सात हजार बालबालिकालाई पुनर्स्थापना आवश्यक

सुर्खेत: कर्णाली प्रदेशमा अपाङ्गता भएका सात हजारभन्दा बढी बालबालिकालाई पुनस्र्थापना सेवा आवश्यक रहेको पाइएको छ । अपाङ्गताहरूका क्षेत्रमा कार्यरत विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापना केन्द्रका अनुसार प्रदेशभर त्यस्तो सेवा चाहिने बालबालिकाको संख्या सात हजार आठ सय ४२ रहेको छ । केन्द्रका संयोजक नित्रबहादुर देउजाले पछिल्लो जनगणनाले कर्णालीमा आठ हजार तीन सय सात जना शारीरिक अपाङ्गता भएका बालबालिका रहेको देखिएको बताए । त्यसमध्ये एक हजार आठ सय ७७ जना बालबालिका उपचाररत छन् भने चार सय ६५ जनाले उपचार पूरा गरेका छन् ।

प्रदेशमा सबैभन्दा बढी सुर्खेतका एक हजार ६ सय ५२ जना अपाङ्गता भएका बालबालिकालाई पुनस्र्थापना सेवा आवश्यक रहेको बताइएको छ । त्यस्तै, दैलेखमा एक हजार तीन सय ३४ जना, सल्यानमा एक हजार दुई सय २० जना, जाजरकोटमा आठ सय आठ जना, कालीकोटमा सात सय १० जना र रूकुम–पश्चिममा सात सय ९८ जनाको उपचारलगायतका पुनस्र्थापना सेवाको जरुरी छ । जुम्लामा पाँच सय पाँच जना, मुगुमा दुई सय ८० जना, डोल्पामा एक सय ९२ जना र हुम्लामा दुई सय ६२ जना अपाङ्गता भएका बालबालिकालाई पुनस्र्थापना सेवा आवश्यक रहेको जनाइएको छ । केन्द्रका संयोजक देउजाले कर्णालीमा अझै पनि अपाङ्गता भएका सबै बालबालिकाको पहिचान भने हुन नसकेको बताए ।

वीरेन्द्रनगरमा केन्द्र स्थापनाको तयारी

कर्णालीमा पुनस्र्थापना सेवा आवश्यक रहेका बालबालिकाको संख्या ठूलो देखिएपछि यहाँ पनि अपांग बाल अस्पताल तथा पुनस्र्थापना केन्द्र स्थापनाको तयारी गरिएको छ । विकलाङ्ग मित्र समूहले प्रदेश राजधानी वीरेन्द्रनगरमा प्रदेशस्तरीय अपाङ्गता बाल अस्पताल तथा पुनस्र्थापना केन्द्र स्थापनाको तयारी थालेको हो । विकलाङ्ग मित्र समूहले अपाङ्गता बाल अस्पताल तथा पुनस्र्थापना केन्द्र बनेपामा विगत ३८ वर्षदेखि सञ्चालन गर्दै आएको छ । आफ्नो सेवालाई विस्तार गर्ने उद्देश्यले कर्णाली प्रदेशमा पनि अपाङ्गता बाल अस्पताल तथा पुनस्र्थापना केन्द्रको स्थापना गर्न लागिएको हो । अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापना केन्द्र बनेपाले सोही विषयमा जानकारी दिन बुधवार वीरेन्द्रनगरमा पत्रकार सम्मेलनको आयोजना गरेको थियो । जिल्ला समन्वय समिति सुर्खेत र वीरेन्द्रनगर नगरपालिकाको समन्वयमा पुनस्र्थापना केन्द्र स्थापना गर्न लागिएको केन्द्रका संयोजक देउजाले जनाए ।

वीरेन्द्रनगरमा आधारभूत सेवाहरू उपलब्ध गराउने गरी असोजबाट केन्द्र स्थापना गरिनेछ । तत्तकाल पुनस्र्थापनाका प्राथमिक सेवाहरू उपलब्ध गराइने र यसलाई विस्तारै अस्पतालको रूपमा विकास गरिने योजना रहेको बताइएको छ । वीरेन्द्रनगर–१ चनाबारीमा रहेको आधारभूत स्वास्थ्य केन्द्रको भवनमा नै पुनस्र्थापना केन्द्र स्थापना गरिने भएको छ । त्यसका लागि वडा कार्यालयबाट आधारभूत स्वास्थ्य केन्द्रका पाँच वटा कोठा पुनस्र्थापना केन्द्रका लागि उपलब्ध गराउने निर्णय गरिएको छ । कर्णालीमा अपाङ्गता भएका बालबालिकाले सहज रूपमा उपचारको पहँुचमा पु¥याउने उद्देश्यले केन्द्र स्थापना गर्न लागिएको देउजाले बताए । कर्णालीमा अझै पनि अपाङ्गता भएका व्यक्तिहरूले सहज रूपमा उपचार पाउन सकेका छैनन् । पुनस्र्थापना केन्द्रको स्थापना भएपछि अपाङ्गता भएका बालबालिकाको पहिचान, थेरापी र आधारभूत सेवाहरू उपलब्ध हुने बताइएको छ ।

शिविर सञ्चार गरिँदै

विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापना केन्द्रले यो वर्ष पहिलो चरणमा सुर्खेतका तीन वटा स्थानमा स्वास्थ्य तथा पुनस्र्थापना घुम्ती शिविर सञ्चालन गर्ने भएको छ । अपाङ्गता भएका बाललबालिकाको स्वास्थ्य परीक्षण एवम् अपाङ्गता पहिचानका लागि आउँदो असोज पहिलो साता शिविर सञ्चालन गर्न लागिएको हो । केन्द्रका अनुसार असोज २ गते चिङ्गाड गाउँपालिकामा रहेको प्राथमिक उपचार केन्द्र, असोज ३ गते भेरीगंगा नगरपालिकाको स्वास्थ्य केन्द्र छिन्चु र असोज ४ गते वीरेन्द्रनगर–१ मा रहेको आधारभूत स्वास्थ्य केन्द्रमा शिविर सञ्चालन हुनेछ ।

केन्द्रले कर्णालीमा विगत १६ वर्षदेखि अपाङ्गता भएका बालबालिकाको लागि विभिन्न स्वास्थ्य शिविर सञ्चालन गर्दै वआएको छ । हालसम्म कर्णालीका ३० वटा पालिकामा गएर शिविरमार्फत अपाङ्गता भएका सयौं बालबालिकालाई सेवा उपलब्ध गराइएको बताइएको छ । केन्द्रबाट निःशुल्क सेवा उपलब्ध गराइने भएकाले त्यसमा स्थानीय सरकारबाट पनि आवश्यक सहयोग र समन्वयको अपेक्षा गरिएको संयोजक देउजाले बताए । अपाङ्गता भएका बालबालिकाको व्यवस्थापन र मूलप्रवाहीकरणका लागि सबै निकायको साथ आवश्यक रहेको केन्दले जनाएको छ ।

प्रकाशित मितिः   ३० भाद्र २०७९, बिहीबार ०५:०४