सम्झनाको दराजमा जाजरकोट महफिल
अझै पनि त्यो पातलो शरीर थाकेन । यो मान्छेको आँट देखेर मैले गम खाएँ । जुनुनको अगाडि कसैको केही नचल्ने रहेछ । भावुक रिदम बाबुलाई दिलबाट सलाम गर्छु ।
‘साहित्यको संरक्षण, सम्वद्र्धन हाम्रो अभियान, जोगाऔं, बचाऔँ, बनाऔँ हाम्रो पहिचान’ भन्ने जाजरकोटी साहित्य आवाजको मूल नारा हो । यो साल पनि यही नाराको मुनि ‘तेस्रो जाजरकोट महफिल’ भव्य रूपले सम्पन्न भयो ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा हुने महफिलमा उभिएर गजल सुनाउनु नयाँ–पुराना जोकोही गजलकारको लागि सपना बनेको छ, सुर्खेती माहोल । यहाँको साहित्यिक माहोल कुनै पार्टीको आमसभा भन्दा कम हुँदैन ! अहिले ठ्याक्कै सुर्खेतको साहित्यिक माहोलको गति जाजरकोटी साहित्यिक आवाजले समातेको छ । भौगोलिक रूपले जाजरकोट राजधानीबाट विकट र दूरदराजमा होला तर यतिबेला जाजरकोटको साहित्यिक माहोल सबैको लागि सुगम भइरहेको छ ।
नेपालको परिवेशमा विधिवत रूपले महफिल सञ्चालन गर्ने परिपाटीको थालनी बाबु त्रिपाठीले २०७२ साल माघ २ गते काठमाडौंबाट गरेका थिए । आज नेपालमा जति पनि महफिलहरू भएका छन्, त्यसैको निरन्तरता हुन् ।
नयाँ हुन् या पुराना । कुनै पनि सायरको लागि राजधानीमा पुगेर गजलका अभियान्ता बाबु त्रिपाठीले सञ्चालन गर्ने महफिलमा उभिएर गजल सुनाउने सपना हुन्छ । महफिलको मञ्चमा उभिएर धेरै सायरहरूले नाम र दाम कमाउन सफल पनि भएका छन् । तर तिनैले टेलिभिजनको स्क्रिनमा उभिएर बाबु त्रिपाठीले नेपाली गजलको लागि पु¥याएको योगदानको बारेमा चुइक्क बोल्न नसक्नु विडम्बना हो । उनीहरूका अन्तर्वार्ता र फेसबुके स्टाटस देख्दा कहिलेकाहीँ मलाई ‘कुन्ठा र आरिसले भरिएको रिसको कुण्ड बाहेक अरु केही होइन’ भन्ने लाग्छ ।
केही नगर्नेले गर्ने भनेकै कुरा काट्नु रहेछ । भगवानले उनीहरूलाई सत्वुद्धि दिउन् मैले पनि कामना गरेँ । यसो भनिरहँदा भावुक रिदम बाबुका खुट्टा तान्ने मान्छे पनि जाजरकोटमा नभएका होइनन्, धेरै थिए । उसले पनि बाबु त्रिपाठीकै लय पक्रिएको छ । ‘हात्ती लम्किँदै रह्यो, भुक्नेहरू भुकिरहे ।’ आखिर जीत लम्किनेहरूकै हुने रहेछ । आज जोकोही सायरलाई जाजरकोट महफिलमा उभिएर गजल बाचन गर्ने सपनाहरू पाल्ने बनाउनु रिदमको जीत र उपलब्धि हो ।
जाजरकोट पहिलो महफिलका दुई बाचक श्रष्टाहरू काठमाडौंमा पुगेर बाबु त्रिपाठीले सञ्चालन गर्ने महफिलमा गजल बाचन गरिसकेका छन् । रिदमले महफिलमा मान्छे मात्रै बोलाउँदैन, गुणस्तरले लैस गजलकारलाई बोलाउँछ जाजरकोटमा भन्ने छाप छोडेको छ । यो समयमा जाजरकोटको महफिल राजधानीमा मित्र बाबु त्रिपाठीले सञ्चालन गर्ने महफिल भन्दा न त कम छ, न सुर्खेतको साहित्यिक माहोलभन्दा वजनमा नै तल ।
