सहुलियत पसलले उपभोक्तालाई राहत

सुर्खेत: सरकारले चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ । सोहीअन्तर्गत यसपालि पनि सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सुर्खेतलगायत कर्णालीका विभिन्न जिल्लामा सहुलियत पसल सञ्चालनमा ल्याएको छ । यी सुपथ मूल्य पसलमा खाद्य वस्तु पाइने भएपछि उपभोक्ताको भिड देखिन थालेको छ । कम्पनीले दसैँ, तिहार र छठ पर्वको अवसरमा असोज लागेसँगै सहुलियत पसल सुरु गरेको हो । वीरेन्द्रनगरस्थित कम्पनीको कर्णाली प्रादेशिक कार्यालयले असोज १ गतेदेखि नै सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । कम्पनीका प्रादेशिक कार्यालय प्रमुख माधव मिश्रले सुर्खेतसहित कर्णालीका अन्य जिल्लाहरूमा पनि सुपथ मूल्यका पसल सञ्चालन गरिएको जनाए ।

कम्पनीले यस वर्ष चामल र दाललगायतका खाद्य सामग्री सुपथ मूल्य पसलमार्फत बिक्री वितरण गरिरहेको छ । प्रदेशका सल्यानबाहेक नौ वटै जिल्लामा सहुलियत पसल खोलिएका छन् । वीरेन्द्रनगरबाट मात्रै दैनिक एक सय २५ क्वीन्टल हाराहारी चामल बिक्री वितरण भइरहेको जनाइएको छ । सार्वजनिक बिदाबाहेक बिहान १० बजेदेखि साझ पाँच बजेसम्म बिक्री वितरण सेवा दिइएको छ । दाल र चामलमा साविकको मूल्यभन्दा सात रूपैयाँ घटाइएको कम्पनीले जनाएको छ । सहुलियत पसलमा ३० किलो जिरा समिनो चामल एक हजार पाँच सय, बासमती चामल एक हजार नौ सय ६० र सोना एक हजार दुई सय ९० रूपैयाँमा बिक्री भइरहेको छ । यस्तै, सुपथ पसलमा ३० केजी कै मोटा चामल एक हजार दुई सय रूपैयाँमा पाइन्छ । मासको दाल प्रतिकेजी एक सय ३८, मल्का एक सय ४८, अडहर प्रतिकेजी एक सय ७१ रूपैयाँमा कारोबार भइरहेको छ । वीरेन्द्रनगरमा खोलिएको सुपथ पसलमा किनमेल गर्न वीरेन्द्रनगर बाहिरबाट पनि उपभोक्ताहरू आइरहेको कार्यालय प्रमुख मिश्रले बताए ।

सुपथ मूल्य पसलमा भेटिएकी वीरेन्द्रनगर–१२ की लक्ष्मी परियारले बजारभन्दा केही सस्तोमा खाद्य सामग्री पाइने भएपछि आफूहरूलाई राहत महसुस भएको बताइन् । उनी भन्छिन्, ‘आगामी वर्षहरूदेखि कम्पनीले तेल, नुन र चिनिसमेत सुपथ मूल्यमा पाइने व्यवस्था मिलाउन सके हामीजस्ता न्यून आय भएका सर्वसाधारण उपभोक्तालाई निकै सहज हुने थियो ।’ सुपथ पसलमै सामान खरिद गरिरहेका वीरेन्द्रनगरका तुलबहादुर खड्काले बजारभन्दा यहाँ एक बोरा चामलमै चार सय रूपैयाँ सस्तो परेको सुनाए । ‘सरकारले चाडपर्वमा मात्र नभइ यस्ता पसल बाहै्रमास सञ्चालन गर्नुपर्छ,’ उनले भने । कम्पनीकाअनुसार एक जना व्यक्तिले ३० केजीका दरले चार प्याक चामलसम्म सुपथ पसलबाट खरिद गर्न सक्ने व्यवस्था मिलाइएको छ । त्यस्तै, प्रतिव्यक्ति दाल दुुई केजी दिइएको छ । वीरेन्द्रनगरमा खोलिएको सुपथ मूल्य पसलबाट चार दिनको अवधिमा ६ सय क्वीन्टल चामल बिक्री भएको छ । कम्पनीले यहाँ सहुलियत पसलबाट १५ सय क्वीन्टल चामल बिक्री गरिने जनाएको छ ।

यसैगरी, कालीकोटमा पनि सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएसँगै चामल लिनेको लाइन लाग्न थालेको छ । त्यहाँ गएको शुक्रवारदेखि कम्पनीले सुपथ पसल थापेको हो । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले मुगुमा पनि दसैँलाई लक्षित गरी उपभोक्तालाई शनिवारदेखि सहुलियत दरमा चामल बिक्री वितरण थालेको छ । चाडपर्वका बेला बजारमा अस्वभाविक रूपमा मूल्यवृद्धि हुने र स्थानीय प्रशासनले अनुगमनमा कडाइ नगर्दा सेवाग्राहीहरू मर्कामा पर्ने गरेका छन् । सुपथ मूल्य पसल सञ्चालनले उपभोक्ताहरूले सस्तोमा खाद्य वस्तु पाउनुका साथै ठगिनबाट समेत बच्ने गरेको बताएका छन् ।

प्रकाशित मितिः   ५ आश्विन २०७९, बुधबार ०५:०१