स्याउ ढुवानीमा समस्या
जुम्ला: कर्णाली राजमार्ग अवरुद्ध भएपछि स्याउ बिक्रीका लागि ढुवानीमा समस्या भएको छ । झन्डै दुई सातादेखि सडक बन्द हुँदा जुम्लामा लाखौंको स्याउ थन्किएको छ । बेच्ने सिजनको स्याउ थन्किँदा कुहिन लागेको किसानहरूले जनाएका छन् । असोज तेस्रो साताको अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण कर्णाली राजमार्ग अझै पूर्णरूपमा खुलेको छैन । राजमार्गको कालीकोटदेखि जुम्ला खण्डमा पहिरो पन्छाउने काम भइरहेको छ । हिमा गाउँपालिका–१ आचार्यलिही नजिकै नौ वटा गाडीमा लोड भएको स्याउ अलपत्र परेको छ । सिंजा–६ का किसान मानबहादुर रोकायाले बिक्रीका लागि पठाउन लोड गरिसकेको स्याउका गाडी बीचमै रोकिएको बताए । उनका अनुसार ती गाडी १२ दिनदेखि सडकमै रोकिएका छन् । स्याउ बाटोमै अलपत्र परेपछि कुहिन थालेको उनी बताउँछन् । ‘सडक खुल्ने ठेगान छैन,’ उनी भन्छन्, ‘बजारमा नपुग्दै स्याउ गाडीमै कुहिने जोखिम छ ।’ उनले अब त्यो स्याउ बजार पुग्ने हो कि होइन भन्ने चिन्ताले सताएको जनाए ।
लामो समयदेखि सडक अवरुद्ध हुँदा जुम्लाका किसानहरूले व्यापारीसँग सम्झौता गरेअनुसार स्याउ पठाउन पाएका छैनन् । प्याकेजिङसमेत गरिसकेक स्याउ पनि पठाउन नसकिएको कतिपय किसानले बताएका छन् । व्यापारीले गाडी ल्याउने तयारी भइरहेको बेला बाढीपहिरोले सडक बन्द भएपछि स्याउ थन्किएको उनीहरूको गुनासो छ । हिमा गाउँपालिकाकै स्थानीय कमलबहादुर रोकायाको बगैँचामा यो पटक सात क्विन्टल ५० किलो स्याउ फलेको थियो । उनले पनि उक्त स्याउ बिक्रीका लागि पठाउन सकेका छैनन् । ‘कतिपय स्याउ कुहिएको छ,’ उनले भने, ‘सुकाउनका लागि घरको छतमा राखिएको छ । तर, सडक खुल्ने सुरसार नहुँदा सबै कुहिने हो कि भन्ने त्रास बढेको छ ।’ रोकायाले ४५ कार्टुन स्याउ तयारी अवस्थामा राखेका थिए । बाढीपहिरोले बाटो बन्द भएपछि व्यापारीसमेत खरिदका लागि आउन छाडेको बताइएको छ । स्याउ बेचेर तिहार मनाउने सोच बनाएका किसनाहरू खरिद गर्न व्यापारी नआउँदा समस्या भएको बताउँछन् । सडकको अवरोधले बगैँचामा फलेको गुणस्तरीय स्याउसमेत लैजान नपाउने देखिएपछि किसान र व्यापारी चिन्तित भएका छन् । यसपटक जुम्लाको स्याउ किसानबाट व्यापारीले ४० देखि ४५ रूपैयाँ प्रतिकेजी खरिद गरेका छन् । सिंजा गाउँपालिकामा मात्रै कम्तीमा ४० लाख मूल्यको स्याउ थन्किएको किसानहरूको भनाइ छ ।
प्रकाशित मितिः ३ कार्तिक २०७९, बिहीबार ०५:०४
साझा बिसौनी ।