महफिल धेरैले गर्ने गरेका छन् । महफिलको व्यानर झुण्ड्याएर महफिलको ब्याज खाने संस्थाहरू बर्खाको च्याउ झैँ उम्रेका कति छन् कति ! तर जाजरकोटी साहित्य आवाजले सञ्चालन गर्ने महफिलको वजनको क्वालिटी जोकोही महफिलसँग तुलना गर्न मिल्दैन । गजल सुनाएबापत सम्मानको नाउँमा हातमा उधारो खोष्टो थमाउनु मात्रै ठूलो कुरा होइन । रचना सुनाएवापत रचना र साहित्यकारलाई सम्मान स्वरूप आर्थिक सहयोग गर्नु पनि मुख्य कुरा हो । जाजरकोटी आवाजले यो कुराको हेक्का राखेर साहित्यकारलाई खुसी बनाएर पठाउने परम्पराको सुरुवात गरेको छ । टाढा–टाढाबाट साहित्यकारलाई बोलाउने तर पठाउँदा दुःखी बनाएर पठाउने संस्थाहरूको नाम लिन चाहँदैन तर उक्त संस्थाका कार्यक्रममा गएर पंक्तिकारलाई गुनासो पोखेका उदाहरण थुप्रै छन् । जाजरकोटी साहित्य आवाज र भावुक रिदम यस्ता कुराबाट चनाखो छ । संस्थाले र उसको उदारणीय कर्मको जोकोही संस्थाले सिको गर्न जरुरी छ ।
यस्तै दिउँसोको १२ बजेको हुनुपर्छ । म सुतिरहेको थिएँ । अक्सर मेरो मोबाइल साइलेन्ट मोडमै हुन्छ । आज मोबाइललाई साइलेन्टमा राख्न भुलेको रहेछु । रिदमको फोनको घण्टीले कानको किरा खाने गरी बज्यो । उसको फोनको घण्टी मेरो मोबाइलमा धेरै दिनको अन्तरालपछि आज बजेको थियो । कुराकानीको सुरुमै ‘दाजु, जाजरकोट महफिल हुने भयो कसलाई राख्दा ठीक होला ? नाम दिनुप¥यो’ उसले भनेको थियो । लामो छलफलपछि चार जनालाई राख्ने कुरा भयो । महेन्द्र चन्द ‘महासागर’ र सुमन स्मारिका बाहेक महिला र पुरुष दुई जनालाई स्थानीय तहबाट समेट्ने कुरा पक्का भयो । तर स्थानीय तहका गजलकारको नाम हामीले पक्का गरे पनि अन्ततः कच्चा साबित भयो । एकजना सायरको लोकसेवाको तयारीको लागि टाढा भएर आउन सकेनन् भने एक जना सायरको अल्लमल्ल जवाफ रहेछ, त्यो पनि फोनमा नभएर म्यासेज गर्नु भएको रहेछ । म्यासेज हेरिएन, फोनको पर्खाइमा । म्यासेज छोडेको थाह भएन, केही दिनपछि मात्रै थाहा भयो ।
महफिलको दिनहरू नजिकिँदै थिए । बल्लतल्ल सुर्खेतबाट ईन्द्र लम्सालको नाम निश्चित भएपछि जाजरकोट तेस्रो महफिलको ब्यानर बनेर आउने भयो । कार्यक्रम हुने दिन धेरै थिएनन्, जम्मा जम्मी ५÷६ दिन जति बाँकी थिए । डेङ्गुले बाबु त्रिपाठीलाई मात्रै रहेनछ, उनकी सानी छोरीलगायत घरका सपरिवारलाई छोएको रहेछ । यस्तो अवस्थामा पनि ‘ज्वरो आयो भनेर कार्यक्रम नजाने छुट बाबु त्रिपाठीलाई छैन’ भनेर साँझपख जाजरकोट महफिलको ब्यानर पोष्ट गरेको कुरा चानचुने थिएन । दिउँसो फोनमा कुराकानी हुँदा पनि १०२ डिग्री ज्वरो आएको कुरा सुनाएका थिए । ‘म जाजरकोट जसरी पनि पुग्छु’ उनले भनेको कुरा पंक्तिकारलाई अहिले पनि स्मरण छ । कहिले क्याविनमा कोच्चिएर त कहिले ढोकामा उभिएर बिरामी शरीर जाजरकोट महफिललाई सफल पार्नको लागि गजल मोह पालेर आउनु चानचुने विषय हुँदै होइन । नेपाली गजलको लागि बाबु त्रिपाठीको गजल मोहलाई कसले बुझ्ने ?
