रोचक चुनावी प्रतिस्पर्धाः एक

छैटौँ पटक मैदानमा खड्का, फेरि तगारो बन्लान् शाही ?


सुर्खेत: 
कर्णालीबाट राष्ट्रिय राजनीतिको सबैभन्दा माथिल्लो पंक्तिमा पुगेका नेता हुन्, नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का । कांग्रेसको केन्द्रीय सदस्य, सहमहामन्त्री, महामन्त्री हुँदै उपसभापति भइसकेका उनले झन्डै आधा दर्जन मन्त्रालयको जिम्मेवारी सम्हाल्ने अवसरसमेत पाइसके ।

प्रतिनिधिसभा सदस्य र संविधानसभा सदस्यका रूपमा उनले पाँच पटक संसद्मा प्रतिनिधित्व गरिसकेका छन् । खड्काले यसअघि २०४८, २०५१, २०५६ र २०७० मा निर्वाचन जितेका थिए । २०६४ को संविधानसभा निर्वाचनमा भने उनी प्रत्यक्षतर्फ चुनाव नलडेर समानुपातिकतर्फबाट सभासद् भएका थिए ।

खड्कालाई चुनाव जित्न गठबन्धन दलहरूमा निर्भर हुनुपर्नेछ, शाहीले पार्टीका मत मात्रै पाएर पुग्दैन अन्य मतदाताको मतसमेत आफ्नो पक्षमा पार्न सक्नुपर्ने छ ।

२०४८ देखि २०७० सम्म आइपुग्दा संसदीय निर्वाचनमा उनले पराजय भोग्नु परेन । तर लगातार पाँचौं पटक चुनाव जित्ने दाउमा रहेका खड्काका लागि २०७४ मा भने नेकपा (एमाले) का उम्मेदवार ध्रुवकुमार शाही तगारो बने । पहिलो पटक संसदीय निर्वाचनमा उम्मेदवार बनेका शाही ३६ हजार सात सय ५९ मत ल्याएर विजयी हुँदा खड्काले ३३ हजार तीन सय ७७ मत प्राप्त गरेका थिए ।

विगतमा चार जीत र एक हार बेहोरेका खड्का छैटौं पटक चुनावी मैदानमा उत्रिएका छन् । आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उनले सुर्खेतको निर्वाचन क्षेत्र नं. १ बाट उम्मेदवारी दर्ता गराएका छन् । प्रधानमन्त्री बन्नेसम्मको महत्वाकांक्षा राखेका खड्काका लागि यसपटक पनि उनै ध्रुवकुमार शाही मुख्य चुनौती बन्नेछन् । एमालेले निवर्तमान प्रतिनिधिसभा सदस्य शाहीलाई क्षेत्र नं. १ बाट पुनः प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ । त्यसैले पनि खड्का र शाहीबीच रोचक चुनावी प्रतिस्पर्धा हुने देखिएको छ । सत्तारुढ गठबन्धनको साथ पाएका खड्का पाँचौं पटक चुनाव जित्ने ध्याउनमा हुँदा शाही भने उनलाई रोकेर लगातार दोस्रो विजयको खोजीमा हुनेछन् ।

निर्वाचन क्षेत्र नं. १ मा पूर्वी सुर्खेतका पाँच वटा पालिकासहित वीरेन्द्रनगरको दुई वटा वडा रहेका छन् । गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा पाँचमध्ये तीन पालिका एमालेले जितेको छ । दुई वटामा कांग्रेसका उम्मेदवार विजयी भएका थिए । उक्त क्षेत्रमा पर्ने वीरेन्द्रनगर नगरपालिकाका दुई वडामध्ये एकमा एमाले र अर्कोमा कांग्रेसले जितेको छ । यसरी हेर्दा एमाले पहिलो शक्तिको रूपमा देखिन्छ । तर पालिका प्रमुखहरूले पाएको मतका आधारमा भने सत्तारुढ गठबन्धन अगाडि छ । गठबन्धनसँग करिब ४० हजार मत छ । एमालेको मत ३७ हजार हाराहारी रहेको छ ।

खडकालाई चुनाव जित्न गठबन्धन दलहरूमा निर्भर हुनुपर्नेछ, उता शाहीले आफ्नो पार्टीका मत मात्रै पाएर पुग्दैन अन्य मतदाताको समेत मत आफ्नो पक्षमा पार्न सक्नुपर्ने छ । पाँच वर्षअघि खड्का तीन हजार मतअन्तरले पराजित भएका थिए । यसपटक निर्वाचनअघिसम्म उनी एमालेभन्दा तीन हजार मतले अघि देखिन्छन् । तथापि खड्का र शाहीबीचको दोस्रो चुनावी प्रतिस्पर्धा रोचक र प्रतिस्पर्धात्मक हुने आँकलन गरिएको छ ।

प्रकाशित मितिः   २७ आश्विन २०७९, बिहीबार ०५:०४