प्रदेशमा नयाँ अनुहार

कर्णाली प्रदेशसभाको अघिल्लो कार्यकालका ४० जना सदस्यमध्ये एक तिहाइले मात्रै फेरि उम्मेदवार बन्ने मौका पाएका छन् । आगामी मंसिर ४ गते हुने प्रदेशसभा निर्वाचनका लागि निवर्तमान प्रदेशसभा सदस्यहरूमध्ये नौ जना पुनः प्रदेशसभा सदस्यको उम्मेदवार बनेका छन् भने चार जना प्रतिनिधिसभा सदस्यको दौडमा छन् । यो प्रत्यक्षतर्फको तथ्यांक हो । समानुपातिकतर्फ पनि राजनीतिक दलहरूले पुरानालाई दोहो¥याएनन् । नयाँ अनुहारलाई प्राथमिकता दिए । दलहरूको प्राथमिकतामा नयाँ अनुहार पर्दा कर्णाली प्रदेशसभामा प्रतिनिधित्व गर्ने जनप्रतिनिधिमा अधिकांश नयाँ हुनेछन् ।

प्रदेशसभामा पहिलो अर्थात् प्रत्यक्ष निर्वाचन प्रर्णालीबाट २४ जना सदस्य चुनिन्छन् । त्यसैगरी समानुपातिक प्रर्णालीअन्तर्गत १६ जना छानिएर ४० सदस्यीय सभा बन्छ । दोहोरिएर उम्मेदवार बनेकाहरूमा सुर्खेत क्षेत्र नं. १ प्रदेशसभा ‘क’ बाट ठम्मर विष्टले उम्मेदवारी दर्ता गरेका छन् । यस्तै, सुर्खेत क्षेत्र नं. २ प्रदेशसभा ‘क’ मा यामलाल कँडेल उम्मेदवार बनेका छन् । पूर्वमन्त्री कँडेल २०७४ को निर्वाचनमा कर्णालीको मुख्यमन्त्री बन्ने आकांक्षासहित प्रदेशमा झरेका थिए । अघिल्लो कार्यकालमा सो अवसर नपाएका कँडेल अहिले पनि एमालेबाट मुख्यमन्त्रीका दाबेदार हुन् । माओवादी केन्द्रले सुर्खेत क्षेत्र नं. २ प्रदेशसभा ‘ख’ मा निवर्तमान प्रदेशसभा सदस्य बिन्दमान विष्टलाई नै टिकट दिएको छ । उनले उक्त क्षेत्रबाट सत्तारुढ गठबन्धनको उम्मेदवारका रूपमा मनोनयन दर्ता गरेका छन् । विष्ट कर्णाली प्रदेश सरकारका पूर्वमन्त्रीसमेत हुन् । दैलेख क्षेत्र नं. १ प्रदेशसभा ‘क’ बाट २०७४ को निर्वाचनमा प्रदेशसभा सदस्य बनेका धर्मराज रेग्मी यसपटक पनि प्रदेशकै उम्मेदवार बनेका छन् । अघिल्लो निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित उनलाई अहिले एमालेले उम्मेदवारका लागि अघि बढाएको छ । रेग्मीले पनि नेकपा विघटनपछि एमाले रोजेका थिए । त्यस्तै, सल्यान प्रदेशसभा ‘ख’ बाट गुलाबजंग शाह पुनः प्रदेशसभा सदस्यको उम्मेदवार बन्दा हुम्लाको निर्वाचन क्षेत्र (ख) प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाही प्रदेशसभामै दोहोरिने गरी मनोनयन दर्ता गराएका छन् । जुम्लामा निवर्तमान प्रदेशसभा सदस्य पदम रोकाय फेरि प्रदेशसभा सदस्यका लागि उम्मेदवार बनेका छन् । अघिल्लो निर्वाचनमा एमालेबाट निर्वाचित भएका रोकाय पार्टी विभाजनपछि एकीकृत समाजवादीमा लागेका छन् । यस पटक सत्तागठबन्धनले उनलाई जुम्ला प्रदेशसभा ‘ख’ बाट उम्मेदवारमा अघि बढाएको छ ।

अघिल्लो कार्यकालमा प्रदेशसभा सदस्य रहेका चार जनाले भने यसपटक प्रतिनिधिसभा रोजेका छन् । दलहरूले नयाँलाई अवसर दिने र मतदाता रिझाउने रणनीति अबलम्बन गरेको देखिन्छ । पछिल्लो समय मतदाताको रोजाइमा नयाँ उम्मेदवा पर्न थालेपछि दलहरूले पनि पुरानालाई नदोहोर्याएर नयाँ उम्मेदवार अघि सारेका हुन् । मतदातालाई कसलाई रोज्छन् त्यो भने निर्वाचनको परिणामबाटै थाहा हुनेछ ।

प्रकाशित मितिः   २७ आश्विन २०७९, बिहीबार ०५:०३