हिन्दुहरूको सर्वश्रेष्ठ पर्व दसैँ त हो नै । दसैँको टीका थाप्ने र मान्यजनको हातको आर्शीवाद लिने नेपाली आदिम संस्कार हो । यही कारणले होला हिजो हिँड्दा सुनसान लाग्ने बाटाहरू आज सवारी साधनको आउजाउले कोलाहलपूर्ण थियो । सहर र सडकहरूमा पनि दसैँको रौनकता बढेको भान हुन्थ्यो मुसाफिरहरूलाई । मुसाफिरको भेषमा दिउँसो एक बजे मंगलगढी चोक सुर्खेतबाट हरिश जोशी, भोजराज घोडासैनी, महेन्द्र चन्द महासागर, पहल असिम, हेमन्त हेमलक र पंतिकार रमाना भयौँ बाइकमा जाजरकोटको लागि । हेमन्त हेमलक र मेरो जाजरकोट एउटै बाइकमा जाने सल्लाह धेरै अगाडिदेखि तय भएको थियो । उमेरले काँचो लागे पनि व्यवहार र आचरणले ऊ कुनै साठी वर्षे वृद्ध बुवाभन्दा कम छैन । मान्छेलाई जिम्मेवार बनाउने आदत र व्यवहारले नै रहेछ । उसको गम्भीरता र भद्र कुराकानीले पुष्टि गर्छ । समय मिलेछ भने अझै ऊसँग लामो साहित्यिक यात्राको यायावर भएर हिँड्ने मन छ ।
यात्रामा सँगै हिँड्ने एउटा मान्छेको अभाव भयो भने यात्रामा के–के नपुगे जस्तो अनूभति हुने रहेछ । सुर्खेतबाट छिन्चु नपुग्दासम्म महेश के भट्टराईको अभाव भइरहेको थियो । भाइ महेश छिन्चु पुगेपछि अनुहारमा निकै खुसी छाएको थियो, युद्ध जितेका सिपाहीको फूर्ति जस्तै । बोटेचौरको खाजापछि हाम्रो यात्रा अघिपछि, अघिपछि गर्दै भेरी नदीको किनारै किनार अघि बढिरह्यो । यात्रामा सधैँ साथ दिइरहने महेशलाई उसको ‘इन्जिन घोडा’ले आज भने ठाउँ–ठाउँमा धोका दिइरहेको थियो । कारण, केही महिना अगाडि फेरेको टायर नक्कली परेको रहेछ ।
सुर्खेत र जाजरकोटको सीमानामा पर्ने छेडाबजारको माछाको स्वाद जोकोहीलाई मन पर्छ । स्वर्गीय राजा वीरेन्द्र छेडाको माछा औधि मन पराउँथे भन्ने किम्बदन्ती अहिले पनि जीवित छ त्यहाँ । छेडाको माछा नखाएर अगाडि बढ्ने कुरै भएन हामी पनि । भाइ हेमलक भन्दै थिए, ‘दाजु त्यो त मेरो इलाका हो, माछा म खुवाउँछु तपाईंहरूलाई ।’
जाजरकोट मेरो लागि पानी–पधेँरो जस्तो बनेको थियो । पछिल्लो पटक भने जाजरकोट नगएको एक वर्ष पुगेको रहेछ । हेमलकले माछाको बिल भुक्तानी गर्दा होटलवाल्नी आमा सुनाउँदै थिइन्, मलाई ।
रात निकै परिसकेको थियो । साँझ जाजरकोटमा गजल साँझ हुने पनि भनिएको थियो । हामी विलम्ब हुँदा गजल साँझ सुरु भएको थिएन । छेडाबाट हिँड्दै गर्दा रिदमको फोन आएको थियोे । ‘४० मिनेटमा पुग्छु’ भनेर मैले फोन काटेको थिएँ । सल्लीबाट भोजराज, हरिस, महेश र मनोज मनु अगाडि नै छुट्टीसकेका थिए । सल्लीबजारबाट भने हेमन्त हेम्लक र पहल असिमको सीट बदलीसहित बाइकराइडर पनि परिवर्तन भएका थिए ।
