बागीको उम्मेदवारी फिर्ता
सुर्खेत: आउँदो मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पार्टी र चुनावी गठबन्धनको निर्देशनविपरीत बागी उम्मेदवारी दिएका विभिन्न दलमा आवद्ध व्यक्तिहरूले मनोनयन फिर्ता लिएका छन् । संसदीय निर्वाचनका लागि उम्मेदवारका आकांक्षी उनीहरूलाई पार्टीले टिकट नदिएपछि प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा स्वतन्त्र रूपमा मनोनयन दर्ता गरेका थिए । सुर्खेत क्षेत्र नंं. १ मा प्रतिनिधिसभा सदस्यका लागि गठबन्धनबाट उम्मेदवारी दर्ता गराएका नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काविरुद्ध परेको बागी उम्मेदवारी फिर्ता भएको छ । त्यहाँ नेकपा (माओवादी केन्द्र) मानसिंह ठकुरीले उम्मेदवारी दिएका थिए । उनले बुधवार निर्वाचन आयोगले तोकेको समय सीमाभित्र आफ्नो मनोनयन फिर्ता लिएका हुन् । गठबन्धन दलबाट साझा उम्मेदवार बनेका खड्कासँग प्रतिस्पर्धा गर्ने भन्दै सत्तारुढ गठबन्धनकै एक घटक माओवादी केन्द्रका सिंहले उम्मेदवारी दिएपछि उनलाई मनाएर उम्मेदवारी फिर्ता गर्न लगाइएको हो ।
त्यस्तै, सुर्खेत क्षेत्र नं. १ को प्रदेशसभा ‘ख’ मा नेकपा (एमाले)का उम्मेदवार डण्डीप्रसाद शर्माविरुद्ध एमाले नेता एवम् कर्णाली प्रदेश सरकारका पूर्वमन्त्री खड्कबहादुर खत्रीले बागी उम्मेदवारी दिएका थिए । खत्रीको नाम उक्त क्षेत्रबाट एकल सिफारिस भएपनि पार्टी केन्द्रले शर्मालाई टिकट दिएपछि नेता कार्यकर्ताहरू विभाजित बनेका थिए । सोही क्षेत्रबाट २०७४ को निर्वाचनमा प्रदेशसभा सदस्यमा निर्वाचित खत्रीले आफूमाथि अन्याय भएको भन्दै स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए । उनलाई जिल्ला पार्टी र स्थानीय कमिटीहरूको साथ भएपनि पार्टी केन्द्रले निर्णय हेरफेर नगरेपछि अन्नतः उम्मेदवारी फिर्ता लिनुपरेको हो । खत्रीले पार्टीका आधिकारिक उम्मेदवार शर्मालाई समर्थन गर्दै बुधवार मनोनयन फिर्ता लिएका हुन् । निर्वाचन आयोगले मनोनयन फिर्ता लिने अन्तिम समय बुधवारसम्मका लागि दिएको थियो । सोही निर्वाचन क्षेत्रमा सत्तारुढ गठबन्धनका प्रदेशसभा सदस्यका साझा उम्मेदवार कृष्ण जिसीविरुद्ध परेको बागी उम्मेदवारी भने फिर्ता भएन । चिङ्गाड गाउँपालिकाका निवर्तमान अध्यक्ष देवबहादुर चन्दले जिसीविरुद्ध उम्मेदवारी दिएका छन् । जिसी माओवादी केन्द्रका र चन्द कांग्रेसका हुन् ।
यस्तै, निर्वाचन क्षेत्र नं. १ को प्रदेशसभा ‘क’ बाट स्वतन्त्र उम्मेदवारी दिएका युवराज शर्माले पनि उम्मेदवारी फिर्ता गरेका छन् । सुर्खेत निर्वाचन क्षेत्र नं. २ मा दुई जनाले उम्मेदवारी फिर्ता लिएका छन् । प्रदेशसभा ‘क’ बाट स्वतन्त्र उम्मेदवारी दिएका माओवादी केन्द्रका पदम वन र सूर्यबहादुर खत्रीले उम्मेदवारी फिर्ता लिएका हुन् । प्रदेशसभा ‘क’ बाट उम्मेदवारी दर्ता गराएका एकीकृत समाजवादीका शिवप्रसाद उपाध्यायले उम्मेदवारी फिर्ता लिएनन् । सत्तारुढ गठबन्धनको घटक भएपनि समाजवादीले गठबन्धनसँगै मित्रवत प्रतिस्पर्धा गर्ने जनाएको छ ।
आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि बुधवार उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार सुर्खेतमा ६ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । सुर्खेतमा दुई प्रतिनिधिसभा र चार प्रदेशसभाका गरी ६ वटा निर्वाचन क्षेत्र छन् । ती निर्वाचन क्षेत्रमा विभिन्न दलबाट बागी उठेर स्वतन्त्र उम्मेदवारी दिएका ६ जनाले मनोनयन फिर्ता लिएका हुन् ।
प्रकाशित मितिः २७ आश्विन २०७९, बिहीबार ०५:०१
साझा बिसौनी ।