व्यवसायीद्वारा अर्थमन्त्रालयको ध्यानाकर्षण

सुर्खेत: सुर्खेतका व्यवसायीहरू बैंकहरूको नीतिविरुद्ध आन्दोलित भएका छन् । शुक्रवार जिल्ला बन्दको आह्वान गरेका व्यवसायीका छाता संस्थाहरूले सुर्खेतका प्रमुख जिल्ला अधिकारीमार्फत अर्थमन्त्रालयको ध्यानाकर्षण गराएका छन् । बैंकहरूले निजी क्षेत्रलाई धराशायी बनाउने गरी ब्याज दर र व्याज किस्ताका लागि दिएको मानसिक यातानका विरुद्ध भन्दै व्यवसायीहरूले विरोध जनाएका हुन् । देशको अर्थतन्त्र धानिरहेको निजी क्षेत्रलाई समस्याग्रत गराउने गरी नेपाल राष्ट्र बैंकले जारी गरेको मार्गनिर्देशनको आडमा बैंकहरूले ऋण लगानीमा मनपरी ब्याज असुली रहेको आरोप लगाइएको छ ।

निजी क्षेत्रमा भएको ऋण लगानीको ब्याज मनपरी ढंगले महिनैपिच्छे बढाउने, सेवा शुल्कका नाममा अनेको शुल्क लिएर थप आर्थिक भार थप्ने र व्याज किस्ताका लागि तारन्तार मानसिक दवाव दिएपछि आफूहरू आन्दोलित बनेको संयुक्त व्यावसायिक संघर्ष समिले जनाएको छ । सोही विरोधमा उनीहरूले चरणबद्ध आन्दोलन घोषणा गरेका छन् । जसअन्तर्गत शुक्रवार सुर्खेत बन्द गर्नुका साथै जिल्ला प्रशासन कार्यालयमार्फत अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकको सुर्खेत कार्यालयमार्फत केन्द्रीय कार्यालयको ध्यानाकर्षण गराइएको छ । उक्त ज्ञापनपत्रमा व्यवसायीहरूले कर्जाको व्याजदरमा एकल अंक कायम गरी स्थायित्व हुनुपर्ने, बैंकले लिने सेवा शुल्कलगायतका कुनै पनि शुल्क महसुल लिन नपाउने, पुरानो चालु पुँजी कर्जा निर्देशिकालाई खारेज गरी नयाँ निर्देशिका लागू गर्नुपर्ने लगायतका माग राखिएको छ । सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेलका अनुसार व्यवसायीहरूले आइतवार बैंक बहिस्कार गर्ने विरोधको कार्यक्रम तय भएको । व्यवसायीले राखेका मागहरूको सुनुवाइ नभए थप कडा आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् ।

 

प्रकाशित मितिः   २९ आश्विन २०७९, शनिबार ०५:०१