दमार बजारको अगाडि एउटा मोड छ । बाटो ठमम्याउन सकिएन, एक्कासी बाटो अगाडि मिराज उत्पन्न भएजस्तो भयो । मुस्किलले बाईक कन्ट्रोल त गरेँ तर बाइक झाडिले ढाकेको नाला नजिक पुगिसकेको रहेछ । बाइकलाई कन्ट्रोल गरेर क्षति हुनबाट बचाइयो तर मुटु ठाउँमा आएन । डरले हातगोडा लगलगी काँपीरहे । केही छिनसम्म बाइक उभिरहेको देखेपछि दमार बजारका साउजीहरू जम्मा भए । उनीहरू सोध्दै थिए, ‘चोट लाग्यो कि सर तपाईंहरूलाई ?’ बाइक पल्टेको पनि थिएन र चोट पनि लागेको थिएन हामीलाई । चोट लागेको छैन भनेर के भनेका थियौँ पछि उनीहरूको मुखारविन्दुबाट थाह भयो, केही महिना अगाडि मात्रै त्यसै ठाउँमा बाइक दूर्घटना भएर महिला र पुुरुषको ज्यान गएको रहेछ । मन झन झसङ्ग भयो । चोट लागेको छ कि भनेर शरीरका अङ्गहरू छामछुम ग¥यौँ । संयोगवस चोट हामी दुवैलाई लागेन । कूल देउतालाई पुकार्यौँ, कालापहर नजिकको बाजेको मन्दिर छ बाजेलाई सम्झेँ । पहलले दुर्घटना हुनबाट बचेको ठाउँमा निहुरिएर जमिनमा टाउको राखेर माटोलाई ढोग गरेर भेटी चढायो । मनमा डर पाल्दै कमिलाको गतिमा हामी होसियारी पूर्वक अगाडि बढ्यौँ ।
केही अगाडि सुनसान बाटो छेउमा मित्र महासागर र हेमन्त ठिङ्ग उभिरहेका थिए । हामीलाई पर्खेर बसेका होलान् सोचेका थियौँ, अफसोच उनीहरू पनि बढो मुस्किलले दुर्घटना हुनबाट बचेका रहेछन् । अप्रिय घटना भएको भए बाइक–मान्छे भेरी पुगिने थियोे भन्दै हेमन्त र मित्र महासागर डरका किस्सा सुनाइरहन्थे पछिसम्म । आफूमाथि परेको घटना आफैलाई ठूलो लाग्ने रहेछ । अहिले पनि त्यो घटना सम्झदा पहल र मेरो सातो नै गए झैँ लाग्छ ।
हामी अबेर पुग्यौँ । सबै हाम्रै पर्खाईमा थिए । खाना खाइबरी गजल साँझ सुरु भयो । गजल साँझको सहजीकरण जनक चन्द ऋुतुले गरेका थिए । जाजरकोटका गजलकार गणेश, दैलेखका पुष्कर बबु, रुकुमपूर्वकी जमुना गौतमले गजल वाचन गरेर सुनाए भने सुर्खेतका मुक्तककार भोजराज घोडासैनीले मुक्तक सुनाए । गजल साँझ खुब जम्यो, भोजराजका मुक्तकले गजल साँझमा उपस्थिति दर्शकहरूको दिल लुट्यो ।
