फितलो निगरानीले दुर्घटनाको जोखिम

सर्खेत: दसैँ सुरु भएसँगै आवतजावत गर्ने यात्रुहरूको चाप ह्वातै बढेको छ । सार्वजनिक सवारी साधनमा केही दिनयता यात्रुहरूको कोचाकोच छ । सीमित सवारी साधनका कारण यात्रुहरूले कष्टकर यात्रा गर्न बाध्य छन् । दसैँ–तिहारलाई लक्षित गरी ‘रुट परमिट’ खुला गरिए पनि यात्रुबाहक सवारी साधनको संख्या भने सामान्य अवस्थाको जस्तै छ । यात्रुको चाप हुने यस समयका लागि यातायात व्यवसायीहरूले सवारी साधन थप गरेका छैनन् । क्षमताभन्दा बढी यात्रु बोक्ने र कच्ची सडकमा तीव्र गतिमा गाडी हाँक्दा दुर्घटनाको जोखिम एकातिर छ भने अर्कोतिर यात्रुहरू तोकिएको भन्दा बढी भाडा तिर्न बाध्य छन् । यात्रुबाहक सवारीको व्यवस्थापन, भाडादरको अनुगमन तथा सवारी नियमविपरीत सञ्चालन भइरहेका गाडीहरूको निगरानीमा लापरबाही भइरहेको छ । प्रहरीले चाडपर्व लक्षित विशेष सुरक्षा योजना बनाएर सोहीअनुसार जनशक्ति परिचालन गरिएको दाबी गरे पनि जुनसुकै सडकमा सुरक्षा निकायको बेवास्ता देखिन्छ । सवारी साधनको चेकचाँजमा कडाइ नगर्दा व्यवसायीहरूले क्षमताभन्दा दोब्बर यात्रु बोकर जोखिमपूर्ण यात्रा गराइरहेका छन् । खासगरी ग्रामीण क्षेत्रका सडकहरूमा प्रहरीको सक्रियता निकै कमजोर देखिएको छ ।

कर्णालीका अधिकांश सडक कच्ची र जीर्ण छन् । ती सडकहरूमा चल्ने सवारी साधनमा क्षमताभन्दा धेरै यात्रु सवार गर्दा दुर्घटनाको जोखिम बढ्ने गरेको प्रदेश ट्राफिक कार्यालय सुुर्खेतका प्रवक्ता (प्रहरी निरीक्षक) भिमबहादुुर खड्का बताउँछन् । उनका अनुसार सुर्खेतका पञ्चपुुरी, चौकुने र लेकवेशी जाने कच्ची रुटमा यातायात व्यावसायिकले गाडीको छतमा मान्छे हाल्ने, क्षमताभन्दा बढी बोक्ने गरेको भेटिएको छ । यस्ता जोखिमयुक्त गतिविधि रोक्न प्रहरी र ट्राफिक प्रहरीको संयुक्त टोलिले निगरानी बढाइरहेको उनको दाबी छ । खड्का भन्छन्, ‘कर्णाली राजमार्गमा चल्ने गाडीहरूमा झनै विशेष निगरानी गर्दै आएका छौँ ।’ सवारी नियमविपरीत सञ्चालन गरिएका यात्रुबाहक ६०÷७० सवारी साधनलाई दैनिक कारबाही गर्ने गरिएको उनले बताए ।

कर्णालीमा बर्सेनि सडक दुर्घटनाबाट ठूलो मानवीय क्षति हुने गरेको छ । चाडपर्वका बेला दुर्घटनाको जोखिम झन् उच्च हुन्छ । यसपालि पनि दसैँ सुरु भएपछि थुप्रै ठाउँमा सार्वजनिक सवारी साधन दुर्घटना भएका छन् । ती सवारी दुर्घटनामा कैयनको ज्यान गएको छ । सल्यानको कपुरकोटमा बुधवार बिहान जीप दुर्घटना परी एकै गाउँका आठ जनाको मृत्यु भएको छ । उक्त दुर्घटना पनि मानवीय हेलचक्याइँले भएको प्रहरीले जनाएको छ । चाडपर्वमा सीट क्षमताभन्दा धेरै यात्रु बोक्ने, चालकले मदिरा सेवन गर्ने र अनियन्त्रित गतिले दुर्घटना बढी हुने गरेको पाइएको छ । प्रहरीका अनुसार कच्ची सडकमा क्षमताभन्दा बढी भार बोक्दा दुर्घटनाको जोखिम धेरै रहने गरेको हो ।

