सहयात्रादेखि प्रतिस्पर्धासम्म

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता भएसँगै रोचक तस्विरहरू देखिएका छन् । निवर्तमान सांसदहरू नै निकटबाट वञ्चित भएका छन् । यसपटक टिकट नपाउनेहरूमा बहालवाला मन्त्रीदेखि पूर्वमन्त्रीसम्म छन् । कतिपयले चुनावका लागि सम्बन्धित राजनीतिक दलले टिकट नदिँदा दल बदलेर समेत उम्मेदवार बनिरहेका छन् भने कतिपय स्वतन्त्र उम्मेदवार बनेर दलका उम्मेदवारलाई चुनौती दिन लागिपरेका छन् । यसबीच कर्णाली प्रदेशका कतिपय निर्वाचन क्षेत्रमा यसपालि पूर्व सहकर्मीहरूबीच रोचक चुनावी प्रतिस्पर्धा हुने भएको छ । एउटै पार्टीमा लामो समय सहकार्य गरेका नेताहरू अहिले फरक दलबाट चुनावी मैदानमा भिड्ने भएका हुन् । दैलेख, सल्यान, डोल्पा, सुर्खेत, मुगु र जुम्लामा पूर्व सहकर्मीहरूबीच प्रतिस्पर्धा हुने भएको हो ।

पूर्वसहकर्मीहरूसँगको प्रतिस्पर्धामा खास गरेर नेकपा (एमाले) का उम्मेदवार छन् । एमाले विभाजन भइ बनेको नेकपा (एकीकृत समाजवादी) सत्तारुढ गठबन्धनमा छ भने एमालेले गठबन्धनसँग प्रतिस्पर्धा गर्दैछ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा यी दुई पक्षबीच नै धेरै क्षेत्रमा मुख्य प्रतिस्पर्धा हुनेछ । सत्ता गठबन्धनमा एकीकृत समाजवादीको भाग परेका निर्वाचन क्षेत्रमा एमाले र एकीकृत समाजवादीका उम्मेदवारबीच चुनावी प्रतिस्पर्धा हुने भएको हो । जस्तो प्रतिनिधिसभाको दुई वटा निर्वाचन क्षेत्र रहेको दैलेखको क्षेत्र नं. १ मा सत्तारुढ गठबन्धनले एकीकृत समाजवादीका कर्णाली प्रदेश अध्यक्ष अम्मरबहादुर थापालाई उम्मेदवार बनाएको छ । थापासँग एमालेका तर्फबाट जिल्ला पार्टी अध्यक्ष रविन्द्रराज शर्मा भिड्दै छन् । उनीहरू एमालेमा लामो समय सहकार्य गरेका र एउटै भूगोलमा मिलेर राजनीतिक गरेका नेताहरू हुन् । थापा र शर्माको उम्मेदवारी परेपछि यसपटक त्यहाँ प्रतिस्पर्धा निकै रोचक हुने अड्कलबाजीहरू सुरु भएका छन् । यस्तै सुर्खेत क्षेत्र नं. २ ‘क’ मा एमालेका स्थायी कमिटी सदस्य एवम् कर्णाली प्रदेश इन्चार्ज यामलाल कँडेल र एकीकृत समाजवादीका केन्द्रीय सदस्य शिवप्रसाद उपाध्यायबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ । कँडेल र उपाध्याय लामो समय एमालेको राजनीतिका सहकर्मी हुन् ।

कर्णालीमा प्रत्यक्षतर्फ प्रतिनिधिसभाका १२ र प्रदेशसभाका २४ सीट छन् । जसमा सत्तारुढ गठबन्धनको साझा उम्मेदवारका रूपमा एकीकृत समाजवादीले प्रतिनिधिसभाका तीन र प्रदेशसभाका दुई क्षेत्रमा टिकट पाएको छ । त्यसबाहेक आफ्नो उम्मेदवार नभएका केही क्षेत्रमा समाजवादीले गठबन्धनसँग पनि प्रतिस्पर्धा गर्ने भन्दै उम्मेदवारी दिएको छ । एकीकृत समाजवादीले गठबन्धनबाट दैलेख, सल्यान र डोल्पामा प्रतिनिधिसभा र मुगु तथा जुम्लामा प्रदेशको एक÷एक सीटमा टिकट पाएको छ । तीमध्ये सबैजसोमा मुख्य प्रतिस्पर्धी उम्मेदवार पूर्व सहकर्मीहरू नै छन् ।

प्रकाशित मितिः   २८ आश्विन २०७९, शुक्रबार ०५:०३