कार्यक्रम विहान ११ बजेबाट सुरु हुने भनिए पनि अलि अबेर सुरु भयो । केही अगाडिसम्म खाली रहेको होटेल रम्बाको हल खचाखच भरियो । कार्यक्रमको सञ्चालन कालीबहादुर नेपालीले गरे । अतिथि आसनग्रहण पश्चात् दिप प्रज्वलन भेरी नगरपालिकाकी उपप्रमुखबाट भयो । विपिन सलामीको संग्रह ‘गजल गल्ली’को विमोचन र उक्त पुस्तकमाथि छोटो समिक्षात्मक टिप्पणीसहितको मन्तव्य राख्ने अवसर पंक्तिकारलाई प्राप्त भयो ।
दोस्रो चरण महफिलको सुरुवातको सहजीकरण बाबु त्रिपाठीले गरे । औपचारिक रूपले जाजरकोट तेस्रो महफिलले पूर्णता पायो । अब दैलेखका सायर महेन्द्र चन्द महासागर, कैलाली कि सायर सुमन स्मारिका र सुर्खेतका सायर इन्द्र लम्सालको गजल सुनाउने पालो थियो । आफूले आफूलाई जाँच्नु थियो, मन जित्नु थियो, महफिलको आसनबाट दर्शक दिर्घामा बसेका स्रोताहरूको । बाबु त्रिपाठीले पहिलो गजल सुनाउने जिम्मा महेन्द्र महासागरलाई सुम्पिए ।
म जमिन हुँ पैतला हुँ सफर हुँ
यात्री त हुँदै हुँ यात्राको घर हुँ
म बिरामी बोकेरै बिरामी भइसकेँ
मेरो उपचार कसले गर्छ स्ट्रेचर हुँ
महासागर बन्नलाई पनि धेरै खोला, नदीनालाको पानी मिसिएर महासागर बन्छ । महासागरका पनि अनेकौं पहिचान छन् । पेसाले शिक्षक भएता पनि उनी कुसल सञ्चारकर्मी पनि हुन् । ‘गितगजल’ उनको लोकप्रिय कार्यक्रम हो । आवाजमा बनावटी छैन, आवाजको माधुर्यता सुनेपछि उनकोे फ्यान नहुने अक्सर कमै होलान् । त्यही जादुमय आवाजको मोहोनीजाल शेरमार्फत फाले उनले । महासागरको गजलका दुई शेर सुन्दा यसो लाग्यो, कुरुक्षत्रको युद्धमा अर्जुनले दुश्मनको रूपमा आफ्नै दाजुभाइलाई देखिरहँदा उनी युद्ध लड्न तयार थिएनन् । कुरुक्षत्रको लडाई केवल सत्ता प्राप्तिको लागि मात्रै थिएन । त्यसैले उक्त युद्धलाई धर्मसँग जोडेर धर्म युद्धको नाम दिइएको थियो । असत्यमाथि सत्यको विजय । अर्जुनलाई विभिन्न उदाहरण दिएर कृष्णले फकाउन खोजे पनि अर्जुन युद्धलाई धर्मयुद्ध स्वीकार्न तयार थिएनन् । जल, जमिन, वायु, पृथ्वी, ब्रह्मा, विष्णु, महेश्वर, जन्म, मत्यु, सृष्टि सबै आफै भएको दाबी कृष्णले गरिरहँदा । अर्जुनको अगाडि कृष्णका उदाहरण निरह साबित भएपछि बाध्य भएर कृष्णले आफ्नो विराट रूप देखाएर अर्जुनलाई युद्धमा होमिन अभिप्रेरित गरेका थिए । महासागरले पनि जमिन, पैतला , सफर, यात्री र यात्राको घर आफै भएको दावा गरिरहँदा साहित्यिक कुरुक्षत्रको लडाइँमा सायरहरू शेर मार्फत युद्ध लडिरहेको आभाष हुन्थ्यो । को भन्दा को कम !
