ऐन नबन्दा बढुुवा रोकियो
सुर्खेत: कर्णाली प्रदेश निजामती सेवा ऐन नबन्दा कर्मचारीहरूको वृत्ति विकासमा असर परेको छ । प्रदेशमा बढुवालगायतका सुविधाका लागि कानुन नहुँदा सयौँ कर्मचारी मर्कामा परेका हुन् । जसले गर्दा प्रदेश मातहतका कर्मचारीहरूको मनोबल कमजोर बनेको नेपाल निजामति कर्मचारी संगठनका केन्द्रीय सदस्य सुरेन्द्र शाही बताउँछन् । सोही विषयलाई लिएर पटक–पटक प्रदेशसभाको ढोका ढकढक्काउँदा पनि सुुनाइ हुन नसकेको उनले जनाए । ‘प्रदेश निजामती सेवा ऐन जारी गर्नका लागि धेरै पटक प्रदेश सरकार र संसद्मै पुगेर सभामुखसँग पनि अनुरोध गरियो । तर, सुझावसहित हामीले ऐन जारी गर्न माग गरेपनि सुनुवाई भएन,’ उनले भने ।
प्रदेशको निजामती सेवा ऐन जारी नहुुँदा बढुवाका लागि आवश्यक योग्यता तथा मापदण्ड के हुुने ? केलाई आधार मान्ने ? भन्ने विषय अलमलमा रहेको बताइएको छ । प्रदेशमा ज्येष्ठताका आधारमा गर्ने कि ? कार्यसम्पादनका आधारमा कर्मचारीको बढुवा गर्ने भन्ने विषयमा ऐन नबन्दा समस्या भएको हो । अति आवश्यक ऐन पनि जारी नगरिँदा सयांैको संख्यामा बढुवा रोकिएको कर्मचारीहरूको गुनासो छ । बढुवाका लागि योग्य कर्मचारीको वृत्ति विकास विगत पाँच वर्षदेखि रोकिँदा कर्मचारीमा नैराश्यता पैदा हुने गरेको शाहीले बताए । संघ, प्रदेश र स्थानीय तहका कर्मचारीहरू बिचमा नै वृत्ति विकास र सेवा सुविधामा ठूलो असमानता हुन थालेको उनको भनाइ छ ।
यस्तै, समावेशी सिद्धान्तको मर्ममाथि प्रहार हुने गरी कर्णाली प्रदेशमा बसोबास नै नभएको मधेशी समुदायको आरक्षण कोटा छुट्याइएकोप्रति पनि कर्मचारीहरू असन्तुष्ट छन् । यसले गर्दा कर्णालीबासीहरू आफ्नो प्रदेशको सेवा गर्ने अवसरबाट वञ्चित हुनुपर्ने स्थिति सिर्जना हुँदै गएको उनीहरूको जिकिर छ ।
पहिलो कार्यकालमा कर्णाली सरकारले समग्र प्रदेशको विकासको पूूर्व प्राथमिकतामा रहेका सार्वजनिक व्यवस्थापनका मुख्य कार्यक्षेत्र जनशक्ति व्यवस्थापन, संगठन व्यवस्थापन, योजना व्यवस्थापन, बजेट व्यवस्थापन र विकास व्यवस्थापनलाई प्रभावकारी बनाउन नसकेको कर्मचारीहरूको आरोप छ । प्रदेश लोक सेवा आयोगका प्रवक्ता (उपसचिव) बुद्धिबहादुर खत्रीले कानुन निर्माणको पाटो सरकार र संसद्सँग सम्बन्धित भएकाले यसमा आयोग आवश्यक समन्वयनको भूमिकामा मात्रै हुने बताए । उनका अनुसार आयोगले खुल्लातर्फको पदपूर्तिका लागि विज्ञापन गरिरहेपनि बढुवाको काम भने हुन सकेको छैन । कानुुन नबन्दा बढुवाको आधार र मापदण्ड तयार हुन नसकेको उनले जनाए ।
प्रकाशित मितिः २८ आश्विन २०७९, शुक्रबार ०५:०४
साझा बिसौनी ।