चर्को भाडा, असुरक्षित यात्रा

प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरबाट कर्णालीका अन्य जिल्लामा जाने गाडिहरूमा तोकिएको भन्दा बढी भाडा लिने गरिएको यात्रुहरूले गुनासो गरेका छन् । साविक कर्णालीका जिल्लाहरूका लागि छुट्ने सार्वजनिक सवारीमा मनपरी भाडा असुल्ने गरिएको हो । यी रुटमा बस तथा जीपहरूमा यात्रुभन्दा धेरै सामानहरू पनि बोक्ने गरिएको छ । यसमा प्रहरीको निगरानी साह्रै फितलो देखिएको तिला गाउँपालिका–७ का जनकलाल रोकायाले बताए । उनी बिहीवार सुर्खेतदेखि जुुम्लाका लागि हिँडे । बसमा भनेअनुुसारको सीट नपाए पनि जोखिम मोलेर भएपनि यात्रा गर्नुपरेको उनी बताउँछन् । ‘चार्डपर्वमा जहिले यस्तै हुुन्छ । यातायात व्यवसायीले मनपरी भाडा लिने र सवारी नियमको बेवास्ता गर्दा पनि नियामक निकाय प्रहरीले के हेर्छ खोइ ?,’ रोकायले भने ।

केही दिन अघिसम्म सुर्खेत–जुम्ला एक हजार दुई सयमा टिकट पाइरहेका उनले दसैँ लागेपछि एक हजार सात सय तिरेर जानुुपर्ने बाध्यता रहेको सुनाए । यात्रा पनि जोखिमपूर्ण र भाडासमेत चर्को हुँदा यात्रुहरू मर्कामा छन् । चाडपर्वमा झन्डै दोब्बर भाडा लिने गरिएको यात्रुहरूको गुनासो छ । सिंजा गाउँपालिका–६ की जर्मा बुुढाले केही दिनपहिले जुम्लाबाट आउँदा एक हजार दुई सय भाडा तिरेकी थिइन् । बिहीवार फर्कने तरखर गरेकी उनले अहिले भने एक हजार सात सयको टिकट लिएको बताइन् ।

चाडपर्वको समयमा भाडादरमा एकरूपता नहुँदा पनि यात्रुहरू मारमा छन् । सुुर्खेत–दैलेख सडक खण्डमा पनि मनोमानी गाडी भाडा लिने गरिएको बताइएको छ । केही रुटमा तोकिएको भन्दा बढी भाडा लिएको गुनासो आएपछि चेकचाँज र विशेष निगरानी बढाइएको प्रहरीले जनाएको छ । निर्धारण गरिएको दररेटभन्दा बढी लिए कारबाही गरिने प्रहरीको भनाइ छ । संयुुक्त यातायात व्यवस्थनापन कार्यालय सुुर्खेतका इन्चार्ज रामबहादुुर घोतानेले दसैँमा भाडादर नबढेको बताए । ‘यसबारे हामीले असोज ९ गते नै सूचना जारी गरिसकेका छौँ,’ उनले भने । चाडपर्वमा ‘रुट परमिट’ खुला हुने हुँदा अस्वस्थ प्रतिस्पर्धा नहोस् भनेर संयुुक्त रूपमा सेवा सञ्चालन गरिएको घोेतानेले जनाए । यात्रुहरूको भिडलाई थेक्न नसक्दा नेपालगञ्ज–सुर्खेत रोडमा चल्ने गाडीलाई समेत जुुम्ला, कालीकोट, दैलेख र जाजरकोटमा थप गरिएको उनको भनाइ छ । चाडपर्वकै लागि भनेर नयाँ सवारी साधन भने थप नगरिएको यातायात व्यवसायीहरूले जनाएका छन् ।

प्रकाशित मितिः   १४ आश्विन २०७९, शुक्रबार ०७:५९