निर्वाचनबारे पत्रकारलाई अभिमुखीकरण
सुर्खेत: निर्वाचनका बारेमा पत्रकारहरूलाई अभिमुखीकरण गरिएको छ । बिहीवार वीरेन्द्रनगरमा भएको एक कार्यक्रममा पत्रकारहरूलाई निस्पक्ष रिपोर्टिङ तथा दुस्प्रचार र घृणायुक्त अभिव्यक्तिको रोकथामका विषयमा अभिमुखीकरण गरिएको हो । मिडिया एक्सन नेपालले आयोजना गरेको सो कार्यक्रममा आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा निष्पक्ष भएर समाचार संकलन, प्रकाशन तथा प्रसारण गर्न सुझाइएको छ । त्यस्तै, घृणायुक्त अभिव्यक्ति र दुष्प्रचारबाट बच्नुपर्नेमा जोड दिइएको छ । मिडिया एक्सनका अध्यक्ष लक्ष्मणदत्त पन्तले निर्वाचनका समयमा राजनीतिक दलहरूले एक अर्कोप्रति घृणायुक्त अभिव्यक्ति दिने गरेकाले मिडियाले यस्ता भाषणहरूको समाचार सम्प्रेष्ण गर्दा ख्याल गर्नुपर्ने जनाए । पत्रकारहरूले आफ्नो र निर्वाचन आयोगले जारी गरेको आचारसंहिता पालना गर्नुपर्ने उनको भनाइ थियो ।
यस्तै, पत्रकार कल्पना आचार्यले निर्वाचनमा लैगिंक दृष्टिकोणले घृणायुक्त र दुष्प्रचारबाट सञ्चारमाध्यमहरू जोगिनुपर्ने धारणा राखिन् । उनले महिला उम्मेदवारलाई सञ्चारमाध्यमहरूले नै अपमान हुनेगरी समाचार प्रकाशन प्रसारण गरिरहेको उल्लेख गर्दै यस्तो कार्यलाई निरुत्साहित गर्नुपर्ने जनाइन् । सञ्चारमाध्यमले दलका एजेन्डा, मतदाता शिक्षा र सीमान्तकृत समुदायका सवाललाई बढी प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो । कार्यक्रममा सहभागी पत्रकारहरूले निर्वाचनका समयमा निष्पक्ष रूपमा पेसागत जिम्मेवारी बहन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उक्त अभिमुखीकरण काार्यक्रममा २० जना पत्रकारहरूको सहभागिता रहेको थियो ।
प्रकाशित मितिः २८ आश्विन २०७९, शुक्रबार ०५:०२
साझा बिसौनी ।