पुरानै पात्र, नयाँ ‘मुकाबिला’
सुर्खेत: तीन दशकअघिकै प्रतिस्पर्धी हुन्, यामलाल कँडेल र कालीप्रसाद शाक्य । २०४९ सालमा स्थानीय निकायको निर्वाचन हुँदा वीरेन्द्रनगर नगरपालिकाको प्रमुखका लागि उनीहरूबीच प्रतिस्पर्धा भएको थियो ।
यामलाल एमालेका उम्मेदवार थिए, नेपाली कांग्रेसले शाक्यलाई अघि सारेको थियो । त्यतिबेलाको चुनावमा कँडेलले बाजी मारे, शाक्य पराजित भए । सोही निर्वाचनबाट नगरको उपप्रमुखमा एमालेका शिवप्रसाद उपाध्याय निर्वाचित भएका थिए । सुर्खेती राजनीतिका यिनै तीन खेलाडी अहिले एकअर्काविरुद्ध चुनावी मैदानमा भिड्दैछन् ।
आगामी मंसिर ४ गते हुने प्रदेशसभाको निर्वाचनमा कँडेल, शाक्य र उपाध्यायबीच प्रदेशसभा सदस्यका लागि प्रतिस्पर्धा हुने भएको हो । सुर्खेतको निर्वाचन क्षेत्र नं. २(क) मा पुरानै पात्रहरूबीचको रोचक नयाँ ‘मुकाबिला’ देखिने छ । एमालेबाट कँडेल, कांग्रेसबाट शाक्य र नेकपा(एकीकृत समाजवादी)कातर्फबाट उपाध्यायले उम्मेदवारी दर्ता गरेका छन् ।
शाक्य र उपाध्यायकै समकालीन कँडेल अहिले राष्ट्रिय राजनीतिमा स्थापित भइसकेका छन् । पूर्वमन्त्री रहिसकेका उनी नेकपा (एमाले)को स्थायी कमिटी सदस्य हुन् । कर्णाली प्रदेशमा एमालेको नेतृत्व गर्ने कँडेल मुख्यमन्त्रीका दाबेदारसमेत हुन् ।
कांग्रेसका शाक्य भने अहिले पार्टीको पदीय जिम्मेवारीमा छैनन्, उनी महाधिवेशन प्रतिनिधि हुन् । यसअघि जिल्ला सचिव र उपसभापति भइसकेका उनी सभापतिमा पराजित भएका थिए । पूर्व जिल्ला सभापति कमलराज रेग्मी र वर्तमान सचिव देवकुमार सुवेदीबीचको टिकट रस्साकस्सीबीच शाक्य उम्मेदवार बनेका छन् ।
अर्कोतर्फ लामो समय एमालेमा यामलालसँगै सहयात्रा गरेका शिवप्रसाद उपाध्याय यसपटक उनीसँग प्रतिस्पर्धामा उत्रिएका छन् । त्यसो त कँडेल र उपाध्यायबीचको यो पहिलो प्रतिस्पर्धा होइन । २०७० को संविधानसभा सदस्य निर्वाचनमा एकअर्काका प्रतिस्पर्धी भइसकेका छन् । एमालेले कँडेललाई उम्मेदवार बनाएपछि उपाध्यायले स्वतन्त्र उम्मेदवारी दिएर चुनाव लडेका थिए । यद्यपि उक्त निर्वाचनमा दुवै जना पराजित हुन पुगे । एमाले टुक्रिएर नेकपा (समाजवादी) बनेपछि उपाध्याय समाजवादीतिर लागे । उक्त पार्टीको केन्द्रीय सदस्य समेत हुन् ।
कांग्रेस र माओवादीसहित समाजवादीको देशव्यापी गठबन्धन छ । तर टिकट भागबन्डामा सुर्खेतका ६ मध्ये कुनै पनि क्षेत्र समाजवादीको भागमा परेन । भागबन्डा न्यायोचित नभएको भन्दै उपाध्यायले पनि उम्मेदवारी दर्ता गराएका हुन् । उनको उम्मेदवारीले सुर्खेतको क्षेत्र नं. २(क)को निर्वाचनलाई थप रोचक बनाएको छ । यो क्षेत्रमा वीरेन्द्रनगर नगरपालिकाका १४ वटा वडा पर्दछन् । १४ मध्ये १० वडासहित पालिका प्रमुख र उपप्रमुख पनि एमालेले जितेको छ । वडाअध्यक्षहरूले पाएको मतअनुसार एमालेको १८ हजार ६ सय १५ मत छ ।
कांग्रेस दोस्रो दल हो । कांग्रेसले १४ मध्ये चार वटा वडा मात्रै जितेको छ । कांग्रेसका वडाअध्यक्षहरूले पाएको मत १६ हजार छ । सत्तारुढ गठबन्धनकै नेकपा(माओवादी केन्द्र)ले तीन हजार पाँच सय ५८ मत पाएको छ । यसरी गठबन्धनसँग १९ हजार पाँच सय ५० मत हुनआउँछ ।
वीरेन्द्रनगरमा एकीकृत समाजवादीको अवस्था निकै कमजोर देखिन्छ । स्थानीय निर्वाचनमा नगर प्रमुखका उम्मेदवारले चार सय ६० मत पाउँदा उपप्रमुखका उम्मेदवारले आठ सय ८८ मत पाएका थिए । वडाअध्यक्षहरूको मत जोड्दा पनि एक हजारभन्दा कम रहेको छ । यद्यपि, २०७० मा बागी उम्मेदवार बन्दा उपाध्यायले सम्मानजनक मत पाएका कारण यो क्षेत्रमा कँडेल, शाक्य र उपाध्यायबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने आँकलन गरिएको छ ।
प्रकाशित मितिः २८ आश्विन २०७९, शुक्रबार ०५:०४
साझा बिसौनी ।