सुन्तला उत्पादन बढ्ने आकलन

सुर्खेत: दैलेखको दुल्लू क्षेत्र सुन्तला उत्पादनका लागि उर्वर मानिन्छ । यहाँका थुप्रै किसानले सुन्तलाको व्यावसायिक खेती गरेका छन् । दुल्लू नगरपालिका–११ कालभैरवका किसान जगतबहादुुर पन्तको पनि सुन्तलाको बगैँचा छ । उनले २०५३ सालदेखि व्यावसायिक रूपमा सुन्तला खेती गर्दै आएका हुन् । पन्तका अनुसार विगतका केही वर्ष यताका तुलनामा यसपालि सुन्तला धेरै फलेको छ । उनी भन्छन्, ‘बोटभरी लटरम्म दाना छन्, गत वर्षभन्दा दोब्बर उत्पादन हुने अनुमान छ ।’ उनको बगैँचामा डेढ सय सुन्तलाका विरुवा छन् । पन्तको बगैँचामा सोही हाराहारीमा कागतीका विरुवा पनि छन् । सुन्तला र कागती उत्पादनबाट वार्षिक रूपमा तीन लाखभन्दा धेरै आम्दानी गर्दैै आएको उनी बताउँछन् । सुन्तला वर्षमा एकसिजन मात्रै फल्छ । असिना र रोगकिराले असर नगरे उत्पादन राम्रो हुने गर्छ । किसानहरूका अनुसार सुन्तलाको बजारीकरणमा पनि समस्या छैन । सुन्तला नपाक्दै व्यापारीहरू खरिद गर्न बगैँचामा आइपुग्छन् । दूल्लूको सुन्तला गत वर्ष बुटाबाटै प्रतिकेजी ५५ रूपैँयाका दरले ठेक्कामार्फत व्यापारीहरूले खरिद गरेका थिए । यहाँको सुन्तला सुर्खेत–नेपालगञ्जका व्यापारीले खरिद गरेर लैजाने गरेका छन् ।

कालभैरवकै किसान प्रकाश भण्डारीले यो वर्ष सुन्तला बाक्लो गरी फलेकोले हाँगा नै नुगेको बताए । उनका अनुसार अघिल्ला वर्षहरू हेरेर यो पटकको सुन्तला रसिलो पनि छ । सुन्तलाको व्यावसायिक खेती गर्ने उनको बगैँचामा पनि दुई सय बुटा छन् । उनी भन्छन्, ‘गतवर्ष असिना परेकोले सुन्तला पातलो फल्यो, त्यति रसिलो पनि थिएन । यो वर्ष बाक्लो फलेकोले केही बोटबाटै झरेको छ ।’ भण्डारीले सुन्तला खेतीबाट वर्षमा चार लाख हाराहारी कमाइ हुने गरेको जनाए । उत्पादन धेरै भएकाले यसपटक आम्दानी अझै बढ्ने उनी बताउँछन् । गत वर्ष त्यहाँ सुन्तलामा सेतो किसिमको खरानी रोग लागेर केही बुटाहरू सुकेका थिए । यो वर्ष पनि कहिकतै यो रोग देखा परेको छ । आवश्यक प्राविधिक परामर्श नहुँदा उत्पादन सोचेजस्तो भने हुन नसकेको किसानहरूले बताएका छन् । दुल्लूलाई सुन्तला जोनको रूपमा घोषणा गरिए पनि उक्त कार्यक्रममा वास्तविक किसानहरू निकै कम मात्रै समेटिएको गुनासो स्थानीयको छ ।

दुल्लू नगरपालिका–१० की रमा शाहीले व्यावसायिक रूपमा फलफूल खेती गर्दै आइरहेकी छन् । उनलाई प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना इकाईले आर्थिक सहयोग गरेको छ । सिँचाइको लागि पोखरी निर्माण र कृषि औजारलगायतका सामग्री अनुदान पाएको शाहीले बताइन् । उनले पनि अघिल्ला वर्षहरूको भन्दा यो वर्ष सुन्तला उत्पादन धेरै हुने अपेक्षा गरिएको जनाइन् । प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना इकाई सुन्तला जोन परियोजनाका अधिकृत गणेशकुमार केसीले यो वर्ष सुन्तला जोनको क्षेत्र विस्तार गरिने जनाए । उनका अनुसार दुल्लू नगरपालिकाका १३ वटै वडा र भैरवी गाउँपालिकाका तीनदेखि सात नम्बर वडासम्मलाई सुन्तला जोनको रूपमा विकास गर्न लागिएको हो ।

दुल्लूमा हाल पाँच सय हेक्टर क्षेत्रफलमा सुन्तला खेती भइरहेको छ । यो वर्ष उक्त परियोजना अन्तर्गत ३३ लाख बजेट छुट्याइएको छ । यसै वर्षदेखि ३३ हेक्टर क्षेत्रफल बढाउने योजना रहेको केसीले बताए । सो कार्यक्रमले साना सिँचाइ, बगैँचा सुधार, कृषि यान्त्रिकरण, गे्रडिङ मेसिन खरिद, रोककिरा निदान र प्राङ्गगारिक मल उत्पादनमा किसानलाई सघाइरहेको छ । यसपालि असिना नपरेको, काटछाट, मलखाद र सिँचाइको राम्रो प्रबन्धका साथै प्राविधिक परामर्श गरिएकाले पनि उत्पादन बढ्ने आकलन परियोजनाको छ । सुन्तला उत्पादनका लागि सल्यानको बागचौर नगरपालिका पनि पकेट क्षेत्र हो । यो वर्ष त्यहाँ सुन्तला झनै राम्रो फलेको छ । जिल्लाभर नै सुन्तला उत्पादन हुने भएपनि बागचौर नगरपालिका गुणस्तरीय र धेरै सुन्तला उत्पादन हुने क्षेत्रमा पर्दछ । कृषि विकास कार्यालय सल्यानका प्रमुख भरतबहादुर बस्नेतले यसपालि सुन्तला उत्पादन अघिल्ला वर्षहरू भन्दा धेरै हुने बताए ।

प्रकाशित मितिः   २ कार्तिक २०७९, बुधबार ०५:०२