरीय शिक्षा र आफ्नै ठाउँमा रोजगारका अवसरको सिर्जना गर्नुपर्ने माग मतदाताहरूको छ ।

आवधिक निर्वाचनले नागरिकमा उत्साह ल्याउनुपर्ने हो । किनभने निर्वाचन मतदातालाई आफ्ना प्रतिनिधि छान्ने अवसर हो । संसद् र सरकार सञ्चालन गर्ने जनप्रतिनिधि छान्ने अवसरले नै नागरिकलाई तान्न सकेको छैन । दल र उम्मेदवारहरूले आफ्नो कार्यशैलीबाट मतदातालाई निराश बनाएका छन् । हरेक निर्वाचनमा अनेक आश्वास र योजना बाँड्ने तर पूरा नगर्ने प्रवृत्ति विगतदेखिकै हो । त्यही प्रवृत्ति दोहोरिदै आएको छ । नागरिकले चाहेको राजनीतिक स्थिरता, स्थायित्व र समृद्धि हो । तर यिन कुनै पनि चाहना पूरा हुन सकेको छैन । अस्थिरता कायमै छ । सत्तास्वार्थका खेल निरन्तर भइरहन्छन् । आर्थिक विकासको गति सुस्त छ भने नागरिकको जीवनस्तरमा सुधार आउन सकेको छैन ।

प्रकाशित मितिः   ३ कार्तिक २०७९, बिहीबार ०५:०३