रासायनिकमै आकर्षण

कर्णाली प्रदेशलाई अर्गानिक प्रदेश बनाउने योजना सरकारले आफ्नो कार्यकालको सुरुवातमै अघि सारेको थियो । प्रदेशलाई कृतिजन्य वस्तु उत्पादनमा आत्मनिर्भर बनाउने र उत्पादित वस्तु अर्गानिक हुने योजनाले सर्वत्र प्रशंसा बटुल्यो । तर सरकारको कार्यकाल नै सकिन लाग्दासम्म उक्त योजना कार्यान्वयन सन्तोषजनक रहेन । न कृषि उत्पादनमा कर्णाली आत्मनिर्भर हुन सक्यो न त अर्गानिक उत्पादनमा उल्लेख्य प्रगति भयो । बरु आज पनि रासायनिक मल र विषादीको प्रयोग बढ्दो छ । यसकारण प्रदेश सरकारले अर्गानिक प्रदेशको आधार तयार गर्न सुरु गरेका अर्गानिक प्रवद्र्धनका कार्यक्रम प्रभावकारी हुन सकेनन् । सरकारले रासायनिक मलको प्रयोगलाई न्यूनीकरण गर्ने भन्दै आए पनि त्यसको विकल्प खोज्न नसकेको देखिन्छ ।

प्रदेश सरकारको नीति रासायनिक मलको प्रयोग न्यूनीकरण गर्ने भएपनि त्यसअनुसारको विकल्पको खोजि भने हुन सकेको छैन । यहाँका हिमालीबाहेकका जिल्लाहरूमा अहिले पनि सबैजसो कृषि बालीमा रासायनिक मलकै प्रयोग अधिक हुने गरेको छ । उत्पादन बढ्ने र रोगकिराको निदान समेत सजिलै हुने देखिएपछि किसानहरू यसतर्फ नै बढी आकर्षित हुँदै आएका छन् । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सरकारको नीति र कार्यक्रमको प्रभावले पछिल्ला वर्षहरूमा प्राङ्गारिक मलको प्रयोग बढ्दै गइरहेको दाबी गरेको छ । यद्यपि, मन्त्रालयसँग प्राङ्गारिक मलको प्रयोगको अवस्थाबारे यकिन तथ्यांक नै छैन । मन्त्रालयले रासायनिक मलको प्रयोग घट्दोक्रममा रहेको बताए पनि प्रदेशका अधिकांश जिल्लामा अहिले पनि कृषि उत्पादनमा यही मलको माग हुँदै आएको छ । रासायनिक मलको माग अत्यधिक रहेको कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेतले जनाएको छ । कर्णालीमा गतवर्ष सात हजार मेट्रिक टन रासायनिक मल माग भएकोमा १८ सय मेट्रिक टन मल उपलब्ध भएको थियो । यो वर्ष मागअनुसार आपूर्ति नहुँदा धेरै किसानले रासायनिक मल पाउन सकेका छैनन् ।

केही कृषकहरू अर्गानिक वस्तु उत्पादनमा जोड दिइरहेका छन् । यसका लागि विषादीको प्रयोग कम गरेका छन् । गाईवस्तुको गोबरबाट प्राङ्गारिक मल उत्पादन र बिक्री वितरणसमेत गर्ने गरेका छन् । तर अधिकांशले तरकारी खेतिमा रासायनिक मल र विषादीकै प्रयोग गर्ने गरेका छन् । किनभने कृषकहरूको प्रयासले मात्रै यो सफल हुन सक्दैन । सरकारले पनि सोहीअनुकूलका योजना र कार्यक्रम बनाएर कार्यान्वयन गर्नुपर्ने हुन्छ । खेतिबालीमा युरिया मल र रासायनिक विषादी प्रयोग गर्नु किसानको रहर नभइ बाध्यता हो । हरेक कृषकले आफै प्राङ्गारिक मल उत्पादन गर्न त्यति सहज छैन । अर्कोतर्फ रासायनिक मल प्रयोग गर्दा उत्पादन बढ्ने विश्वासका कारण प्राङ्गारिक मलभन्दा रासायनिकमै कृषक आकर्षित हुने गरेका छन् ।

प्रकाशित मितिः   ५ आश्विन २०७९, बुधबार ०५:०३