डेंगुको जोखिम

पछिल्लो केही समययता डेंगुका बिरामी बढ्दै गएका छन् । हरेक दिन डेंगु संक्रमित भेटिएका समाचार आइरहेका छन् । कर्णाली प्रदेशको हुम्लाबाहेक अन्य सबै जिल्लामा डेंगु संक्रमित फेला परिसकेका छन् । यसहिसाबले दिन–प्रतिदिन जोखिम बढ्दै गएको छ । ज्वरोसहित डेंगुका लक्षण देखिएका अधिकां बिरामीलाई गरिएको परीक्षणमा संक्रमण पुष्टि हुने गरेको स्वास्थ्य संस्थाहरूको तथ्यांक छ । विज्ञहरूले यो संक्रमण अझै बढ्न सक्नेतर्फ सचेत गराएका छन् । अझै केही समय डेंगुको महामारी हुनसक्नेतर्फ सचेत गराउँदै सतर्कता अपनाउन सुझाव दिइएको छ ।

डेंगु लामखुट्टेको टोकाइबाट सर्ने रोग हो । जताततै लामखुट्टेको संख्या तीव्र रूपमा वृद्धि हुनुले पनि डेंगुको जोखिम बढाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिले देशभर चार जिल्लामा डेंगुको भयावह अवस्था छ भने अन्य ६ जिल्लामा संक्रमण तीव्र रूपमा फैलिदै गएको देखिन्छ । त्यसबाहेक अन्य जिल्लाहरूमा पनि संक्रमितको संख्या बढ्दै गएको छ । डेंगुका कारण केहीको मृत्यु समेत भइसकेको छ । अस्पतालहरूलाई बिरामीको चाप बढेको छ । भित्रभित्रै संक्रमण फैलिए पनि परीक्षण कम हुँदा संख्या कम आएको अनुमान गरिएको छ । किन कि मानिसहरू अहिले डेंगु बढेको खबर सुनेर स्वयम् नै सतर्कता अपनाउन थालिसकेका छन् । अवस्था भयावह बन्नसक्ने देखिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबैलाई सतर्क हुन भनिसकेको छ । मातहतका स्वास्थ्य संस्था र सरोकारवालाहरूले जोखिम न्यूनिकरणका लागि काम सुरु गरिसकेका छन् । यद्यपि यसलाई रोकथाम गर्न आम नागरिकको पनि उत्तिकै महङ्खवपूर्ण भूमिका रहन्छ । सर्वसाधारण जनताले आफ्नो पहुँचबाट सम्भव भएसम्म पहल गर्नुपर्छ ।

स्वास्थ्यकर्मीहरूका अनुसार सामान्य हेरचाह अनि सतर्कता अपनाउने हो भने डेंगुको जोखिमबाट बच्न सकिन्छ । त्यसैले स्वयम् व्यक्ति नै सतर्क हुनु सबैभन्दा उत्तम हो । यसका लागि लामखुट्टेबाट जोखिनुपर्ने हुन्छ । यो वर्षात्को समयमा लामखुट्टे बढी हुने हुनाले सरसफाईमा विशेष ध्यान दिन जरुरी छ । लामखुट्टे हुनसक्ने ठाउँहरू सफाल राख्न सकेमा जोखिम कम गर्न सकिन्छ । विज्ञहरूका अनुसार लामखुट्टेको टोकाइबाट जोगिने प्रयत्न गर्नुपर्छ । लामखुट्टेको टोकाइबाट बच्न लामखुट्टे भगाउने मल्हम, औषधि तथा मेसिनहरू प्रयोग गर्न सकिन्छ । घरको झ्यालढोकामा जाली लगाउनु उपयुक्त हुन्छ । साथै, लामखुट्टेले दिउँसो टोक्ने हुँदा दिउँसो बस्दा बाहुला भएको वा शरीर ढाक्ने लुगा लगाउनुपर्छ । यसरी सतर्कता अपनाउँदा अपनाउँदै पनि लामखुट्टेले टोकेमा वा डेंगुको लक्षण देखिएमा भने स्वास्थ्य संस्थामा गएर उपचार गराउनुपर्दछ ।

प्रकाशित मितिः   ३० भाद्र २०७९, बिहीबार ०५:०३