सुमन स्मारिका पनि आफ्ना शेर मार्फत उफ्रिहालिन् र भनिहालिन्ः
चप्पलको फिता पनि बिच बजारमा चुट्यो
गरिबीले पनि गरिब हुनुको औकात देखायो
निश्चय पनि सहर हरेक वस्तुको भण्डार हो । हाम्रो जिब्रोमा झुन्डिएको थेगो नै बनेको छ, ‘आमा–बा बाहेक सहरमा रूपैयाँ–पैसाले सबै चिज किन्न पाइन्छ ।’ जेब गरम छैन भने पानी पनि किन्न नसकिने अवस्था बजारको हो । जेब गरम नभएर सार्वजनिक शैचालएमा शौच गर्न नसकेर खुल्ला ठाउँको खोजीमा चहार्दै हिँडेको अवस्था अक्सर सबैले भोगेकै कुरा हो । चप्पलको फिता चुडेपश्चात् फितै किन्न नसकेर सहरमा खाली खुट्टा हिँड्नुको पीडा स्मारिकाले गजल शेर मार्फत् बोलेकि छिन् ।
इन्द्र लम्साल मेरै छिमेकी भाइ हुन् । यिनले यति राम्रा गजल लेख्छन् भन्ने कुरा धेरै पछि थाह पाएको थिएँ । टाढैबाट झल्याक–झुलुक भेट नभएको त होइन । नजिकबाट भेट भएर गजल सुन्ने मौका एकपटक ईत्राममको झिलिमिली रेष्टुरेन्टमा दैलेखका मित्र धिरेन्द्र शाहीले मिलाएका थिए । यिनले गजल सुनाए खासमा मलाई नै लक्षित गरेर भन्ने लाग्छ । मैले त्यतिबैलै यिनका गजलमाथि गौर गरेको थिएँ । मौका आयो भने महफिलमा यिनलाई उतार्नु पर्छ भन्ने कुरा एक वर्ष अघि नै मनमनै खेलाएको थिएँ । तर संयोगबस भाइ रिदमले जुराइ दियो पनि । मलाई डर थियो गजल सुनाएर देश खाई सकेका दुई महारथी महासागर र स्मारिकाको अगाडि यो भाइ टिक्छ कि टिक्दैन भन्ने । सवाल थियोे सुर्खेतको । सवाल थियो उसको लागि पनि । मौकामा हिरा फोर्न सक्नेहरू नै सफल हुन्छन् । हिरा फोर्यो र इन्द्रले मौकामा चौका हानेर देखायो । म मात्रै खुसी भइनँ, उसका सेरले सबै खुसी भए । उसले आगो बाल्यो । अरुको अगाडि आफूले आफूलाई पाको गजलकारको रूपमा स्थापित गर्यो ।
त्यो डराउनै पर्ने समय थियो डरायो
झुटको भिडमा उभिन साँचो डरायो !
मैले आगो जलाएको सपना देखें
मेरा सपना जलाउन आगो डरायो !!
गजल पढ्दा सामान्य लागे पनि गजलको भाव समुद्रको गहिराइ भन्दा गहिरो छ । गजलको भाव बुझ्न कठिन छ, झन् बुझ्यो झन् कठिन छ । त्यसैले मैले पनि माथिका शेरहरूको भाव आफ्नै तरिकाले बुझ्ने जिम्मा लगाए ।
यसपालिको कार्यक्रम नसोचेकै भयो । कुनै कुनै कार्यक्रम नसोचेकै हुदाँ रहेछन् । जाजरकोटमा गजल माहोल बनाएर जाजरकोटी साहित्यलाई मलजल गरी रहने भावुक रिदम बाबुलाई जरुर जाजरकोटी साहित्यिक इतिहासले सम्झिरहनेछ । हरेस नखानु बाबु साथमा हामी छौँ ।
भावुक रिदमले कार्यक्रम औपचारिक रूपले सम्पन्न गरेपछि हामी आफ्नै लयमा गन्तव्यतर्फ मोडियौँ । जाजरकोटी साहित्य आवाजको संरक्षकको भुमिका निभाइरहेका भेरी नगरपालिकाका प्रमुख सिपी घर्ती र जाजरकोट उद्योग वाणिज्य संघका अध्यक्ष मित्र कर्णबहादुर खत्री, माया जिएम, जनक चन्द ऋतु, कालीबहादुर नेपाली, महेन्द्र शाही समिरण, प्रेम प्रयास र सल्यानका भाइ तारादेश शर्मालाई बाटोभरी सम्झदै सल्लीबजारको बाससँगै भोलिपल्ट सुर्खेत पुग्यौं, जाजरकोटीहरूको न्यानो मायाको अनुभूति गर्दै ।
प्रकाशित मितिः २९ आश्विन २०७९, शनिबार ०५:०४
धिरेन अनुपम ।