चर्को व्याजको विरुद्व व्यवसायी आन्दोलित

सुर्खेत: निजी क्षेत्रलाई धरासायी बनाउने गरी बैंकहरूले ऋण लगानीको ब्याज मनपरी ढंगले लिएको भन्दै व्यवसायीहरू त्यसको विरोधमा उत्रिएका छन् । बैंकहरूले जबरजस्ती रूपमा बढाएको ब्याज दर र ब्याज किस्ताको विरोधमा व्यवसायीहरूले आज (शुक्रवार) सुर्खेत बन्द गर्ने बताएका छन् । सुर्खेत उद्योग वाणिज्य संघसहित व्यवसायीहरूका विभिन्न संगठनहरू बैंकविरुद्ध सामूहिक रूपमा आन्दोलित भएका हुन् । संयुक्त व्यवसायी संघर्ष समितिले बिहीवार संयुक्त विज्ञप्ती जारी गरेर मुलुकमा पछिल्लो समय चुलिँदै गएको आर्थिक संकटमा पनि अर्थतन्त्र धानिरहेको निजी क्षेत्रलाई झन् समस्याग्रस्त बनाइएको आरोप लगाएका छन् । ‘नेपाल राष्ट्र बैंकले जारी गरेको चालु पुँजी मार्गनिर्देशन–२०७९ को आडमा आर्थिक मन्दीको अवसर छोपेर निजी क्षेत्रलाई धराशायी बनाउने गरी बैंकहरूको सिण्डीकेटले गरिरहेको कडिकसाउप्रति सामूहिक रूपमा प्रतिवाद गर्दै संस्थागत रूपमा कडा विरोध जनाउँदछौँ,’ जारी विज्ञप्तीमा भनिएको छ ।

बैंकहरूले ऋण लगानीको ब्याज मनपरी रूपमा महिनैपिच्छे बढाउने, सेवा शुल्कका नाममा अनेकौं शुल्क लिएर थप आर्थिक भार थप्ने र ब्याज किस्ताका लागि तारन्तार मानसिक दवाव दिने जस्ता कार्यले सिँगो निजी क्षेत्र हतोत्साही भएको व्यवसायीहरूको भनाइ छ । व्यवसायीहरूले यस्ता कार्यका विरुद्ध चरणवद्ध रूपमा आन्दोलनका कार्यक्रम गरिने समेत बताएका छन् । व्यवसायिका संघसंगठनहरूले कर्जाको ब्याजदरमा एकल अंक कायम गरी स्थायित्व हुनुपर्ने, बैंकहरूले विभिन्न शीर्षकमार्फत लिने सेवा शुल्कलगायतका कुनैपनि शुल्क महशुल लिन नपाउने, पुरानो चालु पुँजी कर्जा निर्देशिकालाई यथावत राखी नयाँ निर्देशिका क्रमिक रूपले लागू गर्नुपर्नेलगायतका माग राखेका छन् ।

प्रकाशित मितिः   २८ आश्विन २०७९, शुक्रबार ०५:०३