पहिरोले सास्ती

असोज तेस्रो साता परेको अविरल वर्षाका कारण ठूलो मात्रामा धनजनको क्षति भयो । बाढी र पहिरोले सडकमा क्षति पु¥यायो । क्षतिग्रस्त सडक पूर्णरूपमा सञ्चालनमा आउन सकेका छैनन् । पहिरोले कर्णाली राजमार्गसहित कर्णाली प्रदेशका थुप्रै ग्रामीण सडकहरूको बिजोक बनाएको छ । प्राकृतिक विपद्ले क्षति पु¥याउँदा अवरुद्ध भएका धेरैजसो सडक अहिले पनि सञ्चालनमा आउन सकेका छैनन् । दर्जनौँ ठाउँमा खसेको पहिरो पन्छाउन हम्मेहम्मे भइरहेको हो । कर्णाली राजमार्ग २१ गतेदेखि अवरुद्ध भएको थियो । केही खण्डमा पहिरो हटाएर सञ्चालनमा ल्याइएको छ । तर राजमार्ग पूर्णरूपमा सञ्चालन हुनसक्ने अवस्थामा छैन ।

राजमार्गको दैलेख खण्ड अन्तर्गतको पहिरो हटाएर सोमवारदेखि सवारी साधन सञ्चालनमा ल्याइएको छ । त्यस्तै, कालीकोटको मान्मदेखि पिलीसम्मको एक किलोमिटर सडक खुुलेपनि पिलीदेखि नाग्मसम्मको अवरोध कायमै छ । वर्षा रोकिए पनि यो राजमार्ग अन्तर्गतका सडक खण्डमा सुख्खा पहिरो खस्ने गरेको छ । यसले गर्दा सडक पूर्णरूपमा सञ्चालनमा ल्याउन चुनौती भइरहेको जनाइएको छ । कर्णाली राजमार्गको कालीकोट खण्डमा सडक बढी नै तहसनहस भएको छ । सुर्खेतको वीरेन्द्रनगरदेखि कालीकोटको मान्म बजारसम्म सडक खुुलेको छ । कालीकोटको सदरमुकाम मान्मदेखि पिलीसम्मको एक किलोमिटर सडकको अवरोध हटाइएको हो । पिलीदेखि नाग्मसम्म मंगलवारदेखि सात वटा डोजर लगाएर पहिरो पन्छाउने काम भइरहेको छ । यद्यपि कालीकोट खण्डमा गएको पहिरो पूर्णरूपमा हटाउन अझै केही दिन लाग्ने छ । उक्त सडकको अवरोध पन्छाएपछि मात्रै जुम्लाका लागि सवारी साधन सञ्चालमा आउनेछन् । राजमार्गको जुम्ला खण्डमा पनि थुप्रै ठाउँमा पहिरो खसेको छ । ठूलो पहिरो हटाउने तथा चट्टान फुुटाउने मेशिन ढिलागरी पुुगेकाले पनि समयमै सडकको अवरोध पन्छाउन नसकिएको हो । दुईसाता अघिको लगातारको झरीले राजमार्गको सुर्खेत–जुम्ला सडक खण्डको ९३ ठाउँमा पहिरो खसेको थियो । कर्णाली राजमार्गको नाग्मदेखि कनका सुुन्दरीसम्मको सडक मर्मत भएपनि सुख्खा पहिलो जाने क्रम रोकिएको छैन । राजमार्गको रारालिही, नाग्म–गमगढी सडकखण्डमा धेरै ठाउँमा पहिरो गएको छ । अवरुद्ध भएका सबै ठाउँमा असोज २६ गतेदेखि पहिरो पन्छाउने काम भइरहेको छ । यद्यपि, जुम्ला खण्डको बाटो पूर्णरूपमा खुलाउनका लागि अझै तीन–चार दिन समय लाग्ने बताइएको छ ।

कर्णाली राजमार्गको धेरै ठाउँमा झन्डै १२ दिनदेखि सडक अवरोध भएपछि यात्रुहरूलाई सास्ती भएको छ । दसैँ मनाएर कर्मथलो फर्कनेहरू जोखिम मोलेरै यात्रा गर्नुपर्ने बाध्यतामा छन् । कति पैदल र केही स्थानमा सवारी साधनको प्रयोग गरेर यात्रुहरू गन्तव्यमा गइरहेका हुन् । दैलेख, कालीकोट र जुम्ला सडक खण्डमा यात्रुहरूले हैरानी खेप्नु परेको हो । सुख्खा पहिरो खसिरहेकाले पैदल यात्रा गर्नसमेत निकै जोखिम छ ।

प्रकाशित मितिः   २ कार्तिक २०७९, बुधबार ०५:०३